पैसा नभई हुँदैन निःशुल्क डाइलासिस
भक्तपुर : सरकारले मृगौला रोगीको जीवन लम्ब्याउन गर्नुपर्ने डाइलासिस निःशुल्क गरेको छ तर पैसा नहुने गरिब तथा असहाय मृगौला बिरामी उक्त सुविधाबाट वञ्चित हुँदै आएका छन्।महिनामा १५–२० हजार रुपैयाँ खर्च गर्न नसक्ने मृगौला बिरामीहरुले सरकारले दिने निःशुल्क डाइलासिस सेवा पाउन सक्दैनन्।
एकपटक डाइलासिस गर्दा लाग्ने करिब दुईहजार पाँच सय रुपैयाँ सरकारले व्यहोर्दै आएको छ तर सरकारले दिने उक्त निःशुल्क सुविधा लिन मृगौला बिरामीले पनि कम्तिमा उत्ति नै रकम खर्च गर्नुपर्छ। मृगौला बिरामीले हप्तामा कम्तीमा एकपटक डाइलासिस गराउनुपर्छ। यस हिसाबले महिनामा चारपटकसम्म हाइलासिस गर्नुपर्छ।
मृगौला बिरामीहरुका अनुसार सरकारले दिएको निःशुल्क डाइलासिस गराउनु अघि र पछि विभिन्न जाँच गराउनुपर्छ। त्यस्तै चिकित्सकको सुझावअनुसार नियमित औषधि सेवन गर्नुपर्छ। मृगौला बचाउन तथा कार्य क्षमता बढाउन विभिन्न भिटामिन, क्याल्सियम, फोसफोरसयुक्त औषधि खानुपर्छ। यस हिसाबले मासिक १५ देखि २० हजार रुपैयाँ खर्च हुने बिरामीहरु बताउँछन्।
त्यसमाथि कुनै संक्रमण भए मृगौला बिरामीहरुले थप खर्च गर्नुपर्छ। कम्तीमा तीनहजार लाग्ने सुई लगाउनुपर्छ। ‘डाइलासिस गर्नुअघि शरीरमा पानीको मात्रा जाँच गर्नुपर्छ। पानी बढी भए झिक्नुपर्छ। रगत बढाउने सुई लिनुपर्छ’, मृगौला पीडित बलराम सुवेदी भन्छन्, ‘तीनतीन महिनामा एकपटक भाइरल मार्किङ गर्नुपर्छ। यी सबै गर्दा एकपटक डाइलासिस गर्दा तीन चार हजार रुपैयाँ खर्च नगरी हुँदैन।’
सरकारले निःशुल्क गरेभन्दा बिरामीले बढी खर्च गरेपछि मात्रै डाइलासिस गर्न सकिने उनले स्पष्ट पारे। त्यसैले महिनामा १५–२० हजार खर्च गर्न नसक्नेले सरकारको निःशुल्क डाइलासिस गर्न नपाउँदै ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनी बताउँछन्।
‘देशभर निःशुल्क डाइलासिस गर्ने स्वास्थ्य केन्द्र र मेसिनको अभावमा पैसा हुनेले पनि निःशुल्क डाइलासिस गराउन पाइरहेका छैनन्’, मृगौला पीडित सरोकार समाज नेपालमा अध्यक्षसमेत रहेका सुवेदीले भने, ‘त्यसैले डाइलासिसको पहुँच सबैतिर बढाउनुपर्छ।’
मृगौला पीडितहरुलाई जीवन निर्वाह गर्न यसअघिको सरकारले निर्णय गरेको जीविकोपार्जन भत्तावापतको मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराए धेरै बिरामीले डाइलासिससम्म गराउन सक्षम हुने उनले स्पष्ट पारे।
‘बिरामीले खर्च गर्नुपर्ने सम्पूर्ण जाँच र औषधि पनि डाइलासिससँगै निःशुल्क हुनुपर्छ’, समाजका सचिव राजन ठकुरी भन्छन्, ‘त्यस्तै देशभर डाइलासिस गर्ने व्यवस्था हुनुपर्छ।’
यता मृगौलारोग विशेषज्ञहरुले भने अन्य रोगको तुलनामा मृगौलाको क्षेत्रमा सरकारले धेरै सुविधा दिएको दावी गर्छन्। डाइलासिस र प्रत्यारोपण निःशुल्क हुनु महत्वपूर्ण सुविधा भएको उनीहरुको भनाइ थियो।
डाइलासिस निःशुल्क भएरै पछिल्लो समय मृगौला रोगका कारण मृत्यु हुनेहरुको संख्यामा कमी आएको चिकित्सकहरु बताउँछन्। तर मृगौला रोगीको दाँजोमा डाइलासिस सेवा अपुग भएको उनीहरुको भनाइ छ।
देशभर ६५ ठाउँमा डाइलासिस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार अहिले देशका ६५ ठाउँबाट निःशुल्क डाइलासिस सेवा दिँदै आएको छ। वरिष्ठ मृगौला प्रत्यारोपणविद् डा. श्रेष्ठले मृगौला रोगीको तुलनामा डाइलासिस मेसिनको उपलब्धता भने कम रहेको बताए।
‘डाइलासिस मेसिन कम भएकाले बिरामीको बढी चाप छ’, उनले भने, ‘तैपनि निःशुल्क डाइलासिसको व्यवस्थाकै कारण बाँच्ने मृगौला बिरामीहरु पनि बढेका छन्।’
उनका अनुसार दैनिक चार हजार जना मृगौला बिरामीहरुको डाइलासिस हुन्छ। भक्तपुरस्थित केन्द्रले दैनिक १२० जनासम्मको डाइलासिस गर्दै आएको छ।
उनले डाइलासिस सेवासँगै अंग प्रत्यारोपणलाई देशभर फैलाउन सकिए मृगौला रोगकै कारण नागरिकले ज्यान गुमाउन नपर्ने स्पष्ट पारे।‘ब्रेन डेथलाई कडाइका साथ लागू गर्न सकिए अंग फेल भएकै कारण कुनै नेपालीले ज्यान गुमाउन पर्ने स्थितिको अन्त्य गर्न सकिन्छ’, डा. श्रेष्ठले भने।