धन्यवाद धरावासी
आजदेखि म साठी वर्ष लागेको छु। यसो भनिरहँदा म आफैंलाई अचम्म लाग्छ, म कसरी यत्ति छिट्टै साठी वर्षमा प्रवेश गरेँ ?
हुन त जसले पनि भनेको सुनिन्छ, समय बितेको थाहै भएन कत्ति छिटो बूढो भइएछ। तर मलाई त्यस्तो लाग्दैन। मलाई त यो समय सारै फारु गरी बितेको अनुभव छ।
मलाई जहिले पनि समय नबितेको र एकै ठाउँ ठिंग उभिएको जस्तै लागिरहन्थ्यो। दुःख र समस्याहरूसँग जुध्नुपर्दा र ती समस्याहरू जहिले पनि जहाँको त्यहीँ रहिरहेपछि समय ठप्प कतै उभिएजस्तो लागिरहन्थ्यो।
रहर, इच्छा र आकांक्षाहरूसँग एक किसिमले राम्रो परिचय नै गर्न पाइएन। भोकसँग लड्दालड्दै जिन्दगीसँग त परिचय नै हुन पाएनछ। आज आएर फरक आँखाले परपरसम्म हेर्छु, देखिएका कैयौं कुराहरूसँग त चिनजान नै छैन।
अब चिनजान गर्नुको खासै तुक भएजस्तो पनि लाग्दैन। आज दिनभरि धेरै परदेखि आफूलाई सम्झिने कोसिस गरेँ। तर म त त्यहाँ कहीँ पनि देखिइनँ। जहाँसम्म देखेँ एउटा घाइते, अशक्त र कमजोर पहिचानले दबिएको परिवार मात्र देखियो। समाजले अलग्गै चिन्ने गरेको पहिचान बनाउनकै लागि बितेछन् अनगन्ती वर्षहरू। एक्लैको बनेको पहिचानले नबन्ने बनेको रहेछ मैले थाहा पाउँदा मेरै पहिचान पनि। किनकि स्कुलमा एक दिन शिवप्रसाद दाहाल सरले कसैसँग मेरो परिचय गराउँदा चुरवाल्नी बज्यैको छोरो भनेर चिनाउनुभयो। अर्को एकपल्ट स्कुलमा निःशुल्कको अन्तर्वार्ता दिन अफिस कोठामा पस्दा सबै सरहरूको अघि मोहन शिवाकोटी सरले मेरो आर्थिक अवस्था कमजोर छ भन्ने कुरालाई बल पुर्याउन खोज्दा भन्नुभएको थियो— म लंगडा बाजेको छोरो हुँ।
मैले सबैभन्दा पहिला त लंगडा बाजे र चुरवाल्नी बज्यैको छोरोबाट कृष्णप्रसाद भट्टराई हुनु थियो। लड्नु त के थियो र, लडे पनि कोसँग केका लागि लड्नु। परिस्थिति नै यस्तो थियो कि खासमा जे गरे पनि केही हुनसक्ने अवस्थै रहेनछ। धेरै नै अभाव भएपछि त्यसलाई पुर्न वर्षौं लाग्ने रहेछ। सारै नै दुब्लाएको मानिसलाई शरीर भरिलो हुन धेरै समय लागेझैं। हामीलाई खासमा कसैले पनि शोषण वा अन्याय गरेकै थिएन। जजसले जेजस्तो गरे उनीहरूले पनि आफू बाँच्नका लागि गरेका थिए, जाडोमा सानो सिरक आफूतिर बढी तानेर जीउ छोप्न खोजेझैं।
एउटै अवस्था सधैं रहेका कारण समय नबितेकोमा दिक्क लाग्थ्यो। चाँडो चाँडो समय बिते यी दुःखहरूबाट पनि मुक्त होइन्छ कि जस्तो लाग्थ्यो तर दुःखले कहल्यै डेग चलेन। जीवनको सुरुका बीस वर्ष त हामी पनि मान्छे हौं जस्तै लागेको थिएन। यस्तो लाग्थ्यो, हामी समाजमा अभिलेख नभएका आकृतिहरू हौं।
कथा नै भयो जिन्दगी। आज आएर जब पछि फर्केर हेर्छु, मैले माथि लेखेका कुराहरू सबै असत्य झैं लाग्छन्। आफैंलाई त त्यस्तो लाग्न खोज्छ भने मेरा सन्तानलाई कसरी थाहा होला त भन्ने लागेरै लेखिदिएको थिएँ, आधा बाटो।
मर्न पर्ने कत्ति अवस्थाहरूमा नमरेरै बाँचियो आजसम्म। सात वर्षको उमेरमा कक्वाली खोलाले एक किलोमिटरसम्म बगाउँदा पनि कसरी मरिएन होला। दहीझोडा जंगलमा बाख्रा चराउँदा आँखाकै अघि चितुवाले बाख्रो तान्दा मलाई किन देखेन होला। पैनीको डिलैडिल रातसाँझ हिँडिरहँदा खुट्टामा अल्झिँदै सुल्किने गोमल सर्पको थुतुनो किन पिँडुलातिर फर्किन खोजेन होला।
हात्तीले बस्तीका घरघरै मिच्दै जाँदा पनि कसरी जोगियो होला हाम्रो झुपडी। किन थिचेन होला घरले जब आँधीले लडाएको थियो। आफ्नै हातले घर पोल्दा पनि किन बाख्रासँगै झिल्सिएर मरिएन होला। दस वर्षसम्म देशभरि बम गोली चले। लुकाएर राखिएका बमका नजिक नपुगेर पनि बाँचियो होला। डाँकाले खप्पर फुट्ने गरी चिर्पटले हानेको थियो, टाउकोको स्क्यान गरेर हेर्दैै नहेर्दा पनि मरिएनछ।
धन्यवाद छ ती माझीलाई जसले सुरक्षित तरिकाले खोलो तारे। ती चालकलाई जसले हरेक दिन कसोकसो, कसोकसो गर्दै टुंगोमा पुर्याइदिए। ती पाइलटलाई जसले आकाशको बाटो हुँदै सधैं सुरक्षित अवतरण गराए। ती डाक्टर जो पहिल्यैदेखि औषधि लिएर हरेक रोगका विपक्षमा उभिएका थिए। दुःखले पनि मरिएन। दुर्घटनामा नपरेका कारणले पनि बाँचियो। भोक, अनिकाल, अभावले त मानिस मर्दो नै रहेनछ। शोक पनि रुन सहयोगी कुरा रहेछ, बिलौना गरेरै बाँचिने रहेछ पछिसम्मै।
हरेक दिन जेब्राक्रसबाट बाटो काट्दै गर्दा एक मृत्यु जितेर पारि पुगिन्छ। जन्मनेबित्तिकै मर्नेहरूको लर्को पनि लामै छ। तथ्यांकमा बालमृत्युदर घटे पनि मर्नेको संख्या घटेको छैन। टीबी, क्यान्सर, हर्ट एटेक, डेंगु, एचआईभी, लिभर, किड्नी, अनेक रोगहरू अस्पतालभरि दोकान थापेर बसेका छन् तर तिनले नदेखेरै नमरिएको छ।
यहाँसम्म आइपुग्न कम हिँडियो त ? सबैको राम्रो हुन आज्ञाकारी हुने भएर बिनापारि श्रमिक अरूको हन्बेर्नो पनि कति भइयो कति। ज्ञानी र भलाद्मी हुनका लागि अरुले आफ्नो भाग खोसे पनि चुप लागेर खपियो। सोझो हुन खोज्दा कतिले सोझ्याए कतिले। कक्षा कोठा, पुस्तकालय, धार्मिक ग्रन्थ, राजनीतिक आदर्श, बौद्धिक विद्रोह, आध्यात्मिक कौपिनधारण, सबैको संगतविसंगतमा थाकिएको कुरा भन्नै सकिएन।
कसरी भन्नु, मिलिक्कै बितेछन् यति धेरै दिन र वर्षहरू भनेर ? कसरी भन्नु सपनाजस्तो भो जिन्दगी भनेर। कत्ति पल्ट यो ऐँठनजस्तो पनि भयो। कत्ति पल्ट चुनाव लागेको उम्मेदवारजस्तो पनि भयो।
यहाँसम्म आइपुग्दा जिन्दगी पूरापूरा बाँचिएछ। गुनासाहरू कति थिए कति। आज विचार गर्छु, कहिले बिलाएछन् कहिले तीहरू त। आज आफूले कल्पना नगरेका र धेरै पछिसम्म पनि यस संसारमा हुँदै नभएका मानिसहरूले गरेका कत्ति सुन्दर कामहरू देख्दा के यहाँसम्म म मिलिक्क आइपुगेको हुँ त ? टेलिफोनको रिसिभर उल्टो समातेर सुनेको दिनदेखि आज स्मार्ट फोनमा मनपरी गरिरहेकोसम्म आइपुग्न मिलिक्कै हो त ?
मेरा पिताजीको निधन अठचालीस वर्षको उमेरमा भएको थियो। उनन्चास वर्ष टेकेकै दिन मैले बाबुको आयुलाई जितिसकेको थिएँ। अब दस वर्षपछि म आमाको उमेरलाई पनि पछि छोड्ने छु। तर त्यहाँसम्म पुग्न कम समय लाग्छ त। तेत्तीस सालमा बुवा बित्ता पन्ध्र वर्षको म त्यसको दस वर्षपछि एउटा छोराको बाबु भइसकेको थिएँ। दस वर्ष कम रहेछ त ? अन्ठाउन्न सालमा आमा बित्दा संसारै अँध्यारो लागेर समय नै रोकिएजस्तो बोध भएर आधा बाटो लेखेको थिएँ। निराशाको त्यो अनुभूति बिस्तारै भ्रम हुँदै गएर सकिन लाग्दा मैले साठीको दशकमा नै सबैभन्दा ठूलाठूला तरक्की गरेछु। दस वर्षलाई थोरै कसरी भन्नु ?
