नेपाल भाषामा एकै पटक ६० बालपुस्तक
काठमाडौं : नेपाल भाषामा ६० वटा बालपुस्तक एकै पटक तयार पारिएको छ। द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ परियोजनाअन्तर्गत यी बालपुस्तक तयार भएका हुन्।
सोमबारसम्म ४८ वटा बालपुस्तक सम्पादन समेत भएर ‘डिजिटल लाइब्रेरी’मा अपलोड भएको छ। बाँकी एक दर्जन बालपुस्तक एक सातामै अपलोड गरिने भएको छ। दुर्गालाल श्रेष्ठका बालगीतका ६ वटा पुस्तक भने नेपाल, नेपाली र अंग्रेजी भाषामा प्रकाशित समेत भएको छ।
शनिबार र आइतबार गरिएको अनुवाद कार्यशालामा पुस्तक विभिन्न भाषाबाट अनुवाद भएका हुन्। अनुवाद कार्यशालाको उद्घाटन सत्रमा कवि दुर्गालाल श्रेष्ठले ‘डिजिटल लाइब्रेरी’ अभियानको लागि छापिएको पुस्तकमा रञ्जना लिपि समेतको प्रयोगले आफू निकै हर्षित भएको बताए।
बालसाहित्यमा निरन्तर कलम चलाइरहेका विनय कसजूले समाज अघि बढाउनु छ भने बालबालिकाका लागि सिर्जनात्मक काम गर्नुपर्छ भन्ने विचार राखे। राष्ट्रिय पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले भौतिक रुपले सबै स्थानमा पुस्तकालय खोल्न सम्भव नभएकाले द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ जस्तै अन्य निकायले पनि यसमा काम गर्नुपर्ने बताए।
फाउन्डेसनले ‘डिजिटल लाइब्रेरी’ को एप २०१७ सेप्टेम्बरबाट ल्याएको हो। बुक फर एसियाकी प्रबन्धक समिरा राजभण्डारी श्रेष्ठका अनुसार ‘लेट्स रिड’ नामक् एप डाउनलोड गरेपछि अफलाइनमा पनि पुस्तक पढ्न सकिन्छ। ‘डिजिटल लाइब्रेरी’मा हाल करीब २ हजार पुस्तक छन्। जसमा २०० बढी नेपाली पुस्तक छन्।
डिजिटल लाइब्रेरीमा प्रायः अंग्रेजी भाषाका बालपुस्तक छन्। भाषामा ज्ञान हुनेहरूको लागि भने यसमा एसियाका लाओस, थाइल्यान्ड, भियतनाम लगायत देशका १६ भाषाका पुस्तक उपलब्ध छन्। कतिपय नेपाली भाषाका किताब अंग्रेजीमा पनि पढ्न सकिन्छ। यसको विशेषता भनेकै कुनै मौलिक भाषाको कृति छानेर आफू अनुकुलको भाषामा पढ्नु हो। अब छिटै थारु लगायत नेपालका अन्य भाषाका पनि पुस्तक डिजिटल लाइब्रेरीमा राखिने बुक फर एसियाकी प्रबन्धक समिरा बताउँछिन्।
इन्टरनेट राम्रो नभएका हिमाली जिल्लाका शिक्षकले डाउनलोड गरी प्रिन्ट गरेर पनि यी पुस्तक प्रयोग गर्ने सुविधा दिइएको छ।
यसैगरी सोमबारदेखि द एसिया फाउन्डेसनको ‘डिजिटल लाइब्रेरी’ परियोजनाअन्तर्गत थारु भाषामा पुस्तक प्रकाशन गर्न लेखकहरूलाई सहजीकरण गोष्ठी सुरु भएको छ। गोष्ठीमा सहभागी लेखिका शान्ति चौधरीले भनिन्, ‘देशको चौथो ठूलो भाषा थारुमा अझै पनि नगन्य बालपुस्तक छन्। यस गोष्ठीले धेरै थारु बालपुस्तक उत्पादन हुने आशावादी छु।’