कोटेश्वरमा जाम : थियो कि थिएन ? विप्लवलाई जोडेर संसदमा यस्तो दोहोरी

कोटेश्वरमा जाम : थियो कि थिएन ? विप्लवलाई जोडेर संसदमा यस्तो दोहोरी

काठमाडौं : सोमबार प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापाले हिजो विस्फोटमा मारिएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता नागरिक नै नरहेको टिप्पणी त गरे नै, सांसदहरूले पनि विप्लवलाई नै जोडेर अचम्मको बहस गरे।

बहसको केन्द्रमा थियो- सोमबार विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्द।

सत्तारुढ नेकपाका सांसद बन्द पूर्णतया असफल भएको तर्क गर्दै थिए भने प्रतिपक्षीका सांसद बन्दले जनजीवन प्रभावित भएको बताउँदै थिए।

सांसद महेश बस्नेतले आफू कोटेश्वरमा १० मिनेट जाममा परेकोले बन्दो पूर्णरुपमा अवज्ञा भएको तर्क गरे।'भक्तपुरबाट सिंहदरवार आउँदा १० मिनेट कोटेश्वर जाममा परेँ', उनले भने, 'यसले विप्लवको बन्दको नगारिक तहबाट अवज्ञा भएको पुष्टि हुन्छ।' उनले विप्लव समूहलाई सरकारले लगाएको प्रतिवन्ध जायज रहेको तर्क गरे।

यता प्रतिपक्षी कांग्रेसी सांसद पार्वती डिसी चौधरीले भने आज भक्तपुरको बालकोटबाट पाँच मिनेटमै आफू सिंहदरबार पुगेको बताउँदै थिइन्। उनको आशय थियो- आजको बन्द असफल भएन बरु यसले जनजीवनलाई प्रभावित पार्‍यो। 'म बालकोटबाट सिंहदरवार आउँदा आधा घण्टा कोटेश्वर जाममा पर्थेँ तर आज पाँच मिनेटमै सिंहदरवार पुगे', उनी भन्दै थिइन्।

सोमबार विप्लवनिकट पार्टीले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौंसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ।

सांसद राजेन्द्र केसीले गृहमन्त्रीलाई प्रश्न गरे- 'कसरी शान्ति सुरक्षाको प्रत्याभूत गराउनुहुन्छ ?'

सांसद शरदसिंह भण्डारीले सरकारले विप्लवलाई एकातिर अपराधी भन्ने र अर्कोतर्फ वार्ता गरे द्वेध चरित्र देखाइरहेको आरोप लगाए। 'एकातिर अपराधी भन्नुहुन्छ त अर्कोतिर वार्ताको कुरा गर्नुहुन्छ। के गृहमन्त्रीले अपराधीसँग वार्ता गर्न खोज्नुभएको हो?', उनको प्रश्न थियो, 'राजनीतिक समस्याको हल राजनीतिक तवरबाटै गरिनुपर्छ।'

सांसद लक्ष्मणलाल कर्णले पनि सरकारले विप्लवलाई लिएर द्वेध चरित्र देखाइरहेको आरोप लगाए। 'एकातिर विप्लव समूहलाई प्रतिवन्ध लगाइएको छ, अर्कोतिर वार्ताको पहल भइरहेको भन्नुभएको छ', उनले भने, 'के वार्ताकै परिणाम हुन्, काठमाडौंमा भएका विष्फोटका घटना ?'

सांसद लक्ष्मी परियारले कम्युनिस्ट शासन भएकै बेला जनता आतंकित हुनुपरेको तर्क गरिन्। 'कम्युनिस्ट सरकार भएका बेला जनता किन आतंकित छन् ? सिंहदरवारकै छेउमा बम विष्फोट हुँदा पनि सरकार कहाँ छ ?', उनले प्रश्न गरिन्।  

लालकाजी गुरुङले पनि पाँचथरदेखि घट्टेकुलोसम्म विस्फोट हुँदा र नागरिकले ज्यान गुमाउँदा सरकार समस्याको सधाधान गर्न असफल भएको बताए।

बहादुरसिंह लामाले शान्ति सुरक्षा दिन सरकार असफल भएको तर्क गर्दै सरकारको दम्भले मुलुक थप असुरक्षित बन्दै गएको टिप्पणी गरे।

सांसद शान्ता चौधरीले जनताले आतंक नभइ शान्ति सुरक्षा खोजेकाले विप्लव समूहलाई हत्या हिंसाको राजनीति छोड्न आग्रह गरिन्। सरकारलाई यस्ता गतिविधि नियन्त्रण गर्न उनले ध्यानाकर्षण गराइन्।

