काठमाडौँ महानगरको बजेट १५ अर्ब ५० करोड
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार विनियोजन बजेट प्रस्तुत गरेको छ ।
पाँचौं नगरसभामा बजेट प्रस्तुत गर्दै उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालु आर्थिक वर्षको तुलनामा यो बजेट १९ प्रतिशतले बढी रहेको बताइन् । चालु आर्थिक वर्षमा महानगरले १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बिनियोजन गरेको थियो ।
महानगरले पूर्वाधार विकासमा ५ अर्ब ९८ करोड ३० लाख २४ हजार बजेट बिनियोजन गरेको उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन् । यो रकम कुल बजेटको ३९ प्रतिशत रहेको छ । पूर्वाधार विकास शिर्षकमा उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु बजेटमा समेटिएका छन् ।
आर्थिक विकास शीर्षकमा ६९ करोड ७ लाख ७४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । सामाजिक विकासका शीर्षकमा ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट बिनियोजन गरेको छ । यो रकम कुल बजेटको २४ प्रतिशत हो ।
त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनमा ३९ करोड १५ लाख ४५ हजार बजेट बिनियोजन गरिएको छ । संथागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रमा ३ अर्ब ५९ करोड १८ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको २३ प्रतिशत हो । साथै जग्गा विकासका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७६६/०७७ का लागि आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कुल अनुमानित आम्दानीको ५२.५८ प्रतिशत रहेको छ ।
बाह्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार, काठमाडौँ महानगरपालिको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र काठमाडौँ महानगरपालिका अन्तर्गतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार समेत गरी कुल १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय हुने अनुमान गरेको छ ।