अमर मानव : कल्पना मात्र कि निकट यथार्थ ?

अमर मानव : कल्पना मात्र कि निकट यथार्थ ?

हिन्दुशास्त्रअनुसार मानव शरीर पञ्चतत्व जस्तो– तेज, आकाश, वायु, पृथ्वी र जलबाट बनेको हुन्छ। यसरी बनेको स्थूल शरीरभित्र आत्मा हुन्छ। मरेपछि आत्मा स्थूल शरीरबाट छुट्टिन्छ। आत्मा नाशवान हँुदैन, स्थुल शरीर मात्र नाशवान हुन्छ। आत्माको भविष्य कर्मसँग जोडिएको हुन्छ। असल कर्मले निश्चित थ्रेसहोल्ड नाघेपछि आत्मा भगवान्मा लीन हुन्छ भने यो थे्रसहोल्डमा नपुग्दासम्म विभिन्न प्राणीका रूपमा जन्म लिइरहन्छ। यसरी हिन्दु मान्यतामा आत्मा अमर र अजर हुन्छ भनिन्छ ।

विज्ञान भन्छ– जीवनको सबैभन्दा सानो एकाइ कोष हो। कोषभित्रको न्युक्लियसमै जीवको सबै चरित्र अन्तरनिहित हुन्छ। न्युक्लियसभित्र दुई पोयो डोरीका झंै लटारिएका त्यान्द्रा हुन्छन्। वायुमण्डलमा सबैभन्दा धेरै रहेका कार्बन, अक्सिजन, हाइड्रोजन र नाइट्रोजन तत्त्वको विभिन्न सम्मि श्रणबाट बनेका यी त्यान्द्रालाई डीएनए भनिन्छ। डीएनएको विभिन्न साइजको हिस्साले जीवको भौतिक शरीरको विभिन्न संरचना निर्माण गरेका हुन्छन्। एक चरित्र निर्देशित गर्ने डीएनएको हिस्सालाई जीन भनिन्छ। वैज्ञानिक जीव खालि यही जीनको प्रदर्शन मात्र हो, त्यसबाहेक केही होइन भन्छन् ।

वैज्ञानिक एवं नास्तिक रोबर्ट डाउकिन्स पुस्तक ‘गड डिलुजन’ मा त शरीरलाई खालि जीनको सवारी मात्र भन्छन्। जीव खालि जीनको दास मात्र हो, सबै चिजको सञ्चालक जीन हो। जीवको संरचनादेखि सबै गतिविधि जीनले नै निर्देशित गरिरहेको हुन्छ। सन्तान उत्पादनप्रति जीवलाई उत्प्रेरित गर्ने जीनको सबैभन्दा महत्त्वपूर्ण काम हो। यसबाट जीनले निरन्तरता पाउँछ। जीवले सन्तान उत्पादन गर्ने सामथ्र्य राख्दासम्म जीन मेटिँदैन। यस अर्थमा यो अमर हुन्छ। कस्तो संयोग हिन्दुशास्त्र आत्मा अमर हुन्छ भन्छ, वैज्ञानिक जीन अमर हुन्छ भन्छन् ।

संसारका सबै धर्मले भगवान् वा परम् शक्तिले यो संसारको सृष्टि गरेको मान्यता राख्छन्। भगवान्ले वर्तमान रूपमा जीवन र जगत्को सृष्टिले गरेको धार्मिक मान्यतालाई वैज्ञानिक डार्विनको जीव विकासको सिद्धान्तले उलटपुलट पारिदियो। डार्विनका अनुसार वर्तमान जीव सबै साधारण र एक कोषीय जीव विकासका क्रममा बनेका हुन्, नकि धार्मिक मान्यतामा जस्तो सुरुकै हालको रूपमा। उनका अनुसार यो विकास लाखौं वर्षको परिणति हो। कालखण्डको एक सानो समयमा अस्तित्वमा रहने मानवले यो महसुस गर्न सक्दैन। त्यसैकारण बाँदरबाट विकास हुँदै मानिस बनेको भए पनि हामी बाँदरबाट मानिस बनेको कहिल्यै देख्दैनौं ।

डार्विनका अनुसार प्रत्येक जीवमा आफूजस्तो सन्तान उत्पादन गर्न सक्ने क्षमता हुने र यसरी जन्मेको सन्तानमा देखा पर्ने विविधता जति वातावरणअनुकूल हुन्छ उति नै अस्तित्व र विकास सम्भव हुन्छ। जति धेरै सन्तान उत्पादन हुन्छ उति नै वातावरण अनुकूलताको सम्भावना बढ्छ। एकपटकमा असंख्य सन्तान उत्पादन गर्न सक्ने माछा धेरै अघिदेखि यो संसारमा छ। वातावरण प्रतिकूल विविधताको अवस्थामा जीवको अस्तित्व संकटमा पर्छ। मानवलगायतका हाल विद्यमान प्राणी वातावरण अनुकूलताका प्रतीक हुन्। अनुकूल हुन नसकेका भीमकाय डाइनोसरलगायतका प्राणी लोप भइसके ।

