क्वारेन्टाइन परीक्षण बिनै भित्रिन्छ सामान
काठमाडौं : चीन जोड्ने प्रमुख दुई नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेबाट क्वारेन्टाइन परीक्षण बिनै पशुपन्छी र पशुजन्य वस्तु आयात हुने गरेको छ। निकासी वा पैठारी गर्दा रूखबिरुवा र पशुपन्छीजन्य वस्तु क्वारेन्टाइन परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ। एक मुलुकबाट अर्को मुलुकमा कुनै पनि घातक जिवाणु प्रवेश गर्न नसकुन भनेर क्वारेन्टाइन परीक्षणको व्यवस्था गरिएको हुन्छ। यो व्यवस्थाविपरीत क्वारेन्टाइन जाँच नगरी वस्तु आयात भइरहेको पाइएको छ।
गत बुधबारदेखि चीनसँग जोडिएको तातोपानी नाका औपचारिक रूपमा सञ्चालनमा आएको छ। नाका सञ्चालनमा आए पनि क्वारेन्टाइन परीक्षणको काम सुरु गरिएको छैन। गत बुधबार चीनबाट उक्त नाकामार्फत क्वारेन्टाइन परीक्षण बिनै चार कन्टेनर ऊन नेपालमा भित्र्याइएको थियो। लार्चामा निर्माण भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले सीमा क्षेत्रमै क्वारेन्टाइन जाँच नगरी ऊन नेपाल भित्र्याउन अनुमति दिएको थियो। भूकम्पपछि तातोपानी नाकाको विकल्पमा सञ्चालनमा आएको रसुवाको टिमुरेमा पनि हालसम्म क्वारेन्टाइन परीक्षण बिनै चीनबाट उपभोग्य वस्तु आयात भइरहेको छ।
सरकारी व्यवस्थाअनुसार अर्को मुलुकबाट बोटविरुवा वा पशुपन्छी वस्तु वा पशुपन्छीजन्य उत्पादन आयात गर्दा उक्त वस्तु स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छ। त्यस्ता वस्तुमा सर्न सक्ने महामारी र भयावह प्रकृतिका कुनै पनि जिवाणु (भाइरस) को संकमण छैन भनेर निर्यातकर्ता मुलुकको सम्बन्धित क्वारेन्टाइन कार्यालयले क्वारेन्टाइन तथा स्वास्थ्य प्रमाणपत्र जारी गर्ने व्यवस्था छ। यही प्रमाणपत्रका आधारमा आयात गर्ने मुलुकको भन्सार कार्यालयले भित्र्याउन अनुमति दिन्छ। त्यसपछि नाकामा रहेका क्वारेन्टाइन चेक पोस्टले त्यस्ता वस्तु परीक्षण गरी अन्तिम स्वीकृति दिने व्यवस्था छ।
निकासी वा पैठारी गर्दा रूखबिरुवा र पशुपन्छीजन्य वस्तु क्वारेन्टाइन परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ।
क्वारेन्टाइन कार्यालय काठमाडौंको प्रमुख डा. श्रीराम अधिकारीका अनुसार गत बुधबार क्वारेन्टाइनका कर्मचारी डा.कृष्ण पौडेल तातोपानी नाकामा उपस्थित भए पनि चारवटा कन्टेनरमार्फत नेपालमा भित्रिएको ऊन परीक्षण गर्न नसकिएको बताए। उनले भने, ‘हामीले भन्सार कार्यालयलाई क्वारेन्टाइन प्रमाणपत्र परीक्षण गरेर मात्रै भित्र्याऔं भन्यौं। तर हाम्रो कुरा कसैले संवेदनशील रूपमा लिएनन्। परीक्षण बिनै चारवटै कन्टेनर नेपाल भित्र्याइयो।’ अधिकारीले रसुवाको टिमुरेमा भने क्वारेन्टाइन चेक पोस्ट बस्ने स्थानको हालै सरकारले व्यवस्था गरेकाले कर्मचारीको व्यवस्थापन गरी केही दिनमै क्वारेन्टाइन परीक्षण गर्ने जानकारी दिए।
लार्चास्थित भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले भने बुधबार तातोपानी नाकाको उद्घाटन गर्ने कार्यक्रम भएकाले परीक्षण नगरिएको जानकारी दिए। रसुवाको टिमुरेमा परीक्षण गर्ने काम नभएको अवस्थामा तातोपानी नाकामा क्वारेन्टाइन परीक्षण गर्ने कामको सुरुआत नगरिएको बस्नेतले बताए। ‘उदघाट्नका दिन सबै कार्यक्रम रोकेर कन्टेनरमा आएको मालवस्तुको क्वारेन्टाइन परीक्षण गर्नुभएन,’ बस्नेतले अन्नपूर्णसँग भने,‘त्यही भएर त्यो दिन कन्टेनरलाई सोझै नेपाल भित्र्याइएको हो।’ बस्नेतका अनुसार नाका पूर्णरूपमा सञ्चालनमा आएपछि क्वारेन्टाइन परीक्षण कार्यान्वयनमा ल्याइनेछ।
फेला पर्यो अमेरिकन फौजी कीरा
सीमा क्षेत्रमा कडाइका साथ क्वारेन्टाइन परीक्षण नगरिँदा हालै नेपालमा अमेरिकन फौजी कीरा भित्रिएको छ। पछिल्लो समयमा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्यान्ड र चीन हुँदै यो कीरा नेपाल आइपुगेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ।
विभिन्न माध्यमबाट नेपालमा प्रवेश गरेको कीराले नवलपरासीको मकै खेतीलाई नष्ट बनाएको छ। सन् २०१६ को जनवरी महिनामा पहिलोपटक अफ्रिकी महादेशको नाइजेरियामा यो कीरा फेला पारिएको थियो। ४० अफ्रिकी मुलुकसहित एसिया महादेशमा अहिले यो कीराको प्रकोप फैलिएको छ।
प्रतिक्रिया दिनुहोस !