भोज खाएका २४ बिरामी
कुश्मा : पर्वतको कुश्मा नगरपालिका ७ मा खरेहामा विवाहको भोज खाएका २४ जना बिरामी परेका छन्। स्थानीय हेम शर्माको घरमा बिहे भोज खाएका २४ जना गाउँले एकै चोटी बिरामी परेका हुन्। छोराको बिहे भएको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा गाउँलेले काँक्राको अचार र आलु तथा करेलाको तरकारी खाएका थिए।
स्थानीय मिठु गिरीका अनुसार काँक्राको अचार खाएका सबै बिरामी परेका हुन्। अचार खाएर बिरामी परेका २४ जनाको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचार भएको वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए। केही पोखरा समेत गएका छन्। बिरामी हुनेमा धेरै महिला छन्। सोह्रजना महिला र बाँकी पुरुष रहेको उनले बताए।
गएको मंगलबार विवाहको वार्षिकोत्सव (जिम्ति मेट्न) घरमा जम्मा भएका आफन्तले खाएको अचारमा संक्रमण रहेको हुनसक्ने स्थानीयको अनुमान छ।‘काक्राको अचार खाएका मात्र बिरामी परेका छन्,’ अन्य चीज खाएकालाई भने कुनै असर नदेखिएको भएपछि अन्य चीज खाएकालाई भने कुनै असर नदेखिएको भएपछि काक्रामा बिरामी हुन सक्ने वडाअध्यक्ष पौडेलेले बताए। ‘बजारबाट खरिद गरिएको काँक्रामा विषादी हालिएको अनुमान गरिएको छ’, उनले भने।
भोज खाएका उनीहरु सोहि दिन बेलुकादेखि नै बिरामी पर्न थजालेका थिए। झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने र केही बेहोससम्म भएपछि उनीहरुको अहिले उपचार भइरहेको छ। भोजमा प्रयोग भएको काक्रा म्याग्दीको बेनीबाट खरिद गरेर ल्याइएको थियो।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले पछिल्लो समय तरकारी अत्याधिक विषादी प्रयोग गर्नेको संख्या बढिरहेको बताए। उनले कस्तो विषादी प्रयोग गरिएको भन्ने विषयमा ल्याव टेस्ट विना भने भन्न नसकिने बताए।
यता पर्वत जिल्ला अस्पतालका डा. विष्णु भण्डारीले फुड पोइजनका कारण विरामी भएको बताए। बिरामीमध्ये केहिको रिर्पोट थप अनुसन्धानका लागि केन्द्रीय रोग निवारण केन्द्रमा पठाएको डा. भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !