कबाडी ठानी बिजुलीको तार समाउँदा युवकको ज्यान गयो
काठमाडौं : काठमाडौंमा करेन्ट लागेर एक भारतीय युवकको मृत्यु भएको छ । कालीमाटीस्थित मनमति खोलामा नाङ्गो तार समाउँदा करेन्ट लागेर मंगलबार बिहान साढे ४ बजे भारतीय युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत समितपुर घर भई टेकु बस्दै आएका श्रीकान्त पोदारका छोरा २१ वर्षीय कमेश पोदार रहेको महानगरीय प्रहरी परिसर काडमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
डीएसपी वोगटीकाअनुसार पोदार परिवारले नेपालमा बसी कवाडीको काम गर्दै आएको थियो । खोलामा तार देखेपछि कमेशले कबाडी ठानी लैजानका लागि तार समाउँदा करेन्ट लागेको थियो ।
मृतक कमेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको वोगटीले बताए ।