आमा बितेको दस वर्षपछि सीताजी बित्दा उहाँले कतिकति नसोचेका प्रगतिहरू भोगिसक्नुभएको थियो। यो बीचमा कहाँकहाँ पुगियो, केके देखियो, कति थोक भए। कल्पनै नगरिएका घटनाहरूसँग जोडिन पुगियो।
शनिश्चरे बजारको गिरीघरको बरन्डामा हिउँदको चिसोमा बोरा, पातलो धुस्सा र भुसिया कुकुरको जीउको तातोमा रात काटेर हुर्केको म यही पछिल्लो दस वर्षमा युरोप र अमेरिकाका पचासौं सहरहरू घुम्न पुग्नु के छोटो समय र सम्भावना हो ? कक्षा आठमा हुँदा स्कुलको वार्षिकोत्सवमा सयपत्रीको थुंगो भन्ने कविताको किताबभित्रको सुनमा घुन कसरी लाग्यो भन्ने कविताको नक्कल गरी धानमा घुन कसरी लाग्यो भन्ने शीर्षकमा कविता लेखेर तेस्रो भई साहित्य गोष्ठीहरूमा पुरस्कृत हुन थालेको म आज अनगन्ती प्रमाणपत्रहरूका बीच बसेर यो लेख लेख्दै गर्नु के समय छिटो बितेको भन्नु ? अट्ठाइस किताबको लेखक हुन मैले मिलिक्कै समय काटेँ होला ? अहँ, मलाई कहिल्यै सजिलो भएन जीवनको यो उन्साठी वर्ष पार गर्न।
हुन त माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीभन्दा चालीस वर्ष कान्छो मान्छेले यस्ता कुरा गर्नु सुहाउने हैन तर मेरो उमेरको यो बिन्दु त मेरै हो नि। मलाई एक्काइस वर्ष पुगेको दिन पनि धेरै उमेर खाइसकियो भन्ने लागेकै हो। एकतीस वर्षको हुँदा तीन सन्तानको बाबु भएको थिएँ र लागेको थियो, यो बूढो हुँदै गरेको बेला हो।
हरेक वर्ष आफ्नो उमेरको उच्चतम समय हुन्छ। आफ्नो लागि त्यही नै पछिल्लो उपलब्धिको सीमाबिन्दु पनि हो। मलाई दस वर्षअघि पचास वर्ष लाग्दा पनि आधा शताब्दी पुगेकोमा गर्व लागेको थियो। आज साठी वर्ष लाग्दा पनि झन् हर्क लागेको छ। मलाई बूढो हुँदै गएको कुराले हैन कि म को को भन्दा बढी बाँचिरहेको छु भन्ने कुराले गर्वित हुने गरेको छु। म देवकोटाभन्दा दस वर्ष बढी बाँचिसकेको छु। भूपिभन्दा सात वर्ष जेठो भएँ अब। पूर्वराजा ज्ञानेन्द्रभन्दा अघिका सबै शाह राजाहरूको आयुलाई त मैले कहाँ छोडेँ छोडेँ। त्यसै नै जितिसकेँ।
जति बाँचिन्छ आफूलाई चुनौती हो कर्महरूको। भोगाइका तीता-मीठाहरूलाई सम्झेर कथा बनाउँदै बस्ने हैन कि तिनलाई ऊर्जा बनाउने समय हो। बाँच्न सजिलो पनि छैन, गाह्रो पनि हैन। जीवनलाई उत्सवका रूपमा चिन्न सके सारा जीवन आफैंमा एउटा सुन्दर खेलको गोटी हो। यो जीवन पहिलो र अन्तिम पल्टका लागि हामीलाई प्रकृतिले एक पटकका लागि दिएको सुन्दर उपहार हो।
मैले हरेक वर्षलाई कामका वर्षहरूमा चिनेको छु। आउने नयाँ वर्षहरूलाई झन् दरा भारीहरू बोकाउने गरेको छु। यसपल्ट पनि गधा बनेर घिस्रिने छ मेरो साठीऔं वर्ष।
यहाँसम्म आइपुग्न विभिन्न आयामले सहयोग गर्ने आत्मीयजनहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्छु र प्रिय उन्साठी वर्षलाई फेरि कहिल्यै भेट्न नसकिने वियोगी भावनाका साथ धन्यवाद दिन्छु। बधाई छ, धरावासी अर्को वर्ष भेटौंला।