मेरो अंग्रेजी कस्तो छ ?

मेरो अंग्रेजी कस्तो छ ?

लोभलाग्दो प्रगतिपथमा, बेइजिङको अत्यासलाग्दो ट्राफिक। निर्धारित ४० मिनेटको यात्रा तर लाग्यो १२० मिनेट। तियानमेन स्क्वायरको फन्कोसँगै संग्रहालय अवलोकन। पानीको घुट्की लगाउँदै रमाइलो दृश्य, भीड पन्छाउँदै इतिहास नियाल्दै अघि बढ्यौं।

सबै थकित, तस्बिर लिँदासमेत अनुहार मलिन। उत्साह त फरफराइरहेको गाइडको झन्डामा मात्र पो ! हाम्रो जत्था त्यसैलाई पछ्याउँदै।

चीनका १४ मध्ये सात छिमेकबाट १४ जना थियौं, हामी। कोही भीडमा छुट्ला भनेर झन्डा आफ्नो समूह बाँध्ने एक प्रतीक रहेछ। राष्ट्रको पनि त्यस्तै प्रतीक हुन्छ। त्यो रातो ‘ड्रागन’ झन्डा हेरेर हामी एक हुँदै बाहिर निस्कियौं। गत चैतमा गरेको बेइजिङ यात्राको चौथो दिन।

सात फरक मुलुकका भए पनि हामी निकै नगिच भइसकेका थियौं। सामान्य जोक नै चल्नेसम्मको मित्रता।

हाम्रो केही गम्भीर अनि केही उडन्ते गफकै बीचमा विद्यार्थीको एक समूह आइपुग्यो। काटेको कुचोझैं समान थिए उनीहरू। एकै युनिफर्ममा निकै उत्साहित लाग्ने त्यो समूह देख्दा आफ्नो स्कुले जीवन आँखाअगाडि छचल्किन थाल्यो। गफ त्यतै मोडियो।

यत्तिकैमा राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोखरेलसँग जिज्ञासा राखेँ, ‘सायद यिनीहरूको पक्कै शैक्षिक भ्रमण होला। अब यिनीहरूसँगै गफिऔं, अंग्रेजी बुझ्लान् कि ? ’

उनले उत्तर फर्काइहाले, ‘पक्कै बुझ्लान्, शैक्षिक भ्रमण नै हो। अंग्रेजीको भूत यहाँ निकै बढेकाले युवा पुस्ता राम्रै बोल्लान् ?       ’

यस्तै गफिँदै गर्दा श्रीलंकाकी साथी (ढाकामा भएको भेटको १५ वर्षपछि चीनमा भेटिएकी) सानिकाले थपिन्, ‘हामीकहाँ घुम्न आउने चिनियाँ युवाहरू निकै राम्रो अंग्रेजी बोल्छन्। पक्कै यो पुस्तामा अंग्रेजीको हुटहुटी होला ?        ’

यस्तै गफिँदै थियौं, एक वृद्ध त्यही हुलमा आएर चुरोट सल्काए। सबै विद्यार्थीले सायद उनीहरूको भाषामा गाली गरे। उनी त्यहाँबाट चुपचाप निस्के। तर पनि विद्यार्थीले नाक खुम्च्याउँदै ती वृद्धलाई धारे हात लगाए।

त्यो सब हेरेर स्कुले जीवनमा गरिएको शैक्षिक भ्रमण स्मरण गर्दै कतै हराएझैं भइयो।

एक हुल विद्यार्थीको नेतृत्व गर्दै भर्खर जुँगाको रेखी देखिने र धोत्रो स्वर भएका युवाले यसो हातले पाखुरामा कोट्याउँदै भने, ‘एक्सक्युज मी, क्यान यु गिभ अस फ्यु मिनट्स ?       ’

पहिले त के भन्न खोजेको हो, अलमलिएँ। अनि भनेँ, ‘एस ह्वाई नट।’

उसले भन्यो— हामी नजिकैको त्याङ्जिन प्रोभिन्सबाट शैक्षिक भ्रमणमा आएका। अरू साथीलाई पर्खंदा ४० मिनेटजति खाली हुने भएकाले यो समय अंग्रेजी अभ्यास गरौं भनेर यहाँहरूको साथ खोजेको।

निकै सभ्य ढंगले प्रस्तुत भए, उनीहरू। अंग्रेजीमोह कस्तोसम्म रहेछ भने आपसमा पनि उनीहरू चिनियाँ भाषामा होइन, अंग्रेजीमै नै गफिए।

पछिल्लो पुस्तामा विश्व जोड्ने भाषाको मोह देखेर म छक्क परेँ।

हु नाम गरेका ती युवा भन्दै थिए— घरमा बुवाआमालाई अंग्रेजी आउँदैन। त्यसैले उहाँहरूले राम्रो अवसर पाउनु भएन। अब हामी अवसरकै लागि पनि अंग्रेजी सिक्न जरुरी ठान्छौं।

स्कुले जीवनको पूर्वाद्र्धमा रहेका उनले गम्भीर कुरा गरे— हामीले लाख करोडमा होइन, अर्बको संख्याबीच प्रतिस्पर्धा गर्नु छ। त्यसैले चानचुने पढाइ÷मेहनतले राम्रो अवसर पाइँदैन।

मुलुकभित्र मात्र होइन, बाहिर जान पनि अंग्रेजी भाषा सिक्ने गरेको र विद्यालयमा पनि यसलाई महत्व दिने गरेको उनले सुनाए। ‘हामी अधिकांश युवा पुस्ता अंग्रेजी सिक्छौं। फुर्सदमा नयाँ शब्दको खोजी गर्छाैं, बोल्ने अभ्यास गर्छौं’, हुले भने, ‘यो हाम्रो सिकाइको तरिका हो।’

यत्तिकैमा उनकी शिक्षक आइन्। हुलाई बोलाएर चिनियाँ भाषामै भनिन्, ‘हतार भयो। अब जाऔं। तिमीहरूले कस्तो अनुभव गर्‍यौ ?        ’ तिनै युवाले उल्था गर्दै हामीलाई सुनाए।

हुले भनिहाले, ‘सरकारले विश्वजगत्मा के भन्छ, थाहा छैन। तर यहाँ अंग्रेजी भाषामा निकै जोड दिइएको छ।’

ती शिक्षक हामीलाई धन्यवाद दिँदै गइन्। फेरि अर्की शिक्षिका आइन् र अंग्रेजीमा भनिन्, ‘यहाँहरूको अनुभव र कुराकानीको भिडियोका साथै तस्बिर लिएका छौं। यसलाई हामी विद्यालयमा राख्छांै। हाम्रा विद्यार्थीको हौसला बढाइदिनु भएकोमा तपाईंहरूलाई धन्यवाद। समयले जुराए फेरि भेटांैला।’

अक्सफोर्डबाट अंग्रेजी साहित्यमै स्नातकोत्तर ती शिक्षकको लवज ब्रिटिसझैं थियो। उनका शब्द थिए, ‘यहाँहरू सबै छिमेकबाटै हुनुहुँदो रहेछ। म नेपाल र        श्रीलंका पुगेको छु। अन्यत्र गएको छैन। सायद नेपाल आउँछु। मलाई नेपाल आउन मन पर्छ। किनकि म क्वाङ्चाओ (गोन्जाओ)को हो। त्यहाँबाट सीधा काठमाडौं उडान पनि।’

उनले आफू विद्यालयको अंग्रेजी शिक्षक भएर पाँच वर्षका लागि त्याङ्जिङ आएको बताइन्। भनिन्, ‘तर, यहाँ धेरै समय सरकारी निकायको अनुवाद गर्दैमा बित्छ। धेरै विद्यार्थीलाई अंग्रेजीमा राम्रो बनाउन सकियो भने आगामी पुस्ताले समस्या बेहोर्न नपर्ला कि !’

नेपाल,        श्रीलंका, पाकिस्तान, सिंगापुर, फिलिपिन्स, मंगोलिया र म्यानमारका दुई÷दुईजना पत्रकार थियौं। म्यानमारका दुवै पत्रकार अघिल्लो पुस्ताकै भएर होला, खासै अंग्रेजी बोल्न सक्दैनथे। ती चिनियाँ विद्यार्थीको हुल गएपछि हामी गफिन थाल्यौं।

चीन सरकारले विश्व जगत्मा के भन्छ, थाहा छैन। तर यहाँ अंग्रेजी भाषामा निकै जोड दिइएको छ।

यस्तै मेहनत र हुटहुटीको कारणले चीन निकै अघि बढेको हो। सबैमा उत्तिकै उत्साह छ। उनीहरू आफ्नो भाषा विश्वभर फैलाउँदै अन्तर्राष्ट्रिय भाषाको पनि ज्ञान आर्जन गर्दै छन्।

मलाई लाग्यो, यो तवरले यिनीहरू विश्वशक्ति त बन्लान् केही दशकपछि। तर विश्वको सफ्ट पावरका रूपमा रहेको अंग्रेजीबाट मुक्त हुन नसकेकाले त्यसलाई उछिन्न भने निकै पर्खनुपर्ला।

चीनमा अंग्रेजीको त्यो भूत देखेपछि मैले नेपाल र चीनबीच भएका कैयन् गम्भीर सम्झौता सम्झेँ। चीन र नेपालबीच २०७४ वैैशाख २९ गते भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)सम्बन्धी सम्झौताको अन्तिम लाइन रोचक छ। त्यहाँ लेखिएको छ, ‘प्रत्येक भाषाका पाठ समान रूपमा मान्य हुनेछन्। समझदारी पत्रको व्याख्यामा कुनै भिन्नता भएमा अंग्रेजी पाठ मान्य हुनेछ।’

०००

हामी बीआरआईसम्बन्धी कार्यक्रममा नै त्यहाँको विदेश मन्त्रालयको पाहुनाका रूपमा गएका थियौं। नेपाल र चीनको समझदारीपत्र अध्ययन गरेर गएकै कारण त्यो लाइनले मलाई छोएको थियो। छुनुको कारण थियो, उनीहरू भाषण गर्दा होस् या दुईपक्षीय छलफल, आफ्नो भाषामा बोल्छन् र दोभाषेले उल्था गर्छन्। तर यस्ता सम्झौतामा अंग्रेजीलाई सजिलै स्वीकार मात्र होइन, आधिकारिक बनाउँदा रहेछन्।

चीनले चाहेर पनि अंग्रेजीलाई बेवास्ता गर्न नसक्ने रहेछ।

त्यहाँका विद्यार्थीमा देखिएको अंग्रेजीमोह र अवसर पाउने धारणाले चीन पनि पश्चिमा संस्कृति र लवज स्वीकार्न बाध्य छ। पूर्वीय सभ्यताको विषय उठाउँदै आएको भए पनि त्यसमा उनीहरूले सफलता चुमेको पक्कै हाम्रा पुस्ताले हेर्न पाउने अवस्था छैन। त्यो लक्षणको रूपमा समेत चिनियाँ युवाहरूको यसप्रकारको हुटहुटीले प्रस्ट पार्छ। सहकार्यका लागि अर्को भाषाको उपयोग गर्नुपर्नेबित्तिकै त्यही भाषाको हावी रहिरहने हुनाले यसमा परिवर्तन ल्याउन निकै पुस्ता पर्खनुपर्ने हुन सक्छ।

हुन त चीनले पश्चिमा संस्कृतिलाई आफ्नो संस्कृतिमा ढाल्ने काम पनि गरिरहेको छ। तर पनि यसको दायरा कति र कसरी भन्ने विस्मयवाचक र प्रश्नवाचक चिह्न छँदै छ।

रोबोटबाट अंग्रेजी

विभिन्न एप र अनलाइनमार्फत अंग्रेजी सिकिरहेका चिनियाँ भेट्न सकिन्छ। योसँगै साधारण बोलीचालीको अंग्रेजी रोबोटबाट पनि सिकाउन थालिएको छ। जापानीहरूले यसो गरेको पढिरहँदा चीनमा पनि यस्तो शैली हेर्न पाइयो।

केहीअघि सन् २००९ मा बेइजिङ ओर्लंदा त्यहाँ चिनियाँहरूलाई ठाउँ सोध्दा पनि अलमलिएका थिए। होटलको कार्ड बिर्संदा ट्याक्सीवालाले होटलको नाम नबुझ्दा दुई पूर्वमन्त्रीसहित हामी दुई चक्कर घुमेर एक पसलेको सहायताले होटल पुगेको १० वर्ष नि पुगेको छैन।

अहिले त्यो अवस्था आउँदैन। युवा पुस्तालाई बाटोमा जति पनि अंग्रेजीमा सोध्न सकिन्छ। उनीहरू राम्रो अंग्रेजी बोल्छन्। केही सोध्दा फुर्सद÷बेफुर्सद सोध्दै पाँच मिनेट गफिऔंसमेत भन्दै अन्तिममा सोध्ने गर्दा रहेछन्, ‘मेरो अंग्रेजी कस्तो छ ? ’

अमेरिकाले त्यसै विश्वमा आफ्नो प्रभुत्व राखेको होइन। भाषा सफ्ट पावर हो, विश्व नेतृत्वका लागि। हुन पनि रोबोट, विभिन्न एपमार्फत समेत भाषा सिक्दै गएको देख्दा चिनियाँ विश्वको नम्बर एक त कुनै दिन नहोला भन्न सकिँदैन तर भाषाको पहँच सहज छैन। अंग्रेजीबाट बाहिर निस्कने अवस्था नै छैन।

हामीले रोबोटलाई उद्योगमा काम लगाउने वा काम गर्ने यन्त्रका रूपमा लिएका थियौं। त्यहाँ त अंग्रेजी सिकाउन र सपिङ मलमा सामान सर्भ गर्ने नै देख्दा त्यो पत्याउन सकियो। स्कुले बालबालिकालाई अंग्रेजी सिक्नु पर्ने दबाब बढेपछि त्यस्ता शिक्षक खोजी गर्नभन्दा रोबोट उपयोग गरेका हुन्। अंग्रेजी बोल्नल र लेख्ननमा स्वभावैले कमजोर चिनियाँलाई त्यसको ज्ञान किन भन्ने प्रश्न पनि उत्तिकै छ। हुन त, चीनमा रोबोट चिकित्सक भएको पनि सुनाइयो, जुन समाचारमा पनि पढिएको थियो। यो अंग्रेजी भाषाको विश्व साम्राज्य बढ्दै गएको पछिल्लो उदाहरण हो।

हुन त, अंग्रेजी नबोल्ने युरोपेली मुलुक, अंग्रेज र अंग्रेजीलाई निकै तल राख्थे। उनीहरू त्यही भाषा सिक्न उद्यत रहेको र अमेरिकीको साझेदार बन्दै उसकै कूटनीतिमा अभ्यस्त हुनु परेको छ। सायद चीन पनि त्यही पथमा नपुग्ला भन्न सकिन्न। जुन होड चीनमा देखिएको छ। विज्ञान र प्रविधिका लागि विश्वमा अंग्रेजी नै निर्विकल्प र सर्वसम्मत बनेको छ।

अर्थशास्त्र र अन्तर्राष्ट्रिय व्यापारमा यो भाषाको विकल्प के त ?        मातृभाषा नै अंग्रेजी हुनेले लिएको फाइदा अन्य भाषा बोल्नेलाई त्यति सहज छैन। भनिन्छ, अर्को भाषा नसिकेका अंग्रेजहरूको सोच्ने, बुझ्ने दृष्टिकोण र संस्कृति नै एकांगी छ। जसको मातृभाषा अंग्रेजी छैन, तिनले त अंग्रेजी सिक्छन् र उनीहरूलाई कम्तीमा दुई भाषाको ज्ञान हुँदा बाहिर विश्वमा थप बलिया हुन्छन्। बढी भाषा जान्नेहरू लचिलो र सहिष्णु हुने वैज्ञानिक धारणा रहेको हाम्रो टिममा छलफल भयो।

 चीनको चमत्कार

चीन आज विश्वको एक नम्बर अर्थतन्त्र हुँदै एसियामा विश्वको शक्ति फर्काउने दौडमा छ। एसियामा फर्काउने भने पनि उसले नै त्यो अभ्यास गर्ने भनिएको हो। माओत्सेतुङको नेतृत्व र देङ सियाओ पिङको अर्थनीतिले अघि बढेको तत्कालीन चीनले आरम्भमा विश्वसँग आर्थिक प्रतिस्पर्धाका लागि एक लाख ३५ हजार चिनियाँलाई अंग्रेजी भाषा सिक्न विभिन्न मुलुक पठाएको सुनाइन्छ। अनि अंग्रेजले भनेको स्मरण हुन्छ, ७० को दशकमा अंग्रेजीमा राम्रोसँग ट्याकल गर्न नसकेको थाहा पाउनेबित्तिकै तत्कालीन राजा वीरेन्द्रले हाम्रा कूटनीतिज्ञलाई अक्सफोर्डमा पढ्न पठाएका थिए।

