अमेरिका जान शरणार्थी बन्दै नागरिक : ‘भारतीय पनि शरणार्थी बन्न आउँछन् !

अमेरिका जान शरणार्थी बन्दै नागरिक : ‘भारतीय पनि शरणार्थी बन्न आउँछन् !

दमक : झापाको दमकस्थित भुटानी शरणार्थी शिविरभित्र गैर शरणार्थीलाई पुनर्वासका नाममा विदेश पठाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।

यहाँ बसोबास गर्ने तर दर्ता प्रक्रियामा छुटेका असली भुटानी शरणार्थी भन्दा बाहिरकै असली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने गिरोह सक्रिय रहेको सरकारका प्रतिनिधि शिविर प्रमुख सुरेन्द्रराज दाहालले बताएका हुन् ।

यसरी अमेरिका जानको लागि शरणार्थी बन्न भारतबाट समेत आउने गरेको बताइन्छ । दाहालले आफूसँग यस सम्बन्धी तथ्यांक नै रहेको पनि दावी गरेका छन् ।

सेटिङ मार्फत अमेरिका वा अन्य मुलुक पठाउने समूह गिरोहकै रुपमा सक्रिय रहेको दाहालको भनाइ छ । बुधबार दाहालले सार्वजनिक रुपमै यस्तो खुलासा गरेका हुन् ।

उनले शिविरभित्र दर्ता प्रक्रियाका लागि आएका धेरैजसो डाटा गलत रहेको पनि बताएका छन् । शिविरभित्र विदेश पठाइदिने प्रलोभनमा पार्ने गिरोह रहेकोले त्यसबाट बच्न सचेत पनि गराएका थिए । दाहालले भने, ‘म यहाँबाट सरुवा भएर जाँदैछु तर तपाइँहरु सचेत रहनूस् । तपाइँहरुबीच नै गलत व्यक्ति छन्, जसले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरिरहेका छन् ।’

उनका अनुसार गिरोहले शिविरलाई आफू अनुकुल प्रयोग गर्दैआएको छ । ‘यतिसम्म कि, ढड्डामा भएको फोटो समेत परिर्वतन गरिएको छ,’ दाहालले भनेका छन् ।
दाहालले आफूलाई पछिल्लो समय गिरोहबाट सुरक्षा चुनौती रहेको पनि बताएका छन् । तर यसबारे सरकारको माथिल्लो तहसम्म जानकारी गराइसकेको पनि उनी बताउँछन् ।

शिविरभित्र दर्ता प्रक्रियामा आएकाहरुको लागि अध्ययन गर्न बनेको जोइन्ट भेरीफिकेसन टिम (जेभिटी)ले निकालेको तथ्यांक अनुसार ठूलो संख्यामा गलत व्यक्तिहरु दर्ता प्रक्रियामा आएको भेटिएको छ । १७४१ जना दर्ता प्रक्रियामा छुटेको भनिए पनि ३ सय मात्र रहेको दाहालको भनाइ छ ।

कार्यक्रममा बोल्दै शिविर सचिव कृष्ण सुब्बाले पनि दर्ता प्रक्रियामा विभिन्न प्रलोभन तथा धम्की आउने गरेको बताए । विशेषगरी भारतीय नागरिकहरु शरणार्थी बनेर विदेश जान भन्दै शिविरभित्र आउने गरेको सचिव सुब्बाले बताएका छन् । दमकस्थित बेलडाँगी क्याम्पमा रहेका मोतिलाल थापाको नामबाट एक गैर शरणार्थी नागरिक अमेरिका पुगिसकेको बताइएको छ ।

यस्तै केही भारतीय नागरिकहरु समेत शरणार्थीको दर्ता प्रक्रियामा आएको तर त्यस्ता गैरशरणार्थी नागरिकको दर्ता खारेज गरिएको सुब्बाले बताए । अहिले शिविरमा दर्ता भएका भुटानी शरणार्थीहरुको संख्या ६ हजार ५ सय भन्दा बढी छ । पुनर्वास कार्यक्रम अन्र्तगत विभिन्न मुलुकमा एक लाख भन्दा बढी शरणार्थीहरु गइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.