सर्वसाधारणको घरमा ढुंगा हान्ने वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी
नुवाकोट : मापसे गरेर मध्यराति सर्वसाधारणको घरमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिकाका ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमालविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ। ४५ वर्षीय रिमालविरूद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले मापसे सेवन गरी बजारमा अभद्र व्यवहार गरेको जनाउँदै पक्राउ पूर्जी जारी गरेको हो।
गत शुक्रबार मापसे गरेर विदुर नगरपालिका ५ देवीघाटकी ४३ वर्षीय भवानी घिमिरेको घरमा पुगेर अभद्र व्यवहार गरेको जनाउंदै उजुरी दर्ता भएपछि वडाध्यक्ष रिमाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।
पल्लिमगरका अनुसार प्रहरीको नजरमा वडाध्यक्ष रिमाल फरार छन्। मापसे गरी पदिय मर्यादा विपरीत अमर्यादित शैलीमा घरमा मध्यरातमा ढुंगा हान्न पुगेको घिमिरेले किटानी जाहेरी दिएकी थिइन्। प्रहरी उपरीक्षक पल्लीमगरले किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दा वडाध्यक्षमाथि थप बुझ्नुपर्ने र वास्तविक अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ पूर्जी जारी गरिएको वुधवार जानकारी दिए।
विदुर नगरपालिका ३ का वडाध्यक्ष गत २०७४ साल वैशाख ३१ ग्ते भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फवाट निर्वाचित भएका थिए। पदीय मर्यादा भुलेर रिमालले मापसे गरी मातेर जनताको घरमा ढुंगामुढा गर्न पुगेपछि प्रहरीमा किटानी जाहेरी परेको हो।