विमानस्थल बन्द, सडकमा चाप
कुश्मा : हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम विमानस्थल मर्मतका लागि बन्द भएपछि सडकमा सवारी साधनको चाप बढेको छ। शनिबारदेखि १५ दिनका लागि विमानस्थल बन्द गरिएको छ। बिमानस्थल बन्द हुँदा सडकमा मुस्ताङ जानेको संख्या ५० प्रतिशतले बढेको छ। आन्तरिक तथा वाह्य पर्यटकका कारण पोखरा–बागलुङ, बेनी–मालढुंगा र बेनी जोमसोम सडकमा साना तथा ठूला सवारीसाधनको चाप बढेको छ।
हवाइमार्ग भएर जाने यात्रु पनि सडक मार्ग भएर जान थालेपछि चाप बढेको ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख रेशम थापाले बताए। पोखराबाट मुस्ताङको जोमसोमसम्म झण्डै ८ घण्टामा पुग्न सकिन्छ। पोखराबाट हिँडेका यात्रुहरु जोमसोम पुगेर बस्ने र दोस्रो दिन मुक्तिनाथ वा उपल्लो मुस्ताङको यात्रा तय गर्छन। गर्मी छल्नका लागि पनि मुस्ताङ जानेहरुको संख्या यो समयमा बढी हुने गरेको छ। आगामी असार ७ गतेसम्म विमानस्थल बन्द रहने छ।
प्रतिक्रिया दिनुहोस !