कमजोर पाकिस्तानविरुद्ध बलियो इङ्ल्यान्ड

कमजोर पाकिस्तानविरुद्ध बलियो इङ्ल्यान्ड

लन्डन : विश्वकप क्रिकेटको सोमबार हुने खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण एसियाली राष्ट्र पाकिस्तानको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा खेलिनेछ। पाँचौं पटक विश्वकपको आयोजना गरिरहेको इङ्ल्यान्डले हालसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन भने पाकिस्तान सन् १९९२ को उपाधि विजेता राष्ट्र हो।

सन् १९९२ को विश्वकपको फाइनलमा पाकिस्तानले इङ्ल्यान्डलाई नै २२ रनले हराउँदै उपाधि हात पारेको थियो। इङ्ल्यान्ड भने सन् १९७९, सन् १९८७ र सन् १९९२ मा विश्वकपको फाइनलसम्म पुगेर पनि उपाधिबाट चुकेको थियो। जारी विश्वकपमा इङ्ल्यान्ड र पाकिस्तान दुवैले एक÷एक खेल खेलिसकेका छन्। इङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय चार रनको फराकिलो अन्तरले हराएको थियो।

पाकिस्तानी टोली भने आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। जारी विश्वकपमा इङ्ल्यान्डले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पाकिस्तानी टोली बलिङमा सफल रहे पनि ब्याटिङमा भने निकै कमजोर देखिएको छ। पहिलो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तान एक सय पाँच रनमै अलआउट भएको थियो।

विश्वकप सुरु हुनुअघि पनि पाकिस्तानी टोलीले इङ्ल्यान्डमा एकदिवसीय शृंखला खेलेको थियो। त्यतिबेला पनि इङ्ल्यान्डविरुद्ध् पाकिस्तानी टोलीले निराशाजनक प्रदर्शन गरेको थियो। चार खेलको उक्त शृंखलामा पाकिस्तानी टोली ४—० ले नै पराजित भएको थियो। इङ्ल्यान्ड र पाकिस्तानबीच हालसम्म विभिन्न विश्वकपमा नौ खेल भएको छ। ती नौमध्ये चार खेलमा इङ्ल्यान्ड र चार खेलमा पाकिस्तान विजयी भएका छन्। एक खेल भने अनिर्णित अवस्थामा सकिएको थियो।

सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डले पाकिस्तानलाई १४ रनले हराएको थियो। सन् १९८३ को विश्वकपमा यी दुई टोलीबीच भएको दुई खेलमा पनि इङ्ल्यान्ड क्रमशः आठ विकेट र सात विकेटले विजयी भएको थियो। सन् १९८७ को विश्वकपमा पनि यी दुई टोलीबीच दुई खेल भएको थियो। ती दुवै खेलमा पाकिस्तान क्रमशः १८ रन र सात विकेटले विजयी भएको थियो। सन् १९९२ को विश्वकपमा एउटा खेल अनिर्णित अवस्थामा सकिएको थियो भने एक खेलमा पाकिस्तान २२ रनले विजयी भएको थियो। सन् १९९६ को विश्वकपमा पाकिस्तान सात विकेटले विजयी भएको थियो भने सन् २००३ को विश्वकपमा इङ्ल्यान्डले एक सय १२ रनको जित हात पारेको थियो।

विश्वकपमा पाकिस्तानले इङ्ल्यान्डविरुद्ध् बनाएको उच्च स्कोर दुई सय ५० रन हो भने इङ्ल्यान्डले पाकिस्तानविरुद्ध् बनाएको उच्च स्कोर दुई सय ४९ रन हो। यसैगरी विश्वकपमा पाकिस्तानविरुद्ध् इङ्ल्यान्डले बनाएको कम स्कोर एक सय ६५ रन र इङ्ल्यान्डविरुद्ध् पाकिस्तानले बनाएको सबैभन्दा कम स्कोर एक सय ३४ रन हो। यसैगरी एकदिवसीय क्रिकेटमा हालसम्म इङ्ल्यान्ड र पाकिस्तानबीच ८७ खेल भएका छन्। तिमध्ये ५३ खेलमा इङ्ल्यान्ड र ३१ खेलमा पाकिस्तान विजयी भएका छन्। तीन खेल भने अनिर्णित अवस्थामा सकिएको थियो। घरेलु टोली इङ्ल्यान्ड इयोन मोर्गन र पाकिस्तानी टोली सरफराज अहमदको कप्तानीमा मैदानमा ओर्लंदै छन्।

गत बिहीबार खेलिएको पहिलो खेलमा इङ्ल्यान्डका लागि बेन स्टोक्सले ८९, कप्तान मोर्गनले ५७, ओपनर जासन रोयले ५४ र जोय रुटले ५१ रन बनाएका थिए। बलिङतर्फ पहिलो विश्वकप खेलिरहेका जोफरा आर्चरले तीन तथा लियाम प्लुनकेट र बेन स्टोक्सले दुई÷दुई विकेट लिएका थिए। वेस्ट इन्डिजविरुद्ध को खेलमा भने पाकिस्तानी टोलीका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन्। फाखर जामन र बाबर आजमले सर्वाधिक २२÷२२ रन बनाएका थिए। बलिङमा मोहम्मद आमिरले तीन विकेट लिएका थिए।

विश्वकपका दुई टोली

कुल : ९ खेल

इङ्ल्यान्ड विजयी : ४ खेल

पाकिस्तान विजयी : ४ खेल

अनिर्णित : १ खेल

आजको खेल

इङ्ल्यान्डविरुद्ध्पाकिस्तान

ट्रेन्ट ब्रिज (दिउँसो ३ः१५ बजे)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.