नुवाकोटको सूर्यगढीमा कुकुर आतंक, साइत घाइते
नुवाकोट : नुवाकोटको उत्तरी भेगमा रहेको सूर्यगढीमा दुई सातादेखि भुस्याहा कुकुरको आतंकले स्थानीयवासी त्रसित भएका छन्। भुस्याहा कुकुरले स्थानीय तथा पशुचौपायालाई टोक्न थालेपछि सर्वसाधारण आतंकित भएका छन्।
कुकुरको टोकाइबाट स्थानीय सातजना घाइते भएको स्थानीय युवा सामाजिक कार्यकर्ता तथा भैरवी एकेडेमीका प्रिन्सिपल राममणी अधिकारीले जानकारी दिए। कुकुरले सर्वसाधारण तथा स्थानीयका पशुचौपायालाई टोकेपछि सुरक्षाका लागि प्रहरीलाई गुहारिएको अधिकारीले बताए। उनका अनुसार भुस्याहा कुकुरले शुक्रबारसम्म स्थानीय ५० वर्षीया गोमा विक, ४० वर्षीय कृष्णमान तामाङ, दिलबहादुर तामाङकी १२ वर्षीया छोरीसहित सातजनालाई टोकेर गम्भीर बनाएको छ।
घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ। पाँच कक्षामा पढ्दै गरेकी दिलबहादुर तामाङकी छोरीको भने नुवाकोटमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको स्थानीय होमप्रसाद अधिकारीले जानकारी दिए।
मानिस तथा पशुचौपायालाई आक्रमण गरेर टोक्ने एउटा कुकुरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले शुक्रबार अपरान्ह मारेको छ। अन्य भुस्याहा कुकुर पनि खोजेर मार्नुपर्ने पीडित घाइते गोमा विकलगायतले माग गरेका छन्।
खेतबारी तथा बजार जाँदासमेत कुकुरले आक्रमण गर्न थालेपछि स्थानीयले कुकुर नियन्त्रण अभियान सुरु गरेका छन्।