दक्षतासँगै अवसरका लागि पनि अंग्रेजी जान्नैपर्ने हुन्छ। बच्चाहरूले आमाबाबुसँग ठेट नेपालीमा कुरा गरे भने ‘पाखे’सम्मको संज्ञा पाउने अवस्था समाजमा सिर्जना भएको छ। आधा अंग्रेजी आधा नेपाली बोलेमा विद्वान् भएको भानसमेत पर्ने गरेको नेपाली परिवेशमा चीनले आफ्नै भाषामार्फत विकास गरेको होइन। आन्तरिक मेहनतले मात्र विकास हुने होइन, बाह्य फ्याक्टर जोडिएको हुन्छ। त्यसमा चीनले समयमा ध्यान दिएको पुष्टि हुन्छ।

पहिलो हुने दौडमा रहेको चीनका नेता मुलुकप्रति प्रतिबद्ध रहेकाले नै उन्नति भएको सुनाउँछन्। दलको प्रतिस्पर्धा हामीलाई थाहा छैन। हामी विस्तारै खुला हुँदै गएका छौं। विकास भइरहेको छ। छिट्टै अमेरिकालाई उछिन्ने लक्ष्य छ। अन्य विषय हाम्रा नेताले सोचेकै छैनन्— एक कूटनीतिज्ञले अकूटनीति शैलीमा भने। उनीहरूले जनतामा यस्तै छाप छोडेका छन्। उनीहरूको सोच सुन्दा लाग्यो, उनीहरूको प्रतिस्पर्धा अमेरिकासँग देखिए त्यस्तै बन्न खोजेको र त्यहाँ पूर्वीय सभ्यताको पहुँच पुर्‍याउन खोजेको देखिन्छ। चिनियाँहरूको अहिलेकै मेहनत र सोचले मात्र अमेरिका भेट्न सहज त छैन। चिनियाँहरूले भन्ने गरेको युक्ति छ, ‘चीनमा असम्भव केही छैन।’

 संस्कृति संरक्षक

चीनले आफ्नो विगतलाई जोगाएर राखेको छ। संग्रहालयमा त्यसको व्यवस्थापन गरेको देख्दा निकै मन छुन्छ। चार हजार वर्षदेखिका अभिलेख र सांस्कृतिक वस्तु सुरक्षित राखेको सम्झँदा हाम्रो कूटनीतिक निकायले पचास वर्षअघिको डकुमेन्ट नभएर भारतीयसँग मागेको स्मरण गर्दै समाचार लेखेको सम्झनुको विकल्प थिएन। अनि सुब्बा हुँदा फाइलिङ÷लाइब्रेरी व्यवस्थाको प्रशिक्षण लिएका व्यक्ति परराष्ट्रको नेतृत्वमा पुग्दा पनि नेपालको गौरवशाली इतिहासलाई व्यवस्थित नगर्नुले हामी कता गइरहेको पनि स्मरण हुन्छ।

चीनमा २२ सय वर्ष पुराना दरबार, पर्खाल, कलाकृतिहरू पूरै सुरक्षित रूपमा भेटिन्छन्। आधुनिकताको विकाससँगै सांस्कृतिक र ऐतिहासिक सम्पदाको महत्व बुझ्न आवश्यक छ। मानिसले पनि आफू कहाँ पुगेको छु भन्दा पनि कुन अवस्थाबाट आए, त्यो धरातल नबिर्संदा सफलता चुम्ने हाम्रो किंवदन्ती छ। सफलता भनेको शक्तिमा रहुन्जेलको स्मरण होइन, मृत्युपर्यन्तको स्मरणलाई मानिन्छ।

बेइजिङबाट अर्को सहर चुङ्छिङ पुग्दा सबै क्षेत्रमा उस्तै विकास गरेको अनुभव गर्न सकिन्छ। चीनमा प्रान्तहरूबीच विकास र प्रगतिको तीव्र होड देखिन्छ। सबै स्वशासित क्षेत्र पुगे पनि प्रान्तमा पुगिएको छैन। ती गाउँ र सहरहरू नियाल्दा चीन विकासमा निकै अग्रसर रहेको पाइन्छ। हुन त चीनको बसोबास जति व्यवस्थित छ, खेतीपाती पनि त्यत्तिकै। चीनले आफ्नो भूभागमा राम्रो उब्जनी नहुने निष्कर्षमा पुगेकाले निकै उब्जाउ हुने अफ्रिकी मुलुकका जमिन भाडामा लिएर खेती गरेर, उन्नत जातको उब्जनी गरेर एक अर्ब ४० करोड जनसंख्यालाई खाद्यान्न उपलब्ध गराएको छ।

