रेडियो अन्नपूर्ण ५ औं वर्षमा : मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मान
काठमाडौं : रेडियो अन्नपूर्णले ५ औं वार्षिकोत्सव मनाएको छ। मंगलबारदेखि रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज चार वर्ष पूरा गरेर पाँच वर्षमा प्रवेश गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरेर रेडियो अन्नपूर्णले ५ औं वार्षिकोत्सव मनाएको हो। मन्त्री बाँस्कोटाले अन्नपूर्ण मिडिया नेटवर्क र अन्नपूर्ण रेडियोको यात्रा अन्नपूर्ण हिमाल जस्तै अटल रहोस् भन्ने शुभकामना दिए।
मन्त्री बाँस्कोटाले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकको विषयमा नपढिकन टिप्पणी नगर्न सबैलाई आग्रह गरे। ‘यो विधेयकले लोकतन्त्र नै खतरामा छ भनेको सुन्छु, कहाँ छ त्यस्तो ? त्यो त देखाउनु पर्यो नि !’, मन्त्री बाँस्कोटाले भने, ‘अलिअलि मिस गाइड भयो। पढेर मात्र टिप्पणी गरिदिनुहुन आग्रह गर्दछु।’
उनले विधेयकले मिडियालाई स्वनियमनको अधिकार दिएको दाबी गरे। ‘पत्रकारिता तथ्यकारिता हो। आशंकाकारिता होइन’, बाँस्कोटाले भने, ‘एउटा अध्यारो कोठामा बसेर लोकतन्त्र बचाउन नसक्नेहरुले विधेयकको विषयमा अफवाह फैलाए।’
अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष रामेश्वर थापाले ५ औं वर्षमा प्रवेश गरेको अन्नपूर्ण रेडियो राष्ट्रिय प्रसारणमा जाने तयारीमा रहेको बताए। ‘हामी छिट्टै राष्ट्रिय प्रसारणमा जाँदैछौँ’, अध्यक्ष थापाले भने।
थापाले आम मिडियाका लागि पाठक नै न्यायाधीश भएकाले राज्यपक्षले मिडियामा अंकुश लगाउने काम गर्नु नहुनेमा जोड दिए। ‘समाज र समुदाय स्वतन्त्र रुपमा जति अगाडि जान्छ त्यत्ति नै विकास हुन्छ’, अध्यक्ष थापाले भने, ‘मिडियाका न्यायाधीश स्रोता, पाठक र दर्शक हुन्। व्यवसायिक मिडियामा अंकुश लगाउने काम गर्नु हुँदैन।’
अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापाले रेडियो अन्नपूर्ण ५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मिडिया काउन्सिल विधेयकका केही प्रावधान सच्याउनुपर्नेमा जोड दिए। मिडिया आफ्नै आचारसंहितामा अगाडि बढ्ने भएकाले सरकारले कानुनमा बाध्नु नहुने उनको भनाइ थियो। ‘हामी सरकारको कानुनमा होइन, आफ्नै आचारसंहिता बनाएर अगाडि बढ्छौँ’, प्रधान सम्पादक थापाले भने, ‘मिडियालाई स्वनियमनमा छोडिदिनुपर्छ। संसदमा पेश भएको विधेयकका केही प्रवधानले प्रश्न उठाएका छन्। यसलाई संशोधन गर्नुपर्छ।’
प्रधान सम्पादक थापाले मिडिया काउन्सिल विधेयकको अध्यक्ष हुन पत्रकारितामा १० वर्ष अनुभव हुनुपर्ने र सदस्य बन्नका लागि भने १५ बर्षको अनुभव चाहिँने प्रावधान नै गलत भएको उनको भनाइ छ।
प्रधानसम्पादक थापाले मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक गर्ने प्रबन्ध मिलाउनसमेत मन्त्री बाँस्कोटालाई आग्रह गरे।
वार्षिकोत्सव समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका एमडी लक्ष्मी पौडेल, अन्नपूर्ण पोस्ट्का सिइओ मानस घिमिरे, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर ठाकुर बेल्बासे, वरिष्ठ नाटककार अशेष मल्ल, जनवादी गायक रायनलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागीता थियो।
वार्षिकोत्सवको अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘रेडियो अन्नपूर्णा नेपाल दीर्घ साधना सम्मान–२०७६’ ले सम्मान गरियो।
उत्कृष्ट कर्मचारी सम्मानित
रेडियो अन्नपूर्णमा कार्यरत विभिन्न शाखाका उत्कृष्ट कर्मचारी सम्मानित भएका छन्। समाचार शाखातर्फ केशव भट्टराई, कार्यक्रम शाखाकी चन्दा आले र प्रविधि शाखाका विभोर अधिकारी सम्मानित भएका हुन्। त्यसैगरी ज्योतिष विज्ञान कार्यक्रम सञ्चालक तुल्सी भारद्वज निरौला र बद्रप्रसाद पुडासैनी सम्मानित भएका हुन्। उनीहरुलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो।