पुस्तकको भविष्य

पुस्तकको भविष्य

धेरै वर्षअगि एउटै घरमा डेरा लिएर बस्दा चिनेका एक साथी मकहाँ आए। तिनले मेरो सानो पुस्तकालय देख्दा जिब्रो काढ्दै भने-यति धेरै पुस्तक तपाईंले कहाँकहाँबाट कसरी जम्मा गर्नुभो, मागेरै जम्मा गर्नुभएको त होला ?       

तिनको प्रश्नले मलाई निकै चोट पुर्‍यायो। मैले तिनलाई जवाफ दिएँ-त्यस्तो तगडा लवाइ तपाईंले कसरी, कसबाट प्राप्त गर्नुभो; मागेरै त लगाउनुभएको होला ?       

-हेर्नोस्, दसआठ पुस्तकले मेरो जीवन अहिलेसम्म चलिरहेछ भने तपाईंलाई यति धेरै पुस्तक किन चाहियो ?        के मरेपछि सँगै लिएर जानुहुन्छ ?  बरु मेरा दस पुस्तक तपाईंलाई उपहारको रूपमा दिन चाहन्छु; तपाईंको यस भण्डारबाट मलाई सुहाउने दुईतीनवटा मात्र पुस्तक सट्टामा दिनुभए म बहुत खुसी हुने थिएँ।

-तपाईंले राम्रो घरबार जोड्नुभएको छ भन्ने सुनेको छु; के तपाईंले त्यसलाई सँगै लिएर जान सक्ने सोच्नुभएको छ ?  जहाँसम्म उपहारको प्रश्न छ, न म कसैलाई उपहार दिन्छु, न त कसैबाट उपहार नै लिन चाहन्छु।

तिनी थिए विचित्र मान्छे। स्वास्नी पोइल हिँडेपछि ‘एउटी स्वास्नीको घर, भर पर्दै नपर्’ भन्ने सूक्तिअनुसार एउटै आयोजनाबाट तिनले दुइटी स्वास्नी एकै चोटि भित्याए। अहिले स्वास्नीहरू छुट्टिएर बेग्लै बेग्लै बसेका छन् रे !

उपहार दिने कार्यबाट म हच्केको छु। मैले एउटा साथीलाई आफ्नो एक पुस्तक उपहारस्वरूप दिएँ। मेरो अर्को पुस्तक निस्केपछि तिनले त्यस पुस्तकमा चाख देखाए। मैले पहिला दिएको पुस्तकको नाम लिएँ। तिनले भने-ए दिनुभएको थियो र ? अर्का एक साथीले मबाट त्यसै गरी एक उपहार प्राप्त गरे। तिनले भनेछन्-पुस्तक आइलागेको थियो, पढ्दै पढिनँ; अहिले कता गएछ कुन्नि, देख्दै देख्दिनँ; पाकेट बनाउनेलाई बेचिदिएछन् क्यार !

०००

जब म पुस्तक पल्टाउन थाल्छु, तब मेरो एक्लोपन हट्तछ; मनका पीडाहरू पाखा लाग्छन्; म ताजा भएको अनुभव गर्छु। उक्तिहरूले, सूक्तिहरूले, घटनाहरूले, कथाहरूले, तर्कहरूले, तथ्यहरूले मलाई भरिलो पार्छन्। कसैको भनाइ छ कि पढ्नु भनेको दुःख बेसाउनु हो।

लेखक त्यही हुन्छ, जो दुःख खाप्ताखाप्तै भित्रैबाट रोइरहन्छ। ज्ञानलाई प्रकट गर्न धोएको लुगालाई झैं जीवनलाई निचोर्नुपर्ने हुँदा लेखक कि अल्पायुमै बिदा हुन्छ कि भने रोगी भएर बाँच्तछ। पुस्तकका पत्रहरू पीडाका पत्र हुन्; जति पल्टायो त्यति नै पीडा थप्तै जाने।

यहाँ मलाई पुस्तकको छ चिन्ता-मेरा पुस्तकको भविष्य के होला ? ठूलो दुःख गरेर, ठूलोस्नेहसाथ मैले तिनीहरूको संकलन गरेँ। न मैले आफ्नो प्रबन्ध राम्ररी गर्न सकेँ, न पुस्तकहरूलाई प्रबन्ध मिलाएर राख्न सकेँ।

पुस्तकले अव्यावहारिक बनाइदिन्छ र सांसारिक मोजमजामा निष्पृह बनाइदिन्छ। पुस्तक थुपार्ने तर लेख्न कलम नउठाउने पाठकहरू झन् सकसमा छन्। तिनीहरूले प्राप्त गरेको ज्ञान हावामा उडेर जान्छ। पढियो तर लेख्न सकिएन भन्ने तिनीहरूको गुनासो हुन्छ। तैपनि ती के ठान्छन् भने लेख्नमा भन्दा पढ्नमा मजा छ, जति चाहियो उति लियो; न झन्झट, न झमेला !

यसैले कयौं गुरुहरू जति पढ्यो त्यतिमै सीमित हुन्छन्। पढ्नु दुःख कमाउनु हो भन्ने बुझेका तिनीहरू आफ्नो रैथाने ज्ञानमै हैकम बनाउन प्रयत्न गर्छन्। ज्ञानको टुंगो भेट्न प्रयत्न गर्नेहरू अन्ततः रिक्ततामा, शून्यतामा पुग्छन् र निराश भएर ढल्छन्। पुस्तकको आफ्नै संसार छ जहाँ हामी आफ्ना आँखाले देखेजस्तो संसार पाउँदैनौं। त्यहाँ पस्नासाथ हामी यो बुझ्न थाल्छौं कि धर्ती निश्चल छैन, सूर्य पूर्वमा उदाएर पश्चिमतिर जाँदैन; ताराहरू ससाना, राता मुगा जस्ता छैनन्; देहमा रगत दौडिरहन्छ; खानालाई पचाउन र बिथोल्न ब्याक्टेरियाहरू लडिरहन्छन्।

पुस्तक जगत्लाई खोतलिरहेछ; जगत् पुस्तकलाई जिल्याइरहेछ।

०००

पुस्तक पढ्नुपर्छ भन्ने संस्कारमा हुर्केको मलाई जहाँकहीँ पुस्तक देख्दा आफ्नो शिर झुक्न खोजेजस्तो लाग्छ। सधैं ज्ञानको भोको रहेको मेरो मन पुस्तकलाई देख्नासाथ उत्सुक हुन्छ र त्यसप्रति नम्रभाव राख्छ। बजारमा अथवा साथीभाइका घरमा पुस्तक भेट्दा म आदरसाथ हातमा लिएर पल्टाउँछु; विषयसूची हेर्छु। त्यसमा प्रतिपादित ज्ञानको मोटामोटी पहिचान लिन प्रयत्न गर्छु। पुस्तक मान्छेको अन्तरंग मित्र हो। पुस्तकहरू मेरो हातमा आउन चाहन्छन्; पढिन चाहन्छन्; मेरो मन समृद्ध र सक्कल बनोस् भन्ने चाहन्छन्। जब म पुस्तकमा डुब्छु, त्यसबखत तिनीहरू मलाई तानेर एक प्रकारको जादुको संसारमा लैजान्छन्; मलाई आफ्नो भौतिक अस्तित्व मेटिएको भान हुन्छ। मेरो र पुस्तकको सहअस्तित्व बन्दछ। पुस्तकमा जिउँदा अक्षरहरू मलाई हेर्छन्। म तिनीहरूको आह्वानलाई बुझ्ने चेष्टा गर्छु। असल पुस्तकको गुण यो हुँदो रहेछ कि जति चोटि पढ्यो उति चोटि ज्ञानको नयाँ उत्तेजना प्राप्त हुने !