पुष्पा भुसालले जनताले कहिलेसम्म द्वन्द्वको पीडामा बस्नुपर्ने भन्दै प्रश्न गरिन्।

सांसदल खगराज अधिकारीले हिंसात्मक रोक्न वार्ताको पहल गर्ने र नियन्त्रणको प्रयास गरेको भन्दै सरकारको प्रसंसा गरे। 'अपराधपूर्ण गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम गर्न आवश्यक छ', उनले भने।

प्रेस सुवालले हिजो जे रोपियो त्यही फलेको भन्दै आत्मसमीक्षा गर्न सत्तारुढ दललाई सुझाव दिए। 'जे रोप्छ, त्यही फल्छ। यसको आत्मसमीक्षा गर्न आवश्यक छ', उनले भने।

विस्फोटमा मारिने नागरिक नभएको गृहमन्त्री थापाको टिपपणीको आलोचना गर्दै देवेन्द्र कँडेलले प्रश्न गरे- 'मर्नेहरू नेपाली नागरिक होइनन् ? हिजो मारिएकाहरू पनि नेपाली थिएनन् ?'

राष्ट्रियसभामा पनि चर्चा विप्लवकै

सोमरबार राष्ट्रियसभा बैठकमा पनि सांसदहरूले विप्लवबारे धारणा स्पष्ट पार्न सरकारसँग माग गरे। जीतेन्द्रनारायण देवले सोधे- 'विप्लव समूहप्रति सरकारको दृष्टिकोण के हो ?'

सांसद बद्रीप्रसाद पाण्डेले विप्लवलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे। 'हिजो सँगै सशस्त्र युद्ध लडेको सहयात्री आज विद्रोहमा छ। किन सरकारले उसलाई मूलधारमा ल्याउन नसकेको हो ?', उनको प्रश्न थियो।  

के भनेका थिए गृहमन्त्रीले ?

अपराधीलाई कानुनको कठघरामा ल्याउन कुनै कसर नराख्ने बताउँदै गृहमन्त्री रामबहादुर थापाले आइतबार विस्फोटमा मारिएकाहरू नागरिक नै नरहेको टिप्पणी गरेका थिए। 'जसको मृत्यु भएको छ, नागरिकको मृत्यु भएको होइन, आपराधिक समूहसँग आवद्ध भएकाहरूको मृत्यु भएको हो', थापाले भनेका थिए, 'नेकपा विप्लव नामको समूहले देशमा संविधान विरोधी, शान्ति विरोधी, कानुन विरोधी सशस्त्र र अवैध काम गरिरहेको छ।'

राज्यविरोधी, कानुनी र संविधानविरोधी समूहका रुपमा राज्यले उसलाई पहिचान गरेको बताउँदै उनले उसका गतिविधि रोक्ने निर्णय उचित रहेको उनको भनाई छ।'

सांसदहरूले गृहमन्त्रीको अभिव्यक्तिको आलोचना गरेपछि पुनः जवाफ दिन पुगेका गृहमन्त्री थापाले आफूले उनीहरूलाई जनता नभन्ने बताए। 'माननीयज्यूहरूले जोडदाररुपमै उठाउनुभयो कि हिजो निधन भएकाहरू नागरिक नभएर को हुन् भनेर। म फेरि पनि स्पष्ट पार्न चाहन्छु कि ती सामान्य नागरिक होइनन्', उनले भने, 'ती घटना घटाउन खोज्नेहरू हुन्। घटनासँग सम्बन्धित नै विस्फोटमा मारिएका छन्। प्राविधिक त्रुटि भएका कारण उनीहरूको मृत्यु भएको छ। गिरफ्तार भएका पनि प्रमाणसहित पक्राउ भएका छन्। तिनीहरूलाई हामीले जनता भन्दैनौं।'

सांसदहरूले सरकार र विप्लव समूहबीच साँठगाँठ त छैन भनी उठाएको प्रश्नलाई थापाले नाजायज प्रश्न भने। 'अलि गम्भीर प्रश्न उठाउनुभएको छ। सरकार र विप्लवबीच कतै साँठगाँठ भएको त छैन भनेर। यी प्रश्न नाजायज हुन्।'

कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार रहेको बताउँदै हिजोको अवस्था र आजको अवस्थामा गुणात्मक भिन्नता रहेको तर्क गरे। 'यो समूहले उठाएका प्रश्नको वस्तुगत आधार छैन। यिनीहरूको पतनको बाटो निश्चित छ', उनले भने, 'छिटै नै यो समूहका गतिविधि नियन्त्रणमा सरकार सफल हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.