आर्थिक वर्षको अन्त्यमा योजना सम्झौता
रूपन्देही : बुटवल उपमहानगरपालिकामा चालु आर्थिक वर्षका लागि झन्डै साढे ५ सय योजना सम्झौता प्रक्रियामा छन्। यीमध्ये ८७ वटा योजनाको अन्तिम समयमा आएर सम्झौता भएको छ। गत वैशाख ३० गते बसेको बुटवल उपमहानगरपालिको कार्यपालिका बैठकले सम्झौता नभएका आयोजनाको जेठ १० गतेसम्म सम्झौता प्रक्रिया अघि बढाउन कार्यपालिकालाई निर्देशन दिएको थियो। त्यसपछि बाँकी आयोजनाको हतार–हतार सम्झौता प्रक्रिया अघि बढाइएको हो।
उपमहानगरपालिकाले उक्त निर्णय गरेको १० दिनभित्र ८७ वटा योजनाको सम्झौता भएको हो। यसले आर्थिक वर्षको अन्तिममा आएर मात्र हतार हतार बजेट कार्यान्वयन गर्ने प्रवृति देखाउँछ। म्यादको अन्तिम दिन १० गते मात्र २६ वटा योजनामा सम्झौता भएको छ। म्यादपछि पनि २ वटा योजनामा सम्झौता भएको देखिएको छ। बुटवल ५ को ज्ञानोदय माविको तला थप र ११ नम्बर वडाको तेजपथ सडक पिच गर्ने कार्यको म्याद सकिएपछि जेठ १२ गते मात्र सम्झौता भएको छ। ज्ञानोदय माविको तला थप गरेर २ वटा कोठा बनाउन वडाले छुट्टयाएको १० लाख र उपमहानगरले दिएको ७ लाख गरी १७ लाख रुपैयाँको बजेटका लागि सम्झौता भएको हो।
सम्झौता हुनेबित्तिकै तला थप्ने कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीले बताए। ‘लेबर मिस्त्री थुप्रै राखेका छौं। असार मसान्तभित्रै सक्ने गरी हाजिरी लगाएर काममा लगाएका छौं’, उनले भने, ‘पिलर तयार भइसक्यो, ढलान सुरु गरेका छौं, त्यसपछि गाह्रो लगाउने काम हुन्छ। चाडो सक्न हामी लागिरहेका छौं।’ पहिले नै माग गरे पनि ढिलामात्र बजेट परेको उनले बताए।
बुटवल ५ मा जेठ महिनामा मात्र ८ वटा योजना सम्झौता भएको छ। वडाध्यक्ष तेजबहादुर सुनारले उपभोक्तामार्फत गराउने काम सहज नभएको बताए ‘कहिँ उपभोक्ताबीच विवाद, कतै पैसा उठाउन गाह्रो, केही शीर्षक परिवर्तन गर्नुपर्दा पनि ढिला भएको हो’, उनले भने, ‘सल्लाह सुझावमा काम गरौं भन्दा ढिला भएको हो। सम्झौता भएको योजना समयमै सक्छौं।’
बुटवल उपमहानगरपालिकामा उपभोक्तामार्फत हुने योजनाको सम्झौता प्रक्रिया मंसिरबाट सुरु भएको हो। वार्षिक कार्ययोजना अनुसार चैतभित्रै सम्झौता सकिनुपर्ने हो। तर, सबैभन्दा बढी वैशाख महिनामा १ सय ८ वटा योजनाका लागि सम्झौता भएको छ। बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा १६ का वडाध्यक्ष रामप्रसाद रेग्मीले सबै वडामा काम नसकिएकाले चैतपछि एक महिना र फेरि १० दिन म्याद थप गरेको बताए। ‘कार्यपालिकाबाट निर्णय गरेर हामीले परिपत्र गरियो। उहाँहरू सबै एकैपटक आउनुभयो’, उनले भने, ‘सबै वडामा प्राविधिक नहुँदा योजना स्टिमेट हुन ढिलाइ भएको हो।’
आर्थिक वर्षको अन्तिममा आएर मात्र बजेटको खर्च प्रक्रिया सुरु हुने रोग स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि उस्तै छ।
ढिला सम्झौता भए पनि अधिकांश योजना यसै आर्थिक वर्षभित्र सम्पन्न हुने रेग्मीले दाबी गरे। आर्थिक वर्षको अन्तिममा आएर मात्र बजेटको खर्च प्रक्रिया सुरु हुने रोग स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि उस्तै छ। ढिला सम्झौता भएका आयोजनाको असार मसान्तसम्म बजेट सक्न हतार हतार काम गर्नुपर्ने हुन्छ। झरीको समयमा हतार हतार निर्माणका काम गर्दा विकास आयोजनाको गुणस्तर कमजोर हुन्छ। केही अपूरो र कति सुरु हुनै पाउँदैनन्। उपमहानगरपालिकाका प्रवक्ता रेग्मीले कालोपत्रे जस्तो बर्खाले असरपार्ने योजना अर्को वर्षका लागि क्रमागत भएर जाने बताए। अघिल्लो आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न नभएका १ सय २१ वटा योजना क्रमागत भइ यो आर्थिक वर्षमा आएका थिए। तीमध्ये ९८ वटा सम्पन्न भएका छन् भने २३ वटा सम्पन्न हुन बाँकी रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !