महानगरले घटायो स्मार्ट पार्किङको शुल्क
काठमाडौं : काठमाडौँ महानगरको नगरसभाले एक महिना अघि सुरु गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ। महानगरका प्रवक्ता इश्वरी डंगोलका अनुसार स्मार्ट पार्किङ भएको ठाउँमा अब आधा घण्टा पार्किङ गरेबापत दुई पाङ्ग्रे सवारीले १५ रुपैयाँ र चार पाङ्ग्रेले ५० रुपैयाँ तिर्नेु पर्नेछ।
यसअघि प्रतिघण्टाको हिसाबले दुई पाङ्ग्रेले २५ रुपैयाँ र चार पाङ्ग्रेले ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो।
स्मार्ट पार्किङ सन्दर्भमा आएका सुझावले गर्दा नगरसभामा प्रस्ताव पेस गरी पास भएको प्रवक्ता डंगोलले जानकारी दिए।
स्मार्ट पार्किङको व्यवस्था भएका ठाउँमा १५ मिनेट अघि मोबाइल एपबाट पार्क गर्न बुक गरेर जान सकिन्छ। महानगरको विशालबजार, दरबारमार्ग, न्यूरोड, खिचापोखरी र भूगोलपार्क लगायतका ठाउँमा यो सेवा छ।