जसरी यसअघि धेरै प्रजातिका मानव पृथ्वीमा रहेकोमा हाल एक प्रजाति सेपियन्स मात्र बाँकी छ, त्यसरी नै यो प्रजातिको अस्तित्व पनि निर्विघ्न छैन। संसारमा यसअघि अरू मानव प्रजातिलगायत धेरै जीव लोप भइसकेका र हाल पनि यो क्रम जारी रहेको भन्दै प्रसिद्ध वैज्ञानिक स्टिफिन हकिन्स पृथ्वीबाट मानिसको अस्तित्व लोप हुने निश्चित रहेको बताउँछन्। उनी मानिसलाई लोप हुनबाट बचाउन अर्को ग्रहमा लैजानुपर्ने तर्क गर्छन्। मानव अस्तित्व रक्षाका लागि भन्दै प्राविधिज्ञ व्यापारी इलोन मस्क पृथ्वी र अन्य ग्रहबीचको यातायात सुलभ र सस्तो बनाउन लागिपरेका छन् ।

वैज्ञानिकको मानव अस्तित्वको संकटको भविष्यवाणी हिन्दुशास्त्रमा कल्पना गरिएको प्रलयसँग केही हदसम्म मिल्न जान्छ। अहिले चलिरहेको कलियुगमा प्रलय हुने र सो प्रलयमा मानिसलगायतका सबै जीवात्माको नाश हुन्छ भनिन्छ। यस्तो प्रलय समुद्रभित्र लुकेर बसेको घोडीले मुखबाट आगो निकालेर सबै पृथ्वीलाई दहन गरेपछि हुने विश्वास गरिन्छ। प्रलयपछि फेरि सृष्टिकर्ता भगवान् ब्रह्मा सक्रिय भएर पहिले जस्तै प्राणी सृष्टि गर्छन् भनिन्छ। र, पुनः चराचर जगत् चलायमान हुन्छ ।

आत्मा र जीनको अमरत्व र अवश्यम्भावी विनाश र लोपको धार्मिक र वैज्ञानिक व्याख्या र भविष्यवाणीको विपरीत अक्सफोर्ड विश्वविद्यालयका इतिहासकार हरारीले आफ्नो पछिल्लो पुस्तक ‘होमो डियुस’ मा वर्तमान मानव प्रजाति होमो सापियन्सको अमरत्वको चर्चा गरेका छन्। उनले अबको एक सय ५० वर्षमा मानवले अमरत्व प्राप्त गर्ने भविष्यवाणी गरेका छन्। त्यसो त अमरत्वको चर्चा सदावहार विषय हो। देवताले अमृत पान गरेर अमर भएको पुराणमा उल्लेख भएको छ ।

पाश्चात्य इतिहासमा पनि अमरत्वको अनुसन्धान र परीक्षण भइरहेको चर्चा पाइन्छ। आज पनि भौतिक वा अभौतिक उपायबाट अमरत्व प्राप्तिको खोज सबै ठाउँमा जारी नै छ। तर, हरारीको तर्क भने केही फरक छ। उनले मानव शरीरलाई एक मेसिनको संज्ञा दिएका छन्। जसरी पुरानो मोटरका बिग्रिएका पार्टपुर्जा फेरेर मोटरलाई फेरि नयाँ जस्तै बनाउन सकिन्छ त्यसरी नै मानवका बिग्रिएका अंगप्रत्यंग फेर्न सम्भव भएपछि मानव अमर हुने उनको तर्क छ। हरारीले खासगरी वैज्ञानिक जगत्का पछिल्ला केही घटनालाई यस्तो भविष्यवाणीको आधार बनाएका छन् ।

वैज्ञानिक संयोगवश पृथ्वीमा कोषको उत्पत्ति भएको र यही कोषबाट विभिन्न प्राणीको विकास भएको तर्क गर्दथे। उनीहरूसँग कोष कसरी उत्पन्न भयो भन्ने तर्क थिएन। हालै वैज्ञानिकले प्रारम्भिक तत्त्वबाट जीव उत्पादन गर्न सफलता पाएका छन्। यो अकार्बनिक तत्त्वबाट जीवन उत्पादन भएको घटनासँगै संयोगको कटुस फुटेको छ। अब जीवन रचना गर्ने क्षमता विज्ञानको हातमा आएको छ। आखिर गर्भमा रहेको एक कोषबाटै लाखौं–करोडांै कोष र अंगप्रत्यंग भएको बालकको जन्म भएको हुन्छ। यो रचना क्षमताको विकास हुँदै जाँदा प्राणीको जन्मका लागि प्राणीको आवश्यकता पर्ने अवस्था मेटिनेछ। र, प्राणीको सबै चरित्रको व्याख्या गर्न मानिस सफल हुनेछ ।

प्राणीका खराब चरित्र हटाउन सकिन्छ भने खराब चरित्रविनाका प्राणीको उत्पादन पनि सम्भव हुनेछ ।

हाल जीनको म्यापिङ गर्ने र त्यसका आधारमा खराब चरित्र सुधार गर्ने सीमित क्षमतालाई यो आविष्कारले पूर्णता दिनेछ। प्राणीका खराब चरित्र हटाउन सकिन्छ भने खराब चरित्रविनाका प्राणीको उत्पादन पनि सम्भव हुनेछ। यसबाट उत्पादनका क्रममा लेखिएका मृत्युका कारण हटाउन सफलता प्राप्त हुनेछ र अमरत्वतर्फ यो पहिलो खुट्किलो हुनेछ ।

यसरी उत्पत्ति बेलाका कमजोरी हटाइए पनि वातावरणले पनि मानिसका अंगप्रत्यंगमा असर गरेर काम नगर्ने बन्छन्। यो मृत्युको कारण त रहिरहन्छ। सन् १९९७ मा वैज्ञानिकले मुसाको ढाडमा कुरकुरे हाडको कोष राखेर कान उमार्ने सफलता पाए। यसरी वैज्ञानिकले कोष र न्युक्लियस र यसको कार्य सञ्चालनको विषयमा दक्षता हासिल गरेबाट अंगहरूको कृत्रिम उत्पादन सम्भव हुने देखिएको छ। अंग प्रतिस्थापनका लागि अर्को मानवको अंग हटाउनुपर्ने अवस्था नआउने भयो। मानवका सबै अंग उत्पादन भएर बजारमा उपलब्ध हुन थाल्यो भने अंग प्रतिस्थापन सहज हुने भयो। तर, यस्ता अंगलाई चेतनासँग जोड्न नसक्दासम्म वर्तमानमा जस्तै अंग प्रतिस्थापन जटिल र दुरुह गतिविधि भइरहन्छ, जुन सबै मानवको पहुँचमा हँुदैन। यसको समाधान पनि वैज्ञानिकले गरे। सन् २००१ मा वैज्ञानिकले कृत्रिम हात बनाए र यसलाई मानव चेतनासँग जोडेर मानवको विचारअनुसार चल्ने बनाउन सफलता पाए ।

मानिसको दिमागलाई प्रकृतिको सबैभन्दा जटिल उत्पादन भनिन्छ। सन् २००५ देखि सुरु भएको ब्रेन प्रोजेक्ट कम्युटरभित्र सम्पूर्ण रूपमा मानिसको दिमाग बनाउने अनुसन्धानमा केन्द्रित छ। यसमा संलग्न वैज्ञानिकका अनुसार आर्थिक अभाव भएन भने अबको दुई दशकभित्र कृत्रिम मानव दिमाग निर्माण हुनेछ। यी आविष्कारले मानव अंगको उत्पादन, प्रतिस्थापन र सम्पूर्णका लागि मार्गप्रशस्त गर्नेछ। पछिल्लो समयमा यस क्षेत्रमा हुने विकासले मोटरको जस्तै मानिसको थोत्रो अंग फेर्न सम्भव हुनेछ ।

यसरी जन्मिदा वा उत्पादन बेलाका र बाह्य वातावरणबाट उत्पन्न खराबी हटाउन गरिने अंगको सुलभ, सहज पहँुच र प्रतिस्थापनले मानिसको जीवन अमर हुने तर्क हरारीको छ। सबै घटना मानिसले भविष्यवाणी गरेजस्तो सीधा मार्गमा हिँड्दैनन्। त्यसकारण उनले भनेजस्तो हुन्छ भन्ने केही ग्यारेन्टी छैन। फेरि मानिसको प्रकृतिसँग खेलिने यस्ता गतिविधिले प्रशस्त नैतिक र धार्मिक बहस जन्माउनेछ। सरकारले यस्ता नैतिक र धार्मिक मान्यतालाई उलटपुलट गर्ने विषयलाई निषेध गर्न पनि सक्छन्। तर विगत दुई सय वर्षको विज्ञान विकास हेर्दा धार्मिक र राजनीतिक मानिसले नचाहँदा–नचाहँदै पनि विज्ञानको विजय भएको छ ।

विज्ञान भनेको नियन्त्रण गर्ने औजार हो। नियन्त्रणबाट शक्ति प्राप्त हुन्छ। शक्तिप्रति सबै नतमस्तक हुन्छन्। यी आविष्कारबाट प्राप्त हुने शक्तिप्रति धार्मिक र राजनीतिमा मानिस आकर्षित भए भने यो असम्भव छैन। फेरि राज्य–राज्यबीचको प्रतिस्पर्धाले पनि यसलाई सहज बनाइदिन्छ। संसारको नैतिक प्रहरी त आखिर केही छैन र यस्तो प्रहरीलाई मान्न राज्य तयार पनि छैन ।

नेपालीमा त यो प्रविधि कहिले आउला ? विकसित भएपछि ढिलोचाँडो आउनचाहिँ आउने नै छ। त्यसैले मेरो पनाति अमर रहोस्, यही मेरो कामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.