सात दशक अघिसम्म पनि चीन विकासको चरणमा प्रवेश गर्दै मात्र थियो। मरुभूमि र विकट भूगोल छ चीनमा। तर चीनको विकास हेर्दा सबै छिचोलेझंै लाग्छ। चीनले विकासमा बाहिरी भूमिभन्दा जमिनमुनिको भाग उपयोग गरेको छ। आर्ट गरेर भित्ता सिँगारेझैं सडकका कुनै पनि स्थान खाली राखेको छैन। कतै फूल त कतै रूख बोटविरुवा रोपेर ढपक्क पारिएको छ। चीनमा असम्भव भन्ने नै छैन भन्दै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत अजय अलौकिक सुनाउँदै थिए, ‘यहाँ यस्तो भए हुन्थ्यो भनेर सोचिरहँदा, त्यो कुनै अर्को ठाउँमा देखिसकेका हुन्थ्यौं। कल्पना गरिएका कुरा नै प्रत्यक्ष रूपमा अनुभूत गर्न सकिन्छ।’

अनुशासनको जगमा अडिएको घना आवादी भएको देश चीन चुस्त व्यवस्थापनले नै यो स्थानमा पुगेको निष्कर्ष अलौकिकको छ। हुन पनि चीन प्रगतिको लामो यात्रामा लागेको छ। उसले अघि बढाएको बीआरआई पनि यात्राका अनेकन साधनमध्ये एक हो भन्दै हामीलाई अलौकिक सुनाउँदै थिए।

पुरानै आँखामा

दुई ठूला मुलुकको बीचमा रहेको पुरानो ‘भ्याल्यु’ बोकेको मुलुकका नागरिक हौं। हाम्रा पुर्खाले तरक्की गर्दा पश्चिमाहरू ओडारमै बस्थे सायद। पूर्वीय दर्शनमा हामी धनी र देवभूमिका रूपमा थियौं। प्राकृतिक स्रोतसाधनले पनि हामी कमजोर छैनांै। सानो मुलुक तर फरक हावापानी। हिमालको चिसो, पहाडको शीतलता र तराईको गर्मीको सम्मि श्रण विरलै मुलुकमा होला। अनि हाम्रो भूराजनीतिक महत्व पनि उत्तिकै छ। तर, किन हामी अघि बढ्न सकेका छैनौं। चिनियाँहरू हामीलाई त्यही भ्रमणमा पनि प्रश्न गर्दै थिए— नेपाल केकेमा अल्झियो। मुलुकमा राजनीति गर्ने धेरै भए। जनता अलमलमा परे, मुलुक अघि बढेन भन्दा हुन्छ ?       

ती चिनियाँको शब्दले घिच्रोमै समाएझंै भयो। म उनलाई राणाकालीन १०४ वर्षे निरंकुशता, त्यसपछिको राजनीतिक अस्थिरताका बीच पञ्चायतकालमा देखिएको अलमल र व्यक्तित्व टकराव भन्दै पन्छिएँ। ती नेपाल आएर पटकपटक अध्ययन गरेका विद्यावारिधिवाला न परे, अनि झन् कस्न थाले— शान्ति प्रक्रियामा गएर गणतन्त्र आएको पनि यत्रो समय भयो, खै त लक्षण ? फेरि भनेँ, ‘हुँदै छ, प्रक्रिया अघि बढ्दै छ त।’

उनले भने, ‘लक्षण राम्रो छैन। नेता इमानदार छैनन्, बोलीमा स्थिरता छैन। संस्थागत कोही पनि छैनन्। व्यक्तिवादी भावले विकास सम्भव हुन्न।’

मलाई उनले खर्लप्पै पारे।

अनि मैले भनेँ, ‘जे विषयमा पनि राजनीति हावी भएको हामी राजनीतिक रूपमा धेरै सचेत भएर हो कि ?        ’

छिमेकीको चाल बुझेर अघि बढ्न सक्ने नेतृत्वको अभाव नेपालमा रहेको उनले खुलाए। नेपालको कूटनीति भारतमा बढी अल्झन बाध्य छ तर त्योसँगै अर्को छिमेकी रहेको विषय न राजनीतिज्ञले बुझे, न त कूटनीतिज्ञले— उनले थपे। हिमाली पर्खाल र तिब्बतको विकट यातायातलाई मात्र सम्झेर हुन्न अब। प्रविधि कहाँ पुगिसक्यो ?        उनले सुनाए।

