लोकसेवाको विज्ञापन रद्ध गर्नु हुँदैन : साझा पार्टी
काठमाडौं : साझा पार्टीले लोकसेवा आयोगको निर्णयमा हस्तक्षेप गरेर संसदीय समितिले विज्ञापन नै रद्ध गर्ने निर्देशन दिनु गैरजिम्मेवार भएको ठहर गरेको छ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी प्रवक्ता डा. सूर्यराजा आचार्यले संसदीय समितिको निर्देशनलाई गैरजिम्मेवार कार्यको संज्ञा दिएका हुन्।
‘लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो।’
लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रद्ध गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन दिएको थियो।
लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार भइरहेको र सक्षम कर्मचारीको अभावमा स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको अवस्थामा यस्तो निर्देशन हुनु गलत भएको साझा पार्टीको ठहर छ।
साझा पार्टीले विज्ञापन रद्ध गर्नु नहुनेमा जोड दिएको छ। ‘राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान छ’, विज्ञप्तिमा भनिएको छ।