नुवाकोट राष्ट्रिय गोल्डकप : नेपाल प्रहरीलाई हराउँदै नुवाकोट फाइनलमा
नुवाकोट : नुवाकोटमा जारी दोस्रो राष्ट्रिय नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत नेपाल प्रहरीलाई हराउँदै घरेलु समूह नुवाकोट–११ फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिष्पर्धी तथा साविक विजेता नेपाल प्रहरीलाई पराजित गर्दै नुवाकोट–११ ले उपाधि भिडन्तका लागि आफ्नो ढोका खुल्ला गरेको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान वट्टारमा भएको खेलमा नेपाल प्रहरीको टोलीलाई शुन्यका विरुद्ध एक गोलका साथ हराएको हो । गत वर्ष नुवाकोटले अन्तिम चारको खेलमा पोखरासँग पराजय व्यहोरेको थियो । प्रतियोगिता अन्र्तगत बुधबार ए डिभिजन क्लव च्यासलले उपाधि भिडन्तका लागि संकटा क्लबसँग दोश्रो सेमिफाइनल खेल खेल्नेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता यही जेठ ३१ गतेसम्म सञ्चालन हुने छ ।
नुवाकोटको हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको नुवाकोट गोल्पकप राष्ट्रिय फुटबल प्रतियोगिताको दोश्रो संस्करणमा देशभरका राष्ट्रिय टिमसहित १० टिमको सहभागिता छ ।