चीन अब पहिलेको जस्तो छैन। सुनेर मात्र बस्दैन। प्रतिक्रियामा उत्रन्छ र छिमेकमा अन्यले राजनीति गरे सीधा राजनीति पनि प्रवेश गर्ने विषय सुनाएका प्राध्यापकले क्वोट नगर्नू भनेकाले यहाँ नाम उल्लेख गर्न सकिएन। उनले त्यसो भनेको केही महिनामा चिनियाँ राजदूत होउ याङ्छीले पत्रकार सम्मेलन नै गरेर अमेरिकी धारणाको कटाक्ष गरेको सम्झँदै छु।

 झन् बुझ्यो झन् कठिन

चीनको आन्तरिक राजनीति, संस्कृतिबारे बुझेका र अध्ययन गर्नेको संख्या औंलामा गन्न सकिन्छ। किनकि चिनियाँ भाषा सिक्ने र बुझ्नेहरू नै नेपालमा गणनामा छैनन्। विश्वमै पनि कमै छन्। विगत, कला, संस्कृति र आर्थिक व्यवसायमा रुचि राख्नेहरूले चीनबारे अध्ययन गरेका थिए। पछिल्लो समय चीनमा अध्ययन गर्न जाने बढेकाले केही अध्ययन हुन थालेजस्तो लाग्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका अतिरिक्त करिब एक दर्जन ससाना पार्टी रहेकै कारण उनीहरू प्रतिस्पर्धाबाट आएको दाबी गर्छन्। अनि लोकतन्त्रबारे व्याख्यान दिन्छन्— कुन मुलुक छ आगामी नेतृत्वबारे पाँच वर्षअघि नै जानकारी दिने ?        पश्चिमाहरूले मात्र लोकतन्त्रको प्रवचन दिने ?        के हामीले गरेको अभ्यासचाहिँ लोकतन्त्र होइन ?        त्यसो भनिरहँदा मलाई प्रतिस्पर्धी बहुदलीय व्यवस्थाबारेको उनीहरूको त्यो बुझाइ र आमजनताको धारणा बुझ्न झनै मन लाग्यो। बेइजिङको यात्रा सकेर छुनछिङमा पुगेका थियौं।

त्यहाँ रहेका प्रादेशिक नेता जो अर्थका विद्वान् पनि रहेछन्। उनीसँग समय मागेर गफिएँ। उनले सुनाए— हामी अहिले विश्वमा एक नम्बर हुनेभन्दा पनि पश्चिम उत्तर क्षेत्रको विकासमा बढी केन्द्रित छौं। गोदारबाट पाकिस्तान भएर चीन पस्ने पाकिस्तान–चीन आर्थिक करिडोर (सिपेक) यसको उदाहरण हो। अनि विश्वबजारमा आफ्नो उपस्थितिका लागि बीआरआई अघि बढेको छ। विश्वभरका विद्यार्थीलाई चीनमा ल्याएर चीन बुझाउने र चीनको महत्व विश्वमा छर्ने काम गर्दै पुरानै अमेरिकी शैलीमा चीन अभ्यस्त हुँदै गर्दा पनि राजनीतिक विषयमा अझै उदार बन्न सकेको छैन।

तियानमेन स्क्वायरनजिकै चोङनानहाई परिसरमा बसेर सी चिनिफिङको सोच पक्कै उनको भन्दा अझ माथि नै होला। अमेरिकासँग व्यापार द्वन्द्व झेलिरहेका सी यति बेला भारत अमेरिकी पोल्टामा नपरोस् भन्दै भारतका कार्यकारी नरेन्द्र मोदीलाई आफूतर्फ आकर्षण गराइरहेका छन्। पछिल्लो वुहान वार्ता त्यसकै परिणाम हो। यो बीचमा रहेका हामी आफ्नो विषयमा भन्दा पनि अरूले के गर्ला र हामी कहाँ रहौंला भन्ने सोचामै छांै। हामी भारत र चीन दुवैसँग सडक र हवाई मार्गका साथै विस्तारै रेलमार्गमार्फत जोडिन सक्नुपर्छ। चीनले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को नाममा काम अघि बढाउन खाजेको छ तर त्यसमा ऋणको पासो पर्ने हल्ला पनि बढिरहेकाले सचेत हुनैपर्छ। चिनियाँ ठेकेदारले यहाँका आयोजनाको मूल्य बढाएर चीनलाई बदनाम गराइसकेको विषय चीनको नेतृत्वले बुझ्न आवश्यक छ। भलै त्यस्ता आयोजनाको मूल्य बढ्नुमा नेपाली नेताको हात पनि उत्तिकै रहन्छ।

