गुठी विवादले ज्यानै लिन्छ

गुठी विवादले ज्यानै लिन्छ

जनकपुरधाम : जनकपुरधामका मठमन्दिर र गुठीको सार्वजनिक जग्गा बेच्नकै लागि पछिल्लो दुई दशकमा सर्वसाधारण र महन्थले ज्यान गुमाएका छन्। धर्मको आडमा गलत क्रियाकलाप गर्नेहरुलाई प्रशासनको संरक्षण मिलेको साधुसन्त बताउँछन्।

२०६७ साल कात्तिक ११ गते जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लालकिशोर झा जनकपुर—८ स्थित घरबाट कार्यालय जान निस्किए। आधा घन्टा नबित्दै झालाई गोली हानियो। उपचारका क्रममा उनको मृत्यु भयो। झा हत्याकाण्डको ९ वर्षपछि उनको हत्याका मुख्य योजनाकार पूर्व महन्थ वैकुण्ठ दासलाई सजाय भएको छ। झाको हत्याको मुख्य कारण गुठीको सार्वजनिक जग्गा बेचबिखन थियो।

झाको हत्या मुद्दामा महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्त जगन्नाथ दास वैष्णवलाई उच्च अदालत जनकपुरले बुधबार १२ वर्ष जेल सजाय सुनाएको छ। जनकपुरधाम उपमहानगरपालिका—८ बजरंगचोकस्थित मटिहानी मठकै अवैैध रुपमा बिक्री गरेको ३२ कठ्ठा जग्गा लेनदेन विवादले झाको ज्यान लिएको अधिवक्ता विमलकुमार मिश्र बताउँछन्।

वैकुण्ठ दासकै सहयोगमा जनकपुरका केही व्यापारीले मान महन्त दाससँग ८ वर्षअघि ३२ कठ्ठा जग्गा किनेका थिए। सो जग्गा किनबेचका क्रममा झा पनि सहयोगी थिए। पछि झासँग केही विषयमा विवाद हुँदा हत्या भयो। सो बेला मान महन्थसँग अवैध रूपमा खरिद गरिएको जग्गालाई पछि प्लटिङ गरेर कपाली तमसुकका आधारमा बिक्री गरियो। जग्गामा अहिले नेपाल टेक्निकल इन्स्टिच्युट लगायत ७० भन्दा बढी भवन अवैध रूपमा ठडिएका छन्। सार्वजनिक जग्गा खरिद गरी व्यक्ति विशेषलाई बेचेर अवैध रुपमा बस्ती बसाउने हत्यारा वैकुण्ठलाई अदालतले सजाय सुनाए पनि वैकुण्ठबाट अवैध रूपमा जग्गा खरिद गर्ने व्यापारीलाई भने कारबाही भएको छैन।

१२ वर्षअघि जनकपुरको बिरख कुटीका महन्थ रामभद्र दासको हत्या भयो। उनको हत्यामा रत्नसागर कुटीकै पूर्वमहन्थ वैकुण्ठ दास संलग्न रहेको साधुहरू बताउँछन्। कुटीको अधीनमा ३४ कठ्ठा जग्गा थियो। दासको हत्यापछि उनका चेला वकिल दासलाई अभियुक्त बनाएर फसाइयो। तर, अभियोग प्रमाणित हुन नसक्दा उले सफाइ पाए। तर, यस अवधिमा जग्गा माफियाले मन्दिरको सम्पूर्ण जग्गा बिक्री गरिसकेका थिए। अहिले त्यहाँ बस्ती बसेको छ।

जनकपुरकै बेला कुटीका महन्थ धनेश्वर दासको मृत्यु शंकास्पद बन्यो। १५ वर्षअघि दासको मृत्युपछि उनका चेला भनी दाबी गर्दै मन्दिरका महन्थ बनेका रामएकवाल दास (बिसखोपरा) ले मन्दिरको जग्गा बिक्री सुरु गरे। उनले कुटीको करिब १३ बिग्घा जग्गा मनखप कागज बनाएर बिक्री गर्दै बस्ती नै बसाए। बस्तीको नाम ‘धनेश्वर बस्ती’ भनेर गरिएको छ। अहिले बस्तीमा २ सयभन्दा बढी घरटहरा छन्।

दस वर्षपूर्व बिहारकुण्डका महन्थ रामपुकार शरणको हत्या भयो। उनको हत्या चुल्हाई मण्डलले गरेका थिए। मण्डलले कुण्डको करिब साढे ३ बिघा जग्गामा आफू मोही रहेको हक दाबी गर्दै आएका थिए। उनले महन्थ शरणलाई मोही कायम गरेर दिन निकै दबाव दिए। तर, शरणले नमानेपछि मण्डलले हत्या गरे। मण्डललाई जेल सजाय भयो।

रत्नसागर मन्दिरको उत्तर पश्चिम डिलमा बेरै कुटी थियो। कुटीको रेखदेख माइराम जानकी सखीले गर्दै आएकी थिइन्। कुटीको अधीनमा अढाइ बिघा जग्गा थियो। तर, आठ वर्षअघि जानकी सखी गायब भइन्। उनको खोजतलासमा प्रशासनले चासो दिएन। कुटीको जग्गा बिक्री भइसकेको छ। हाल कुटीको नाममा एक धुर पनि जग्गा छैन।

मठ मन्दिरको आडमा आपराधिक क्रियाकलापले गर्दा बेला बेलामा ज्यान जाने गरेको थुप्रै उदाहरण जनकपुरमा छ। धार्मिक आस्थालाई खेलवाड गर्ने गरी आपराधिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनी कारबाही हुनुपर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.