बुढीगण्डकीबाट गेजुवा भागेको छैन : मन्त्री पुन
काठमाडौं : बुढीगण्डकीबाट चिनियाँ निर्माण कम्पनी गेजुवा नभागेको र सम्पर्कमा नै रहेको जानकारी आएको उर्जा मन्त्री वर्षामान पुनले बताएका छन्। मंगलबार संसदको लेखा समितिमा बोल्दै मन्त्री पुनले भने,' गेजुवाले भर्खरै मन्त्रालयमा हामी भागेको छैनौं भनेर पत्र दिएको छ।' तर दुई साताअगाडि राष्ट्रियसभाको सार्वजनिक सरोकार समितिमा गेजुवा सम्पर्कमा नरहेको आवाज उठेको थियो।
उनले यो आयोजना इपिसिएफ मोडलबाट बनाउने विषयमा तयारी भएको पनि बताए। यो मोडलका विषयमा अर्थसँग सहमति मागिएको र अर्थबाट सहमति भने नआएको उनको भनाइ छ।
यो आयोजना बनाउन पेट्रोल, डिजल र हवाई इन्धनबाट सरकारले प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार शुल्क लिइरहेको छ। यस्तो शुल्कबाट हालसम्म ३० अर्ब रुपैयाँ जम्मा भएको छ। त्यो बापत हाल २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको जानकारी मन्त्री पुनले दिए।