छिन्चु–जाजरकोट सडक जहाँ यात्रुले नै धकेलेर गाडी गुडाउँछन्
जाजरकोट : छिन्चु–जाजरकोट सडकको सुर्खेतको कालीखोलामा सोमवार नेपालगञ्ज जाने र आउने दुई दर्जन गाडी फसे। करिब तीन घण्टापछि स्थानीयको सहयोगमा यात्रु आफैंले सडकमा बालुवा र गिट्टी हाले। त्यति गर्दा पनि गाडी गुड्न नसकेपछि यात्रु आफैंले गाडीलाई धेकेलेर गुडाए। यो सडकमा यसरी नै दैनिकजसो गाडी गुडाउनु पर्ने बाध्यता छ।
वर्षातको समयमा यस सडकखण्डको विभिन्न ठाउँमा वर्षेनी यसरी नै गाडी फस्ने गर्दा यात्रुले सास्ती पाउने गरेका छन्। पाँच वर्ष अघि नै कालोपत्रे भएको यो सडकको सल्लीबजार–खलंगा सडक खण्ड अन्तर्गत दर्जन बढी खोलामा बन्नुपर्ने पुल समयमा नबन्दा यात्रुले दुःख पाउने गरेका हुन्।
कहिले खोला बढेर त कहिले निर्माणाधीन पुल आसपासमा फालिएको माटोमा गाडी फसेर समस्या हुने गरेको छ। कालीखोलामा बनिरहेको निर्माणाधीन मोटरेबल पक्की पुल बनाउने क्रममा फालिएको माटोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी गुड्न समस्या भएको जाजरकोट भेरी नगरपालिका ४ का यात्रु रणबहादुर कार्कीले बताए।
धेरैजसो पुलको ढलानको काम सकिए पनि पुल आसपासका सडकको काम नसक्दा चिप्लो बाटोमा गाडी गुड्न समस्या भएको उनको भनाई छ। ‘गन्तब्यमा पुग्न पनि गाडी धकेल्नुको विकल्प छैन। बिच बाटोमा गाडी फसेपछि यात्रु आफैंले गाडी धकेल्दै यात्रा गर्ने गरेका छन्।’
१०७ किलोमिटर लम्बाई रहेको यस सडकखण्डमा पर्ने बनगाड खोला, राकम खोला , कालीखोला लुकईखोला, छेडाखोला, सिम्ले लगायतका एक दर्जन खोलामा सडक पुल निर्माणको काम दुई वर्षदेखि भइरहेको छ।
गत चैतमै सक्नुपर्ने पुल निर्माणको काम समयमा नसक्दा यस सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती खेप्न बाध्य भएको भेरी नगरपालिका १३ कुदुका बासुदेव शर्माले बताए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले निर्माणाधीन पुल समयमा नबन्दा वर्षातको समयमा यातायात सेवा प्रभावित हुने गरेको बताए। उनले वर्षातको समयमा समेत गाडी नरोकिने गरी ब्यवस्था मिलाउन पुल निर्माणको ठेक्का लिएका निर्माण ब्यवसायीलाई निर्देशन दिने बताए।
सडक विभाग पुल योजना कार्यालय नेपालगञ्जका अनुसार पुल निर्माणको जिम्मा लामा कन्ट्रक्सन र सूर्य कन्ट्रक्सन प्रालिले लिएका छन्। यस सडकखण्डको ७० किलोमिटर भित्रको क्षेत्रमा ६ ओटा पुल निर्माणको लागि लामा कन्ट्रक्सनले २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ। त्यस्तै सूर्य कन्ट्रक्सनले ७० देखि १०० किलोमिटर क्षेत्रभित्र ६ ओटा पुल बनाउने गरी २२ करोड रुपैयाँमा ठेक्का लिएको छ।
सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले आगामी ६ महिनाभित्र पुल निर्माणको काम सक्ने बताए। वर्षातमा समेत गाडी नफस्ने र नरोकिने गरी आवश्यक ब्यवस्था मिलाईने उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस !