सुख खोज्दै किसान
बागलुङ : सुख खोज्दै भौतारिने जमात बाक्लो छ। कोही सुख र खुसी खोज्दै सहर पुग्छन्। कोही परदेश जन्छन्। यो समाजमा यस्तै सुख भेट्ने हतारो धेरैलाई छ। बागलुङको काठेखोला गाउँपालिका ६ बिहूँ पुगेर किसानलाई भेट्दा भने सुखको खोज्ने तरिका अलि फरक भेटियो।
घरैपिच्छे जस्तो युवा जापान गएका बिहूँमा अधिकांश स्थानीय कम लगानीमा कम दुःख हुने खेती गर्न सक्रिय छन्। परम्परागत कोदो, मकै, धान बाली लगाइरहेका किसान यी बाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा आकर्षित भएका छन्। धान, कोदोलाई रोपाइँ गर्न, गोडमेल, काट्न र नल पराल गर्दा धेरै श्रम र पैसा लगानी गर्नुपर्छ। तर, सुन्तलामा बिरुवा लगाएपछि त्यस्तो दुःख गर्नु नपर्ने किसानको अनुभव छ।
परम्परागत खेती प्रणाली अपनाउँदा दुःख धेरै र आम्दानी कम हुने भएकाले घर आसपास, पाखाबारीका साथै खेतबारीमा पनि व्यावसायिक सुन्तला रोप्न थालिएको छ। युवा जनशक्ति सहर र विदेश पलायन भएकाले काम गर्ने जनशक्ति अभावका कारण स्थानीय किसान कम लगानी र कम दुःख गरेर पनि फल पाइने सुन्तलाखेतीतर्फ आकर्षित भएको स्थानीय किम्बोट ब्लकका संयोजक टीकाराम कंडेलले बताए। ‘कोदो, मकै, धान दुःखको बाली हो, पहिले यसले मुस्किलले जीविका मात्र चल्थ्यो’, कँडेलले भने, ‘सुन्तलाखेतीमा धेरै दुःख पनि गर्नुपर्दैन, तर यसबाट हामीले राम्रै आम्दानी पनि गरिरहेका छौं’, अब यसलाई विस्तार गरेर स्थानीयको आयस्तर वृद्धि गरेर जीवन बदल्न व्यावसायिक सुन्तलाखेतीले ठूलो सहयोग गरेको छ।’
परम्परागत कोदो, मकै, धान बाली लगाइरहेका किसान यी बाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा आकर्षित भएका छन्।
गाउँका ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिएको व्यावसायिक सुन्तलाबाट बिहूँमा बर्सेनि ३ करोडभन्दा बढी आम्दानी भित्रिने गरेको स्थानीय किसान बताउँछन्। गत वर्ष मात्रै साढे ३ लाख रुपैयाँको सुन्तला बिक्री गर्न सफल भएको कृषक बालानन्द कँडेलले बताए। ‘एकातर्फ गाउँमा काम गर्ने मान्छे पाइँदैनन्, अर्कोतर्फ खेतबारी बाँझा छन्, धेरै दुःख गरेर धान, मकै, कोदो लाएर पनि अपेक्षित प्रतिफल मिल्दैन, कम दुख गरे पनि सुन्तलाबाट राम्रो आम्दानी हुने भएकाले गाउँले यसमै अहिले समर्पित छन्’, उनले भने।
अहिले वडाका ११ वटा टोलमा ११ ब्लक बनाएर व्यवस्थितरूपमा व्यावसायिक सुन्तलाखेती बिस्तार गरिएको छ। गाउँको किम्बोट, चिरपानी, धर्मदास, फापरचौर, इनारपानी, चक्रेडाँडा, सौरेनी, गिठेपाटा, टापु, जलजला र दपासामा सुन्तलाखेती विस्तार गरिँदैछ। यसका लागि घर खेतबारी आसपासमा रहेका सबै रुख काटिएको छ। वडा कार्यालयले यहाँका किसानलाई ४ तहमा विभाजन गरेर स्तरीकरणसमेत गरेको छ। यस गाउँमा ४ सय ७६ परिवार कृषि पेसामा आबद्ध छन्। उनीहरूमध्ये अधिकांशले निर्वाहमुखी कृषि पेसा गर्ने गरेका छन्। गाउँमा भएको निर्वाहमुखी खेती प्रणाली बदल्न वडाका तर्फबाट कार्यक्रम र आवश्यक अनुदान व्यवस्था गरिएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए।