ब्याट्सम्यान र बलरबीचको भिडन्त

ब्याट्सम्यान र बलरबीचको भिडन्त

लन्डन : जारी विश्वकप क्रिकेटको दोस्रो खेलमा शुक्रबार दुई पूर्वविजेता वेस्ट इन्डिज र पाकिस्तान भिड्दै छन्। उक्त खेल नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ। वेस्ट इन्डिज र पाकिस्तान दुवै अन्तर्राष्ट्रिय क्रिकेटका स्थापित राष्ट्र हुन्। यद्यपि, विश्वकप क्रिकेटमा यी दुवै टोलीले लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन्।

वेस्ट इन्डिजले हालसम्म दुई पटक विश्वकप जितेको छ। सन् १९७५ मा सम्पन्न पहिलो संस्करण र सन् १९७९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि वेस्ट इन्डिजले जितेको थियो। ती दुवै विश्वकप इङ्ल्यान्डमै आयोजना भएका थिए। सन् १९८३ मा इङ्ल्यान्डमै भएको तेस्रो विश्वकपका पनि वेस्ट इन्डिज फाइनलसम्म पुगेको थियो। तर, फाइनलमा भारतसँग ४३ रनले पराजित भएको थियो। त्यसयता वेस्ट इन्डिज कुनै पनि संस्करणको फाइनलमा पुग्न सकेको छैन। विश्वकपको अघिल्लो संस्करणमा भने क्यारेबियन टोली क्वार्टरफाइनलमै न्युजिल्यान्डसँग एक सय ४३ रनले पराजित भएको थियो।

पाकिस्तानले पनि पहिलो संस्करणदेखि नै विश्वकपमा भाग लिँदै आएको छ। सन् १९९२ मा पाकिस्तानले तत्कालीन कप्तान इमरान खानको नेतृत्वमा विश्वकपको उपाधि उचालेको थियो। त्यसयता पाकिस्तानी टोली एकपटक मात्र विश्वकपको फाइनलसम्म पुगेको छ। सन् १९९९ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको थियो।

अघिल्लो विश्वकपमा भने पाकिस्तानी टोली क्वार्टरफाइनलमै अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो। पछिल्लो समय भने पाकिस्तान र वेस्ट इन्डिज दुवैले विश्वकपमा खासै गतिलो प्रभाव छाड्न सकेका छैनन्। अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले पछिल्लो समय हासिल गरेको ठूलो उपलब्धि भनेको सन् २०१७ को च्याम्पियन्स ट्रफी हो। इङ्ल्यान्डमै भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई हराएको थियो।

वेस्ट इन्डिजले भने जारी विश्वकपको अभ्यास खेलमा शक्तिशाली प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ९१ रनको फराकिलो अन्तरले हराएर आफ्नो आत्मविश्वास बलियो बनाएको छ। उक्त खेलमा वेस्ट इन्डिजले चार सय २१ रनको विशाल योगफल तयार पार्दै विश्वकपमा आफूलाई कमजोर नआँक्न चेतावनी पनि दिएको छ। पाकिस्तान र वेस्ट इन्डिजबीच हालसम्म विश्वकपमा १० वटा खेल भएका छन्। ती १० मध्ये सात खेलमा वेस्ट इन्डिज विजयी भएको छ। पाकिस्तानी टोलीले तीन खेलमा मात्र वेस्ट इन्डिजलाई हराउन सकेको छ। यो विश्वकपमा वेस्ट इन्डिज र पाकिस्तानबीचको खेललाई ब्याट्सम्यान र बलरबीचको भिडन्तका रूपमा लिइएको छ। वेस्ट इन्डिजका ब्याट्सम्यान र पाकिस्तानी बलरबीचको भिडन्तले दर्शकलाई भरपूर मनोरञ्जन दिने पक्का छ।

भर्खरैमात्र ट्रेन्ट ब्रिजमा पाकिस्तानले इङ्ल्यान्डसँग एकदिवसीय शृंखला खेलेकाले त्यो अनुभव उसका लागि थप उपयोगी सिद्ध हुन सक्छ। यद्यपि, उक्त शृंखलामा पाकिस्तानी टोली इङ्ल्यान्डसँग पराजित भएको थियो। वेस्ट इन्डिजले भने यो रंगशालामा आफूले खेलेका ६ मध्ये पाँच खेलमा जित हात पारेको छ। सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिजले यही रंगशालामा न्युजिल्यान्डलाई हराएको थियो।

