बिजेपी सांसद रेखाले आफ्नै सुरक्षाकर्मीलाई हानिन् थप्पड !
नयाँदिल्ली : भारतीय जनता पार्टीकी सांसद रेखा वर्माले प्रहरीका एक सिपाहीलाई अभद्र व्यवहार गर्दै थप्पड हानेकी छन् ।
धौरहराको लखीमपुर खिरी जिल्लास्थित मोहम्मदी थानामा ड्यूटीमै खटिएका सिपाही श्याम सिंहमाथि आक्रमण गरेको आरोप लागेको हो । पीडित सिपाही श्यामका अनुसार उक्त घटना आइतबार रातिको हो ।
जहाँ सांसद रेखा वर्मा मोहम्मदीमा पार्टीका एक कार्यकर्ता सम्मान समारोहबाट आफ्नो गाउँ मकसुदपुर फर्किँदै गरेको बताइएको छ । यस क्रममा मोहम्मदी कोतवाली प्रहरीको एउटा गाडी उनको सुरक्षाको लागि अघि अघि गुडिरहेको थियो । जसमा श्याम सिंह पनि थिए ।
सिपाही श्याम भन्छन्, ‘सांसदले बीच बाटोमै गाडी रोकेर अपशब्द बोल्दै धम्की दिइन् । म चाहीँ के भयो भनेर सोधिरहेको थिएँ । तर उनले मलाई एक्कासी थप्पड हानिन् ।’
ती प्रहरीले यसबारे अधिकारीहरुलाई उजुरी गरेको कुरा बिबिसी हिन्दीले आफ्नो समाचारमा उल्लेख गरेको छ । साथै पीडितले मुख्यमन्त्री समक्ष सोमबार ‘एफआरआई’ गराएका छन् ।
मोहम्मदी थानाका दिनेश कुमार सिंहका अनुसार श्यामले सांसदमाथि थप्पड हानेको आरोप लगाएका छन् । उच्च अधिकारीहरुको निर्देशन अनुसार सांसदमाथि मुद्दा दर्ता गराइएको छ ।
सांसद रेखा दोस्रो पटक सांसद बनेकी हुन् । यसअघि पनि यस्ता घटनामा उनी विवादमा आइरहेकी थिइन् । गत वर्ष सरकारी बैठकमा आफ्नै पार्टीको विधायकलाई आक्रमण गर्न जुत्ता उठाउँदै धम्की दिँदै गरेको भिडियो भाइरल नै बनेको थियो ।
स्राेत : बिबिसी हिन्दी