दक्षिण एसियालाई चीनले पश्चिमी प्रशान्त क्षेत्र र मध्य एसियापछि राखेको छ। चीनको तेस्रो स्थानमा रहेको दक्षिण एसियाको संवेदनशीलता छुट्टै किसिमको रहेको निष्कर्ष चिनियाँहरूको छ। चीनले अमेरिकाबाहेक अन्यलाई गणनामै नराखेको अवस्था छ। अमेरिकाले त्यही विषयलाई बुझेर कैयन् मुलुकलाई आफ्नो पक्षमा पार्दै आएको छ। चिनियाँ–अमेरिकी तानातानको बीचमा दक्षिण एसियामा नेपाल झनै चासोमा छ। भारतलाई चीनले अमेरिकी धु्रवमा जान दिएको छैन भने अमेरिकाले आफ्नो यस क्षेत्रको खेलाडीका रूपमा लिएको छ। त्यही भारत र चीनको बीचमा रहेका हामी अमेरिकाको चासोमा बढी तानिएका छौं। चीन भारतलाई सकेसम्म आफ्नो कित्तामा राख्न खोज्दै छ, एसियन मूल्य र मान्यताको नाममा। भारत त्यसमा नरहे पनि परम्परागत शक्तिसँग समदूरी पार्ने दाउमा छ। नेपाल भएर ट्रान्स–हिमालयन रेलमार्ग बनाउन सकेको खण्डमा चीन र भारत जोड्ने अर्को आधार तय हुने धारणा पनि उत्तिकै छ। चीनले दक्षिण एसिया स्थल र सामुद्रिक मार्गबीचको पुल बन्न सक्ने आधार प्रस्तुत गरेको छ।

सामरिक खिचातानीका कारण दक्षिण–चीन सागर र हिन्द महासागरका सामुद्रिक रुटमा समस्या आउँदा पनि यी विकल्पहरू उपयोग गर्न खोजेको विषय भुल्न हुँदैन। यही कारण चीनले स्थलमार्गबाट युरोप पुग्ने माध्यम अर्थात् मध्य एसिया भएर जाने रेलवे सञ्चालन गरिसकेको चीन सबैभन्दा बढी विदेशी मुद्रा सञ्चित (३.१२ खर्ब डलर) गर्ने मुलुक पनि हो। चीनले सबै पक्ष व्यापारमा जोड्ने र वासलात राख्ने काम गर्छ। कुल गार्हस्थ्य उत्पादन (११ खर्ब डलर)को मामिलाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मुलुक चीन प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेमा विश्वको तेस्रो ठूलो मुलुकमा दरिएको छ। तत्कालीन सोभियत संघको आर्थिक ‘मोडल’लाई परित्याग गर्दै चिनियाँ आवश्यकताअनुसारको अर्थतन्त्रमा आधुनिकीकरण भन्दै चिनियाँ मोडलको समाजवाद अघि बढाएर यहाँसम्म आएको हो।

सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १.८ प्रतिशत मात्र रहेको र अहिले झन्डै २० प्रतिशत पुर्‍याएको छ। चीनको यस्तै विकास र प्रगतिको विमर्शमै १० दिन बितेको थियो। नयाँ स्थान हेर्दै र अनुभव सुन्दै गर्दा चीनले छुनछिङबाट भियतनाम, लाओस, थाइल्यान्ड, मलेसिया हुँदै सिंगापुर पुर्‍याउन लागेको रेलको निर्माणकार्य प्रत्यक्ष देख्दा नेपालमा पनि रेल जाने प्रसंग अनि श्रीलंका ऋणको पासोमा परेको विषयमा हामी निकै घोत्लियौं, बहस पनि गर्‍यौं। नसक्ने होइन, सक्छ। तर, त्यसको उपयोगिता कति हुन्छ ?        यो अहम् प्रश्न हामीमाथि छ। नेपालले मात्र होइन सबै छिमेकीले चीनको गतिविधि, सहकार्य र चासोका साथै विकास मोडेल र चाहना अझै बुझ्न सकेको देखिएको छैन।
@NepaliDiplomacy


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.