पाकिस्तानले भने ट्रेन्ट ब्रिजमा १३ वटा एकदिवसीय खेल खेलेको छ। तीमध्ये सात खेल जितेको छ भने ६ खेलमा पराजय भोगेको छ। पाकिस्तानले यो मैदानमा यसअघिका विश्वकपमा तीन खेल जितेको छ। पाकिस्तानले यो रंगशालामा सन् १९७५ को विश्वकपमा श्रीलंका, सन् १९७९ को विश्वकपमा अस्ट्रेलिया र सन् १९८३ मा न्युजिल्यान्डलाई हराएको थियो।

पाकिस्तान र वेस्ट इन्डिजबीच यसअघि एक सय ३५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ। ७० खेलमा वेस्ट इन्डिज विजयी भएको छ भने ६० खेल पाकिस्तानले जितेको छ। यी दुई टोलीबीच सन् १९९९, सन् १९९३ र सन् २०१३ मा भएको खेल भने बराबरीमा सकिएको थियो। सन् २००६ र सन् २००८ मा दुई खेल भने वर्षाका कारण बीचैमा रद्द भएको थियो।

यी दुई टोली सन् १९७९ र सन् १९८३ को विश्वकपमा पनि आपसमा भिडेका थिए। ती दुवै खेलमा वेस्ट इन्डिज विजयी भएको थियो। सन् १९९२, सन् २००७ र सन् २०१५ को विश्वकपमा पनि वेस्ट इन्डिजले पाकिस्तानलाई हराएको थियो। पाकिस्तानले भने सन् १९८७, सन् १९९९ र सन् २०११ को विश्वकपमा वेस्ट इन्डिजलाई हराएको थियो।

यसपटक टोलीमा पुराना र नयाँ खेलाडीको तालमेल मिलाएको वेस्ट इन्डिज उपाधि जित्ने दाउमा। आक्रामक ब्याट्सम्यान क्रिस गेलको साथ पाएको वेस्ट इन्डिजमा साई होप र एभिन लेविस, ड्यारेन ब्राभोजस्ता उत्कृष्ट ब्याट्म्यान छन्। बलिङमा केमर रोचको प्रदर्शनले वेस्ट इन्डिजलाई थप उत्साह दिनेछ। पछिल्लो समय लयमा रहेका रोचले ८५ एकदिवसीय खेलमा एक सय १५ विकेट लिएका छन्।

यसैगरी सदाबहार टोलीको छवि बनाएको पाकिस्तान यसपटक ब्याटिङ र बलिङ दुवैमा क्षमतावान् खेलाडी छन्। इमाम उल हक र फाखर जामनको प्रदर्शन उच्च हुने अनुमान गरिएको छ। इमामले हालै मात्र भारतीय खेलाडी कपिल देवले ३६ वर्षअघि बनाएको कीर्तिमान तोडेका थिए। पाकिस्तानी टोली सरफराज अहमदको कप्तानीमा छ।

विश्वकपमा दुई टोली

कुल : १० खेल

वेस्ट इन्डिज विजयी : ७ खेल

पाकिस्तान विजयी : ३ खेल

एकदिवसीयमा दुई टोली

कुल : १३५ खेल

वेस्ट इन्डिज विजयी : ७० खेल

पाकिस्तान विजयी : ६० खेल

बराबरी : ३ खेल

वर्षाका कारण रद्द : २ खेल

एकअर्काविरूद्ध उच्च स्कोर

पाकिस्तानविरूद्ध वेस्ट इन्डिज : ३३७/५ (सन् २०१६ सारजहा)

वेस्ट इन्डिजविरूद्ध पाकिस्तान : ३३९/४ (सन् २००५ एडलेइड)

एकअर्काविरूद्ध सर्वाधिक रन

ब्रायन लारा (वेस्ट इन्डिज) : १५६ रन (सन् २००५ एडलेइड)

ब्रायन लारा (वेस्ट इन्डिज) : १५३ रन (सन् १९९३ सारजहा)

सइद अनवर (पाकिस्तान) : १३१ रन (सन् १९९३ सारजहा)

बसात अली (पाकिस्तान) : १२७ रन (सन् १९९३ सारजहा)

एकअर्काविरूद्ध उत्कृष्ट बलिङ

साहिद अफ्रिदी (पाकिस्तान) : ७ विकेट १२ रन (सन् २०१३ प्रोभिडेन्स)

अजहर महमुद (पाकिस्तान) : ६ विकेट १८ रन (सन् १९९९ सारजहा)

फ्राँकलिन रोज (वेस्ट इन्डिज) : ५ विकेट २३ रन (सन् २००० सेन्ट भिनसेन्ट)

इयान बिसप (वेस्ट इन्डिज) : ५ विकेट २५ रन (सन् १९९३ ब्रिसबेन)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.