रुसी प्रधानन्यायाधीश नेपालमा
काठमाडौं : नेपाल भ्रमणमा रहेका रुसी महासंघका प्रधानन्यायाधीश भ्याचेस्लाभ एम लेवेदेवले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासँग भेट वार्ता गरेका छन्। लेवेदेव सोमबार नेपाल भ्रमणमा आएका हुन्। राणाले रुसका प्रधानन्यायाधीश लेवेदेवलाई त्रिभुवन विमानास्थलमा स्वागत गरेका थिए।
भेटका क्रममा लेवेदेवले नेपाल र रुसी महासंघको लामो समयदेखिको सौहाद्रतापूर्ण र सुमधुर सम्बन्धको चर्चा गरेका छन्। उनले नेपालमा संविधान जारी भएर कार्यान्वयनको अवस्थामा रहेकोले यसले नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
‘न्यायपालिकाको रणनीतिक योजना भर्खरै मात्र सार्वजनिक भएको जानकारी पाउँदा खुसी लागेको छ। यसका माध्यमबाट न्यायपालिकाको प्रणालीगत सुधार गर्दै लैजान शुभकामना छ,’ लेवेदेवले भेटवार्तामा भने। उनले नेपालको न्यायप्रणालीमा भएका विकासको अनुभवलाई आफ्नो अभ्यासमा अबलम्बन गर्न सहयोग पुग्ने धारणा पनि राखे।
प्रधानन्यायाधीश राणाले न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रणनीतिक योजना रहेकाले यसको कार्यान्वयनमा जोड दिएको जानकारी लेवेदेवलाई गराएका थिए। ‘रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै हाम्रो प्राथमिकतामा रहेको छ,’ राणाले भने।
दुई देशबीच भएको कुटतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको भनाई राणाको थियो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको निमन्त्रणा लेवेदेव नेपाल भ्रमणमा आएका हुन्।
उनी चार दिनसम्म नेपालमा रहने छन्। नेपाल भ्रमणका क्रममा उनले विशिष्ट अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ।