अमेरिकी दूतका रूपमा आबे इरानमा

अमेरिकी दूतका रूपमा आबे इरानमा

तेहरान : जापानी प्रधानमन्त्री शिन्जो आबेले इरानी सर्वोच्च नेता आयातोल्ला अलि खामेनीलाई बिहीबार तेहरानमा भेट गरेका छन्। प्रधानमन्त्री आबे अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाव मत्थर पार्ने उपायको खोजीका क्रममा इरान पुगेका हुन्।

प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक भएको हो। अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग पारम्परिक सम्बन्ध रहेको छ। खामेनीको आधिकारिक ट्विटमा जापानी प्रधानमन्त्री आबेसँगको भेटवार्ताका तस्वीर राखिएको छ। तेहरानको मेहराबाद विमानस्थलमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरीफले आबेको स्वागत गरेका थिए।

सन् २०१५ मा परमाणु सम्झौताबाट गत वर्षको मेमा अमेरिका पछि हटेपछि अमेरिका र इरानबीच सम्बन्ध चिसिएको छ। अ अमेरिकाले उक्त आणविक सम्झौताको आडमा आणविक हातहतियार निर्माणलाई गुप्तरूपमा विकास गरिरहेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपतिको जापान यात्रालगत्तै आबे इरान पुगेका हुन्। जापानले अमेरिकाको विश्वस्त कूटनीतिक सहयोगीको भूमिका खेल्दै आएको छ। जापानको विदेश नीतिमा अमेरिकी प्रभाव रहँदे आएको छ।

हाल अमेरिकाले इरानमाथि कडा नाकाबन्दीको घोषणा गर्नुका साथै सम्भावित इरानी आक्रमण भन्दै मध्यपूर्वमा सैनिक उपस्थिति बाक्लो बनाएको छ। अमेरिकी प्रतिबन्धसँगै इरानी खनिज तेलको बिक्री रोकिएको छ जसबाट भारत, चीन, जापान समेतका प्रमुख तेल आयातकर्ता मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ। जापानले घरेलु प्रयोगका लागि ८० प्रतिशत तेल आयात गर्दै आएको छ।

इरानले यमनका विद्रोही हुथी समूहलाई राजनीतिक, आर्थिक तथा हातहतियार उपलब्ध गराएको आरोप समेत लाग्ने गरेको छ। आबे इरान पुग्नुभन्दा केही घण्टाअघि हुथी विद्रोहीले साउदी विमानस्थलमा आक्रमण गरेका थिए। यसबाट २६ जना घाइते भएका छन्। हुथीलाई सहयोग गरेको आरोप इरानले अस्वीकार गर्दैआएको छ। हुथी विद्रोहीले छिमेकी मुलुक साउदी अरेबिया, युएई समेतका मुलुकमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको आरोप लाग्दै आएको छ।

जापानी प्रधानमन्त्री आबेले अहिले मध्यपूर्वका मुलुकमा तनाव बढ्दै गएको र भीषण द्वन्द्व कुनै पनि समय शुरु हुन सक्ने आशंका गरेका छन्। उनले सशस्त्र युद्धको अवस्था आउन दिन नहुनेमा जोड दिए। प्रधानमन्त्री आबेले जापानले तनाव न्यून गर्न सबै प्रयास गर्ने बताउँदै यही एकमात्र उद्देश्यका साथ आफू इरान आइपुगेको बताए।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी राष्ट्रपति रुहानीले अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीजस्तो दबाब रोकेमा मध्यपूर्वमा सकारात्मक परिवर्तनको सम्भावना धेरै रहेको बताए। उनले अमेरिकाले इरानमाथि सैन्य हस्तक्षेत्र गरे त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिए।

तेल ट्यांकर विस्फोट

इरानको सीमा नजिकै ओमनको सामुद्रिक इलाकामा तेल ट्यांकरहरूमाथिको आक्रमण ‘शंकास्पद’ रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बताएका छन्।

‘आबेले इरानी सर्वोच्च नेता आयातोल्लासँग ‘बृहद् तथा मैत्रीपूर्ण कुराकानी’ भएकै दिन जापानसँग सम्बन्धित भएका भनिएका ट्यांकरहरूमाथिको आक्रमण शंकास्पद छ’, जरीफले ट्वीट गरेका छन्।

इरानी विदेशमन्त्रीले आफ्नो देशद्वारा प्रस्तावित ‘रिजनल डायलग फोरम’ को आह्वान सकारात्मक रहेको भन्दै क्षेत्रीय वार्ताका लागि पुन : आग्रह गरेका छन्। दुई तेल ट्यांकरमाथि बिहीबार बिहान आक्रमण भएको र तीमध्ये एउटा जापानी कम्पनीको ट्यांकर रहेको छ। इरान र अमेरिकाबीच तनाव कम गर्न आबे इरान पुगेका बेला तेल ट्यांकरमाथि आक्रमण भएको हो।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले बिहीबार खाडी क्षेत्रको तनावलाई विश्वले बहन गर्न नसक्ने बताएका छन्। उनले भने, ‘संयुक्त राष्ट्रसंघले विश्वको धेरै तेल आपूर्ति हुने मार्गमा भएको आक्रमणको निन्दा गर्छ।’ ह्वाइट हाउसकी प्रवक्ता सारा सान्डर्सले विज्ञप्ति जारी गरी राष्ट्रपति ट्रम्पलाई विस्फोटबारे जानकारी गराइएको बताएकी छन्। अमेरिकी सरकारले घटनाको अवस्थाबारे थप अनुसन्धानका लागि आवश्यक सहयोग तथा पहल गरिरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.