अदुवाको मूल्यले राहत

अदुवाको मूल्यले राहत

इलाम : यस वर्ष सहज रूपमा नेपाली अदुवाले भारतमा प्रवेश पाएको छ। नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको निर्यात सहज भएको हो भने देशभरका अदुवा कृषकले अघिल्लो वर्षभन्दा राम्रो मूल्य पाएका छन्।

यसअघि कहिले विषादी प्रयोग गरेको, कहिले चीनमा उत्पादन भएको अदुवा नेपाल हुँुदै भारत पुर्‍याउने गरेको आरोप लगाउँदै भारतले अदुवा निर्यातमा रोक लगाउने गरेको थियो। अदुवा उत्पादक तथा व्यवसायी संघका महासचिव हेमन्त बोहोराका अनुसार यस वर्ष मूल्य पनि गत वर्षभन्दा उच्च छ। उनका अनुसार अहिले धोएको अदुवा प्रतिकिलो १३२ रुपैयाँ र नधोएको अदुवा १२० रुपयाँमा बिक्री भइरहेको छ।

नेपालमै अदुवा धुन थालेपछि व्यपारीले पालो पर्खनु पर्दा बढी क्षति व्यहोर्नु परेको फिक्कलका अदुवा व्यपारी खड्ग बरालले बताए। उनले भने, ‘तीन दिनसम्म अदुवा धुन पालो पर्खनुपर्दा अदुवा सड्नेलगायत समस्या छ।’

किसानले यसपटक अदुवाको उचित भाउ पाएको उनले बताए। सूर्योदय नगरपालिका १० का राजु प्रधानका अनुसार यस वर्ष यसअघिको तुलनामा राम्रो मूल्य पाएपछि किसान उत्साहित छन्। बीउको दाम समेत नउठ्ने समस्या भोगेका राजुजस्तै किसानले अदुवाको मूल्य घटबढलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए। जनएकता कृषि सहकारी संस्थाकी अध्यक्ष हेममाया प्रधानले भनिन्, ‘सहकारीलाई अदुवा धुने, पखाल्ने, ग्रेडिङ गर्ने काममा सहयोग गरे अहिले बिचौलीयाले पाइरहेको रकमसमेत किसानको हातमा आउने थियो।’ सरकारले सहकारी र समुदायलाई परिचालन गर्न पहल नगरेको उनको आरोप छ। उनले भनिन्, ‘यस वर्षको मूल्यले भने किसानमा उत्साह थपेको छ।’

धोएको अदुवा प्रतिकिलो १३२ रुपैयाँ र नधोएको अदुवा १२० रुपयाँमा बिक्री भएको छ।

संघका महासचिव बोहोराले भारतबाहेक जापानलगायत देशबाट समेत नेपालको अदुवा खरिदका लागि इच्छा देखाइएको बताए। उनका अनुसार निर्यातको साधन महँगो पर्ने भएकाले केही अलमल भएको छ। केही समयअघि नेपालको अदुवा र प्रसोधन संयन्त्र हेर्न इलाम र झापाको भ्रमण गरेका व्यपारीको समूहले पनि नेपालको अदुवा आफ्नो देशमा लैजान पहल गरिरहेको उनले बताए।

इलाम पाँचथरलगायत जिल्लाबाट अधिकांश अदुवा झापाको धुलावारी हुँदै भारत निकासी हुने गरेको छ। यसअघि भारतको नक्सलबाढीमा मात्रै अदुवा धुने पखाल्ने काम हुने गरेको थियो। भारतले माटोरहित अदुवामात्र निर्यात गर्न दिने भएपछि धुलावारीमा अदुवा धुने काम सुरु भएको हो। इलामका १२ हजार ९३२ परिवार किसानले अदुवा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। इलाम, पाँचथर र झापामा अदुवाको उत्पादन बढ्दो रूपमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ।

इलाममा ३२३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। त्यस्तै पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ। पाँचथरमा २१ हजार १ सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ। झापामा ३४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन ४ हजार ५८३ टन छ।

नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ। चीन र भारत पछि विश्वका अदुवा उत्पादक देशहरुमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ। नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारत निकासी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.