मलाई यस्तो लाग्यो कि ज्ञानले मान्छेलाई बूढो हुन नदिने रहेछ। उसको देह बूढो भएर जाला तर आत्मा सधैं तरुनो ! असल पुस्तक पढ्ने मान्छे वृद्ध भए पनि जवानीमै अवस्थित हुन्छ र उत्साहको सञ्चार गर्न समर्थ हुन्छ।

०००

हाम्रो यहाँ पुस्तक किन्ने संस्कार छैन; माग्ने संस्कार भने निकै खँदिलो छ। पठन संस्कृति पनि यहाँ फितलो छ। दसआठवटा पुस्तक आफूसित छ भने र तीमध्ये केहीको पठन पनि गरेको छ भने ऊ आफूलाई गतिलो पाठक मान्दछ। उपहार दिनु भनेको फोसामा उपलब्ध गराउनु हो। जुन चिज फोसामा पाइन्छ, त्यसलाई हामी हलुको ठान्दछौं। एउटा सानो फूलमा अपार सौन्दर्य छिपेको हुन्छ; एउटा सूक्ष्म अणुमा अपार शक्ति निहित हुन्छ। एउटा सानो पुस्तकले पनि हामीलाई ठूलो ज्ञान दिन सक्छ।

नेपालमा ज्ञानको महत्व बुझ्नेहरू थोरै छन्। पुस्तकहरू छापिन्छन्; गहन पुस्तकहरू कम बिक्छन्। पुस्तकको निर्णायक बजार भयो। बजारका निम्ति तिनै पुस्तक उत्तम ठहरिए जो विज्ञापनमा पहिलो ठाउँ लिन्छन् र धेरै बिक्छन्। अहिले ज्ञानको उचाइले पुस्तकको नापो राखिँदैन। उच्च र निम्न ज्ञानको भेद भेटियो। त्यो निरपेक्ष ज्ञान, जो सत्यं, प्रियं र हितंको विस्तार गर्छ, किनारतिर धकेलियो। यस्तो प्रतीत हुन्छ कि मानवीय विद्याहरू खस्कँदै गएका छन्। ती त विज्ञान र प्रविधिका आ ि      श्रत हुन पुगे। कविता र साहित्यलाई टीभी र कम्प्युटरहरूले विम्बमा विस्थापित गरे।

इतिहास, दर्शन तथा जीवनचरित मनोमय रचना ठहराइए र तिनको रचना जसले जसरी पनि गर्न सक्ने भयो। प्रयोगशालाहरूमा, अर्धप्रयोगशालाहरूमा व्यस्त प्रविधिज्ञ, वैज्ञानिक एवं विशेषज्ञहरू भीडमा मच्चिरहेको मानव जगत्लाई च्याप्ने र तह लाउने औजार तयार पार्दै छन्। तिनीहरू मेसिनका आँखाले हेर्छन् र मान्छेको मेसिनीकरणमा व्यस्त छन्। मेसिनमा घोटिँदाघोटिँदा तिनीहरू आफैं मेसिनवत् भएका छन् र मानवीय आंगिकताले रहित हुँदै गएका छन्। आजको मान्छे ‘कृत्रिम मान्छे’ भन्ने पदमा परिभाषित हुँदो छ।

०००

विज्ञान र मानवीय विद्याहरूबीच प्रतिस्पर्धा छ; युद्ध छ। आधुनिक पश्चिम भनेको मानविकीय र वैज्ञानिक-दुई संस्कृतिका बीच चेपिएर छट्पटिइरहेको गोलार्ध हो जसले हामीलाई समेत हल्लाइरहेछ। तृतीय शतक इपूका एक प्रतापी शासक थिए। तिनी चीन वंशका भएकाले त्यही नामद्वारा चीन देश चिनियो। तिनले देशको संरक्षणका निम्ति कयौं माइल लामो पर्खाल बनाउन सुरु गरेका थिए। विखण्डनका विरोधी तिनी देशलाई एकताको सूत्रमा बाँध्न चाहन्थे। झिनामसिना राज्य, तिनका शासक, तिनका वीर कृत्यका कथा, इतिहास, जीवनी र आख्यानहरू रहेसम्म देशमा एकता आउन सक्तैन। भुरे, टाकुरे, पुड्के राजाहरू आफ्नै अतीतमा अल्झिरहने हुँदा तिनीहरूसित गाँसिएका इतिवृत्तहरू एकताका बाधक हुन्छन्। यस कारण सम्राट्ले यो आदेश जारी गरे कि विज्ञान र चिकित्साका ग्रन्थबाहेक अरूलाई आगामा होमिदिनू। मानवीय ज्ञानलाई धकेलेर विज्ञानको पृष्ठपोषण गर्ने काम चीनमा निकै पहिलादेखि सुरु भएको हो। अहिले पश्चिममा त्यही प्रवृत्ति प्रबल हुँदै आएको छ र कठोर उपयोगितावाद प्र       श्रयित भएको छ जसबाट हामी पे्ररित भइरहेछौं। चीनले राष्ट्रिय समग्रतालाई एकतामा बाँध्ने जुन प्रयत्न अतीतदेखि गर्दै आयो त्यसलाई बचाउनका निम्ति अहिलेको नेतृत्व पनि कटिबद्ध छ। यता हामी भने जाति, धर्म, भाषा, लिंग, क्षेत्र आदिमा विभाजित हुन थालेका छौं र ‘फुट र जुट’को संघारमा उभिएका छौं। तर के पुस्तक जलाएर मान्छेका भावना, आकाङाा र प्रवृत्तिलाई डढाउन सकिन्छ ?        एकातिर आगो लागिरहला, अर्कातिर पानीको वर्षा पनि त भइरहला। कैयौं जाति इतिहासबाट बिलाइसके; कैयौं जातिका जीवित अवशेष अझै छन्; तिनीहरूका बारे पुस्तक लेखिएका छन् जसको अध्ययनमा हामीहरू चाख बढाउँदै छौं।

जब इस्लाम धर्मको प्रवर्तन भयो तब त्यसका अनुयायीहरू ‘कुरान’ र तरबार बोकेर विजय गर्न हिँडे। कैयौं भूभागमा तिनीहरूले अधिकार जमाए। मि       श्रमाथि पनि तिनीहरूको आधिपत्य कायम भयो। अलेग्जेन्ड्रियामा सात लाख हस्तलिखित पुस्तकहरू थिए। त्यहाँ आगो लगाइयो। खलिफा ओमरको आदेश थियो कि ‘कुरान’सित मिल्ने भए ‘कुरान’ले नै काम चलिहाल्छ, ती पुस्तकको आवश्यकता परेन; ‘कुरान’सित नमिल्ने भए ती घातक पुस्तकको जगेर्ना गर्नु अनुचित हुन्छ। पुस्तकहरू जले; कुहिरीमण्डल धुवाँले आकाश ढाकियो। कत्रो परि       श्रम, कत्रो मिहिनेत, कत्रो त्याग, कत्रो समर्पण लगाएर लेखिएका ती पुस्तक कस्ता हुँदा हुन्; के लेखिएका थिए ती पुस्तकमा ?        मानवज्ञानको सञ्चिति खरानीमा उडेर गयो। पुस्तकलाई , ज्ञानको मात्र सम्मान होइन;        श्रमको पनि सम्मान हो। विरोधमा के पनि भनिन्छ भने दुर्घटना गरिएकै होइन; त्यसो हो भने छलफल र निर्णय गर्ने अधिकार विज्ञ इतिहासकारहरूमा छँदै छ तर दुनियामा आफ्नो बदमासी सहजताका साथ स्वीकार गर्ने कति नै होलान् र ?        नालन्दा तथा विक्रमशील विश्वविद्यालयहरूमा संकलित पुस्तकहरूको विनाशको कथा उस्तै दुःखदायी छ।

०००

पुस्तकालय राष्ट्रको आत्मा हो। पुस्तक आत्माको ज्योति हो। पुस्तकले हामीलाई देह, इन्द्रिय, मन, बुद्धि हुँदै आत्मासम्म लिएर जान्छ। शल्यचिकित्सकहरू शरीरको चिरफार गर्छन्; मनोविज्ञहरू मनको खोजतलास गर्छन्; आत्माको खोजतलास त पुस्तकले नै गर्छ। नरनारीको आत्मालाई बुझ्न हामीले ‘मुनामदन’ जस्ता काव्यकृतिहरू पढ्नुपर्छ। जो आत्माको विकेन्द्रण भएको मान्छन्, तिनीहरूले पनि यो बुझ्नुपर्छ कि भित्र कुनै न कुनै सूक्ष्म तत्वको अस्तित्व छ। त्यसको खोज गर्ने, त्यसलाई चिनाउने, त्यसप्रति हाम्रो जागरुकता बढाउने उत्तम औजार पुस्तक हो। केही त्यस्ता शिक्षित भनाउँदाहरूको घरमा मैले निरीक्षण गरेको छु जहाँ दुइटा पुस्तक पनि मैले देख्न पाइनँ।

घर छ; सम्पत्ति छ; छोराछोरी विदेशमा छन्; त्यस्ता व्यक्तिको घरमा दुइटा नेपाली पुस्तक पनि नहुनु र मसित केही पुस्तकको याचना गर्नु कति नमीठो कुरा हो ! एक जना धनी शिक्षित साथी, जो भर्खरै दिवंगत भएर गए; तिनलाई रोगले च्यापेछ; मलाई फोन गरेर सोधे कि के कुनै पुस्तक यहाँसित होला जसले कष्टबाट सजिलै पार लगाइदिन सक्छ। तिनको अभिप्राय बुझेपछि मैले के जवाफ दिएँ भने म पनि त्यस्तै पुस्तकको खोज गर्दागर्दै अन्ततः के अवगत गर्न पुगेँ भने त्यस्तो पुस्तक त चित्रगुप्तसित माग्नुपर्ने रहेछ।

०००

आज दैनिक सुखको खोज गर्ने पाठकहरूको बिगबिगी छ। उपभोक्तावादको दबदबाले गर्दा पाठकहरू त्यस्ता पुस्तकको खोज गर्छन् जसको मितेरी कामशास्त्रसित छ। तन्त्रको परम्परा रहेको हाम्रो देशमा त्यस्ता पुस्तक प्रोत्साहित भइरहेछन् जो मत्स्य, मुद्रा, मांस, मदिरा, मैथुनसित निकटता बढाउने मन्त्र दिन्छन् र तत्काल मस्तीको स्वर्गतिर उकालिदिन्छन्। गहन पुस्तक पढ्ने र सूक्ष्म विषयको खोजमेल गर्ने व्यक्ति एकलकाँटे, असांसारिक भएकाले त्यस्ता व्यक्तिको आज भाउ छैन। गहन÷सतहीको भेद मेटिएको नारा उराल्दै सतहशास्त्रीहरू गहन विषयका ज्ञाताहरूको खिल्ली उडाउँदै छन्। यता विकासवादीहरू अर्कै किसिमका तर्क राख्छन्। तिनीहरूका अनुसार न पहिला पुस्तक थियो न अब पुस्तकको भविष्य छ। पहिला पुस्तक थिएन,        श्रुति र स्मृतिहरू थिए। लेखनकलाले पुस्तकलाई जन्म दियो। अब इलेक्ट्रोनिक उपकरणले त्यसलाई पुनर्जन्म प्राप्त हुँदै छ। हामी पुस्तकको पुनर्जन्मको स्वागत गरौं। तथ्य यो हो कि पुस्तक कहिल्यै मर्दैन, त्यो सनातन छ। त्यो एकतिर पुनर्जन्ममा झाँगिइरहेछ अर्कोतिर आफ्नो जवानीको सनातनता पनि कायम गरिरहेछ। ज्ञानको विशेषता नै यो हो कि त्यो आफ्ना बहुमुखी अवतारद्वारा हामीलाई घेरिरहेछ तैपनि हामी निर्दोष ज्ञान प्राप्त गर्न चाहदैनौं; चलाखी मात्र विकसित गर्न चाहन्छौं।

०००

अपराह्न, म एक स्थानीय पुस्तकालयमा पसेँ। कर्मचारी मेचमा अडेसिएर निदाइरहेको थियो। म समाचार पढ्न थालेँ। बोक्सीको आरोप लगाएर पिटिएका दम्पतीको मूच्र्छित अवस्था पढ्दा मेरो मन विचलित भयो। मैले उसलाई त्यो खबर सुनाएँ। उसले आँखा खोल्यो र भन्यो, ‘हो र !’

उसले भन्यो, ‘कयौं दिन बिते, मैले तपाईं नै एउटा समाचार पढ्ने मान्छे हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ; यहाँ त कि बिहेको विज्ञापन हेर्न कि विदेश जाने खबर पढ्न कि खेलकुदको कुरा बुझ्न कि सिनेमाका नायक÷नायिकाको तस्बिर हेर्न कि राशिफल थाहा पाउन उरन्ठेउला युवक÷युवतीहरू पस्छन्; अश्लील गफ झिकेर हाँस्छन्; शारीरिक स्पर्शको रन्को झिक्छन्; कोही डेस्कमा मुन्टो अड्याएर निदाउँन आउँछन्; कोही भने मौका छोपेर चुरोट सल्काइहाल्छन्।’

‘तपाईं पनि त समाचार पढ्नुहँदो रहेनछ नि ?       ’ मैले सोधेँ। भन्यो, ‘समाचार पढ्ने रहर मलाई कहिल्यै भएन। विद्यालयको शिक्षक भनेपछि उसले पढाउँछ भन्ने त्यसै बुझिन्छ। पुस्तकालयको कर्मचारी भनेर थाहा पाउनेहरू मलाई देख्नासाथ पढ्दो होला भन्ने अनुमान लाइहाल्छन्। अन्तर्वार्तामा जंगबहादुर कसका छोरा भन्ने प्रश्न सोधियो। मैले तुरुन्त जवाफ दिएँ, ‘पृथ्वीनारायणका’ भनेर। अन्तर्वार्ता लिनेहरू हललल्ल हाँसे। तैपनि मेरै नाम निस्क्यो, अरू फेल भए। भन्नोस्, पढेर यहाँ केही काम छ ?        आजसम्म मलाई जंगबहादुर कसका छोरा हुन् भन्ने थाहा छैन, पृथ्वीनारायणका चाहिँ होइनन् भन्ने अन्तर्वार्ता लिनेहरूको हाँसोबाटै थाहा भएको थियो। यहाँ चार सय पुस्तक थिए, मभन्दा पहिलाका कर्मचारीले दुई सय बेचिहालेछन्, तिनीहरूको परम्परालाई किन तोडूँ भन्ने विचार गर्दै म एक सय जति उडाउने दाउमा छु; किन्नुहुन्छ भने सस्तैमा तपाईंलाई पनि मिलाऊँला; सहयोग गर्नोस्, कतै सुइँको दिनुभयो भने मेरो जागिर उड्छ नि ! अर्को कर्मचारी आए पनि यस्तै काम गर्छ भने तपाईंले अन्यथा सोचिरहनु आवश्यक छैन।

पुस्तक झिक्न उठेँ। दराजबाट साङ्लाका दुईतीन हूल यता र उता हाम्फाले। पुस्तकभरि धूलैधूलो ! पल्टाएर हेरेँ-कीराले ठाउँठाउँमा प्वाल पारेका, पुराना पुस्तकको हालत गोठबाट खेदिएका गाई र बाच्छाहरूको जस्तो भएको छ। ती पुस्तक, जसले सिकाए; सीप दिए; ज्ञान दिए; च्यातिएका छन्; धुजाधुजा पारिएका छन्; पोकापन्तरामा गुम्स्याइएका छन्। कति फ्याँकिएका कसिंगर भए; कति फोहोरको डुंगुरमा फालिए; कति कुहिएर गए; कति च्यातेर पसलेहरूले पोका बनाए।’

