बाढी र पहिरोमा परेर सिन्धुलीमा ६ को मृत्यु, ४ बेपत्ता
सिन्धुली : बाढी र पहिरोका कारण सिन्धुली मृत्यु हुनेको संख्या ६ पुगेको छ। बाढीमा चार जना बेपत्ता भएका छन् भने ६ जना घाइतेको उद्धार गरिएको छ। सोमबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ को करकरे बस्तिमा एक व्यक्तिको शव भेटिएसँगै बाढी र पहिरोका कारण शुक्रबारयता मृत्यु हुनेको संख्या ६ जना पुगेको सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।
बागमति नदीले बगाएर ल्याएको शव नदी किनाराको बस्ति नजिकै फेला पारिएको प्रहरीले जनाएको छ। तर, बाढी निरन्तर बढी रहँदा उक्त शवलाई झिक्नु अघिनै बाढीले पुरेपछि शवको पहिचान गर्न भने नसकिएको सिंहले बताए।
शव गत शुक्रबार बागमती नदीले धार परिवर्तनगरी हरिहरपुरगढी गाउँपालिका ३ को बसपार्क बस्तिमा बागमती नदी पस्दा बगेका व्यक्ति हुन सक्ने प्रहरीले आशंका गरेको छ। यस अघि जिल्लाको फिक्कल गाउँपालिकामा १ जना, दुधौली नगरपालिकामा ३ जना, सुनकोसी गाउँपालिका १ जनाको मृत्यु भएको थियो।
दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीमा घरसहित पहिरोले बगाउँदा बेपत्ता भएका हिराबहादुर पौडेलको छोरा सागर पौडेल अझै बेपत्ता छन्। उनकी श्रीमती सुनिता र १० वर्षकी छोरी सविताको आइतबार शव भेटिएको सिंहले जनाए।
यस्तै दुधौली नगरपालिका ४ डकाहबाट घुमन्ते जिवन बिताउँदै आएका कापरी परिवालाई नै कमला नदीले बगाउँदा बेपत्ता भएका रेणु कापरी, उनका ७ वर्षका छोरा आधिं कापरी, १ वर्षका अर्का छोरा सार्गन कापरी र उनको आमाजु ६० वर्षीया मरणी कापरी अझै फेला पर्न सकेका छैनन्। ‘उनीहरुको खोजी कार्य जारी रहेको भएपनि कमलानदीमा ठूलो बाढी आएका कारण अझै फेला पार्न सकिएको छैन,’ सिंहले भने।
बाढी र पहिरोमा परी घाइते भएका ६ जनालाई प्रहरी र स्थानीयले उद्धार गरेका छन्। प्रहरीका अनुसार सुनकोसी गाउँपालिकाबाट पहिरोले गाडीसहित पुरिएका एक जना चालकलाई १८ घण्टापछि जिवितै उद्धार गरिएको छ भने, फिक्कल गाउँपालिकाबाट १ जना र दुधौली नगरपालिकामा पहिरोले पुरिएका १ जना र कमला नदीको बाढीले बगाएका २ जना गरी ६ जनाको उद्धार गरिएको हो।
जिल्लामा बाढीका कारण २४ घरका एक सयबढी विस्तापित भएका छन् भने ८० भन्दा बढी घरका बासिन्दा उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक सिंहका अनुसार सिन्धुलीको कमलानदीको बाढी बस्तिमा पस्दा दुधौली नगरपालिका ४ का १६ घरका ७० जना र बागमती नदीको पानी बस्तिमा पस्दा हरिहरपुरगढी गाउँपालिका ३ को बसपार्कका ८ घरका ३० जना विस्थापित भएका हुन्।
चारदिनदेखि अबरुद्ध वीपी राजमार्ग आइतबार अबेरबाट एकतर्फी सञ्चालनमा आएको छ। वीपी राजामार्गको दजनौं स्थानमा पहिरो र बाढी आएपछि लगातार मेसिनबाट सफा गरिरहेको र दुबैतर्फ सञ्चालन हुन अझैँ केही दिन लाग्ने प्रहरी प्रमुख सिंहले जनाए।
उता मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डभने अझै सञ्चालनमा आउन सकेको छैन । बाढीले जिल्लामा दुई हजार हेक्टरबढी खेतियोग्य जमिन कटान गर्नुका साथै पुरेको छ। जिल्लामा विद्युत सेवा अबरुद्ध भएकाे छ।