६९ वर्षअघि ८ हजार मिटरमाथिको त्यो कीर्तिमानी
म्याग्दी (नारच्याङ) : फ्रान्सेली नागरिक मौरिस एर्सोगको टिमले ६९ वर्ष अघि आजकै दिन सन् १९५० जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। म्याग्दी जिल्लाको हालको अन्नपूर्ण गाउँपालिका नारच्याङस्थित अन्नपूर्ण नर्थ बेसक्याम्पबाट उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए।
विश्वमा ८ हजार भन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड फ्रान्सका नागरिक ३१ वर्षिय एर्सोगको टिमले गरेको हो। अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्ष पछि मात्र न्युजिल्याण्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा विश्वको उच्च शिखर सगरमाथा ( ८,८४८ मिटर) पुगेका थिए।

म्याग्दी जिल्लाको नारच्याङस्थित अन्नपूर्ण नर्थ बेस क्याम्पमा विभिन्न समयमा अन्नपूर्ण प्रथम आरोहण गर्ने आरोहीको नाम लेखिएका शिलालेख र पृष्ठभूमिमा अन्नपूर्ण प्रथम हिमाल।
एर्सोगको टिम मुस्ताङको ताक्लुङ थासाङ हुँदै म्याग्दीको ओडार हुँदै अन्नपूर्ण नथ बेसक्याम्पबाट अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। अन्नपूर्ण हिमालको आरोहण सगरमाथाको आरोहण गर्नु भन्दा निकै जटिल छ। धौलागिरी हिमालको आरोहण झनै जटिल मानिन्छ।
फ्रान्सबाटै नेपाल आउनु अघि नै ८,१६७ मिटर अग्लो धौलागिरी हिमाल र ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल मध्ये एक चढ्ने योजना सहित उनको टोली नेपाल आएको थियो। अन्नपूर्ण हिमाल आरोहण गर्नु अघि धौलागिरी हिमाल आरोहण गर्ने योजना सहित मुस्ताङ पुगेको उनको टिमलाई स्थानीयले धौलागिरी हिमाल आरोहण गर्न कठीन हुने बताए पछि अन्नपूर्ण हिमालको आरोहण गर्ने योजना सहित मुस्ताङको ताक्लुङ थासाङ हुँदै म्याग्दीको ओडार भएर अन्नपूर्ण नथ बेसक्याम्प उक्लीएका थिए।
चर्चित पुस्तक
फ्रान्सबाट दिल्लीसम्म हवाई यात्रा गरेर उनि नेपाल आएका थिए। उनको टिम मुस्ताङको टुकुचे पुग्ला सम्म पनि ८ हजार भन्दा अग्ला दुई हिमाल धौलागिरी र अन्नपूर्ण कहाँबाट जाने भन्ने राम्रो जानकारी नभएको एर्सोगले लेखेको चर्चित पुस्तक 'अन्नपूर्ण' मा उल्लेख छ। पुस्तकमा टुकुचेको सुन्दरताको उनले बर्णन गरेका छन्। उनी भातरबाट नेपालको कपीलबस्तु, बुटवल, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङको टुकुचे पुगेका थिए। साढे ४ टन आरोहणकालागि आवश्यक सामाग्री र साढे एक टन खाने कुराको जोहो गरिएको थियो। यी सामाग्री बोक्न २ सय जना भरियाको व्यवस्था गरिएको उनले लेखेको पुस्तक अन्नपूर्णमा उल्लेख छ।
एर्सोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि नेपालको विश्वमै चर्चा भयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पदयात्रा विश्वमै उत्कृष्ट मध्येको एक पर्नुमा पनि एर्सोगले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुकै देन हो।
एर्सोगले अन्नपूर्ण आरोहण गरेको खुशियालीमा फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव नै मनाइएको थियो। पोखराको पर्यटन विकासको पहिलो अधार अन्नपूर्ण, धौलागिरी हिमाल र मनास्लु हिमाल क्षेत्रका पदयात्रा नै रहेको पर्यटन विज्ञ बताउँछन्। विश्व भरका लाखौं पर्यटक अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लुको आरोहण गर्न र त्यस क्षेत्रको पदयात्रा गर्न आउने भएको ले नै पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ।
अन्नपूर्ण हिमालको सफल आरोहण गरेका एर्सोगको दुबैहातका औला झरेका थिए। गोडाहरू पनि हिउँले खाएको थियो। लुइस लचेनले पनि एर्सोगसँगै अन्नपूर्ण प्रथम आरोहण गरेका थिए। उनीहरूले अन्नपूर्ण प्रथमको आरोहण गर्दा बिभिन्न पाँच क्याम्प बनाएर आरोहण गरेका थिए।
सफल आरोहण पछि उनलाई तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले भेट्न पत्र नै पठाएका थिए। दरवारमा समारोह नै आयोजना गरेर उनलाई गोर्खा क्रस पदकले सम्मान गरिएको थियो।
पर्यटन विकासमा योगदान

सन् २००५ मा एर्सोग फोटो साभार ः latimes.com
नेपालको पदयात्रा पर्यटनको विकासमा उनै एर्सोगको महत्वपूर्ण योगदान रहेको छ। सन् १९५२ मा उनले अन्नपूर्ण हिमालको आरोहणका बारेमा पुस्तक लेखेका थिए। उनले लेखेको किताव केही हप्तामै ४० हजार कपी बिक्री भएर त्यती बेलाको बेस्ट सेलर पुस्तकको रुपमा रेकर्ड भएको थियो।
हिलारी र तेन्जीङले विश्वकै शिर सगरमाथा चढ्नु केही महिना अघि निस्केको यो पुस्तक निकै चर्चीत भएको थियो। सन् २ हजार सम्म १ करोड १० लाख बढि बिक्री भएको थियो। यसै कितालका कारण विश्वमा नेपाल र यहाँका हिमालको प्रवद्धनमा महत्वपूर्ण भूमीका रहेको थियो।
अमेरिकामा उपचारका क्रममा भाइको सहयोगमा उनले किताव लेखेका हुन्। हिमाल चढ्नु अघि उनले विवाह पनि गरेका थिएनन। हिमाल चढ्दा के हुने हो भनी उनले विवाह गरेका थिएनन्। हिमाल चढेर फर्के पछि उनले विवाह गरेका थिए। १९१९ मा जन्मेका एर्सोगको मृत्यु १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा भएको थियो।

म्याग्दी जिल्लाको अन्नपूर्ण नथ बेस क्याम्पको ४ हजार ५० मिटर उचाइ स्थित अन्नपूर्ण प्रथम हिमालको फेदीमा रहेको अन्नपूर्ण हिमताल।

अन्नपूर्ण नर्थ हिमालको बेस क्याम्पमा रहेको शिव मन्दिर।
प्रतिक्रिया दिनुहोस !