दूध बिक्न छाड्यो

दूध बिक्न छाड्यो

इलाम : दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित प्रशोधन कारखानामा पानी जमेपछि इलाम, तेह्रथुम, धनकुटालगायत क्षेत्रमा दैनिक ३० हजार लिटरभन्दा बढी हुने दूध तथा दुग्धजन्य पदार्थको बिक्री ठप्प भएको छ।

लगातारको वर्षापछि प्रशोधन प्लान्टमा पानी पसेकाले केही दिनदेखि दुग्ध पदार्थ खरिद बन्द गरेको डीडीसीको विराटनगर प्रबन्धक निलकण्ठ गौतमले जानकारी दिए। विराटनगरका लागि इलामका आठवटा चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दुग्ध संकलन हुने गरेको छ। सिजनमा ३५ हजार लिटरसम्म उत्पादन गर्ने इलामबाट अहिले २० हजार लिटर खरिद गरिरहेको गौतमले बताए।

प्लान्ट बन्द भएपछि इलामका किसानले दैनिक ८ लाख रुपैयाँ गुमाउने गरेका छन्। डीडीसीले इलामको कुटिडाँडा, तीनघर, फिक्कल, लक्ष्मीपुर, बिब्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुग्ध संकलन गरेर विराटनगर लैजाने गरेको छ। केही दिन पाउडर प्लान्ट बिग्रेको भन्दै डीडीसीले दुग्ध खरिद रोकेको थियो।

डीडीसीले तेह्रथुमबाट तीन हजार पाँच सय, धनकुटाबाट ८ हजार पाँच सय र विराटनगर आसपासबाट चार हजार लिटर दूध संकलन गर्ने गरेको शाखाले जनाएको छ। संकलन भएको दूधमध्ये १० हजार लिटर दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने बाँकी पाउडर बनाउन प्रयोग गरिन्छ।

नेपाली दूधको छुर्पी तेस्रो मुलुकमा राम्ररी बिक्री हुन थालेपछि केही समयअघि डीडीसीलाई दूध पाउन निकै समस्या थियो। तेस्रो मुलुकमा डकच्यूको रूपमा जाने छुर्पीको माग घटेपछि अहिले निजी उद्योगले पनि डीडीसीलाई नै दूध बिक्री गर्न सुरु गरेको इलाम नगरपालिका–४ का डेरी सञ्चालक विष्णु दुलालले जानकारी दिए।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ। इलाममा उत्पादन भएको दूधमध्ये धेरैजसो डीडीसीमा बिक्री हुने गरेको छ।

केही प्रतिशत दूध स्थानीयस्तरमा खपत हुने गरेको छ। इलामका ग्रामीण भेगमा उत्पादन भएकोमध्ये दुग्ध विकास संस्था (डीडीसी)मा मात्र वार्षिक ३० करोड ६६ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री हुने गरेको सरकारी विवरणमा उल्लेख छ। इलाममा १२० वटा गाई फार्म र सहकारीमा आबद्ध किसानले दूध उत्पादन गर्ने गरेका छन्। दूध बिक्री नहुँदा कृषकलाई दुग्ध व्यवस्थापनमा समस्या भएको कृषक भिष्मप्रसाद भट्टराईले बताए। दूध उत्पादन लागत बढिरहेको अवस्थामा बन्द हुँदा किसानमा गाईपालनप्रति निराशा जाग्ने उनले बताए।

नेपालमा हाल उत्पादित करिब १५ लाख मेट्रिक टन दूधमध्ये केबल १५ प्रतिशत हिस्सा मात्र व्यापारिक क्षेत्रको कारोबारमा जाने गरेको छ। बजारमा पुगेको दूधले मात्र वार्षिक ५ अर्ब ५० करोड रुपैयाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह हुन्छ। जिल्लाका ३६ वटाभन्दा बढी गाउँबाट चिस्यान केन्द्रमा दूध ल्याउने गरिएको छ। १५ वटाभन्दा बढी गाउँमा व्यावसायिक गाईपालन गरेर दैनिक पाँचदेखि ४० लिटरसम्म दूध खरिदबिक्री हुन्छ। पाउडर प्लान्टले प्रतिघण्टा ५ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ। प्रबन्धक गौतमले साउन १ गतेदेखि दूध खरिद गर्ने तयारी गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.