रसुवागढीलाई ‘तस्करमुक्त क्षेत्र’ बनाउनुपर्ने भन्दै आन्दोलन, सयौं कन्टेनर रोकिए
नुवाकोट : रसुवागढी नाकामा व्यवसायीहरुले सयौंको संख्यामा सामान ढुवानी गर्ने कन्टेनर ठप्प पारेका छन् ।
मंगलबार एकै पटक चार सयवटा कन्टेनर सडकमै रोकिएका छन् । रसुवागढी नाका व्यवस्थापन समितिले विभिन्न ५ बुँदे माग राख्दै कन्टेनर सञ्चालन हुन नदिएको हो ।
तस्करी रोक्नुपर्ने लगायत ५ बुँदे माग नाका व्यवस्थापन समितिले अघि सारेको छ । उक्त क्षेत्रलाई तस्करमुक्त क्षेत्र बनाउनुपर्ने उनीहरुको अडान छ । वर्षाअघि नै रसुवागढी हुँदै केरुङबाट सामान ल्याउने मौसममा कन्टेनर बन्द हुँदा अन्य केही व्यवसायीहरु समस्यामा परेको बताउँछन् ।
रसुवा चेम्वर अफ कमर्शका अध्यक्ष सन्जिव अमात्यले भने कन्टेनर रोक लगाउँदा वास्तविक व्यवसायीलाई असर पारेको बताएका छन् । व्यवसायीहरुको हड्तालका कारण मंगलबार रसुवागढी नाकामा कन्टेनर रोकिँदा उक्त क्षेत्र अस्तव्यस्त बनेको छ । चार सयवटा कन्टेनर रसुवागढी, टिमुरेलगायत स्थानमा रोकिएर बसेका छन् ।