प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमले चौतारा मर्मत
गोरखा : गोरखाको आरुघाट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चौतारा मर्मत गरेको छ । परम्परागत चौतार नासिन थालेकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमले चौतारा संरक्षणको काम गरेको गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताए।
कार्यक्रम मार्फत गाउँपालिकामा १६ चौतारा बनाएको गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले जानकारी दिए । ‘पुरानो चौतारा मर्मत गरेका छौं’ उनले भने ‘एक चौतारो मर्मतका लागि एक लाख १० हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्म खर्च भएको छ ।’ परम्परागत रुपमा ढुंगाको प्रयोग गरेर आकर्षक चौतारा बनाएको उनले सुनाए।
सडक र वस्ती आसपासका क्षेत्रका चौतारालाई प्राथमिकता दिएर सबै वडामा चौतारामर्मत गरेको खत्रीले जानकारी दिए।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका २५२ जनाले चौतारो बनाउन काम गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरुघाट गाउँपालिकामा २८ लाख रुपैयाँ प्राप्त भएको थियो ।