०००

मेरा एक साथीले आफ्ना र आफ्ना पिताका पुस्तक कुनै स्थानीय पुस्तकालयमा दान दिएछन्। केही वर्षपछि हेर्न जाँदा त्यहाँ एउटा पुस्तक पनि भेटेनन् रे ! त्यही पीडाले गर्दा तिनले आफूलाई चाहिने भनेर राखेका काम लाग्ने पुस्तकहरू खाल्डो खन्न लाएर पुरेछन्; त्यहाँ लगाएका तीन आँपका वृक्षहरू समृद्ध भई फल्न लागेको देखेर तिनले भनेछन्-मान्छेलाई ज्ञानको आवश्यकता रहेन; ज्ञानी भएर वनस्पतिले बरु परोपकार सिकाउने भयो।

मेरा एक आफन्तले अन्त्यकालको संकेत पाएपछि साइत हेरेर पुस्तक जति खोलामा बगाइदिएछन्। जहाँबाट पुस्तक बगाइयो त्यही ठाउँमा भोलिपल्ट बगेर आएका अर्धबेहोस आमाछोरा भेटिए। तिनीहरूको उद्धार गरियो। मान्छेले नपाएको ज्ञान खोलाले पाएछ क्यार नत्र तिनीहरूको प्राण त्यसले किन उडाइदिएन ?       

आज संस्थामा, संस्थानमा निगममा काम लाग्ने, उत्पादन बढाउन जान्ने, संस्थालाई आर्थिक तहमा उठाउन सक्ने दक्ष जनशक्तिको आवश्यकता छ, ज्ञानका धनीहरूको जरुरत छैन।

पुराना कागत बटुल्दै हिँडेको एक        श्रमजीवीका पछिपछि म परेँ। उसको साइकलबाट केही कागतपत्रहरू तल झरे। उठाएर हेरेँ-‘अमरसिंह’ नाटक, ‘कानुनको व्याख्या’, ‘मुटुरोग’ जस्ता पुस्तकका केही पृष्ठ रहेछन्। अनौठो लागेन। हामीले इतिहासलाई फाल्यौं; आफ्नो अतीतलाई फ्याँक्यौं; वीर पुर्खाहरूलाई लत्यायौं; तिनीहरूका गौरवमय सालिक फोर्‍यौं। तर्कले होइन घृणाले, विवेकले होइन बलले, मुटुले होइन मूर्खताले र नारा दियौं राष्ट्रवादको जसको मूल छैन; जसको जरो छैन; जो ढलेको छ; उठाउने ठोस प्रयत्न छैन। अदालततिर हेरौं मानहानिमा फसिएला भन्ने डर, स्वास्थ्यलाभका निम्ति अस्पतालतिर लागौं एउटा अंगको चिरफार गरिनुपर्नेमा अर्कै अंगको गरिएला भन्ने डर !

अहिले इ–पुस्तक, इ–पुस्तकालयहरू विकसित गर्ने चासो बढेको छ। त्यसमा पुस्तकले संरक्षण खोज्नु सर्वथा उचित हो। वैद्युतिक सञ्जालमा ज्ञानको प्रवेश भएपछि पुस्तकको आवश्यकता रहेन भनिन्छ तर जतिजति इ–पुस्तक बढ्दै जान्छ उतिउति छापाको पुस्तकमा हाम्रो चाख बढ्दै जान्छ। पुस्तक र इ–पुस्तकमा कहिले यो, कहिले त्यो केन्द्र। पुस्तकले हामीमा जुन खँदिलो प्रभाव जमाएको छ त्यो सजिलै उडेर जाने छाँट छैन। पुस्तकलाई देख्दा मेरो शिर झुक्तछ तर नेटमा प्राप्त पुस्तकले मेरो शिरलाई त्यसरी झुकाउन सक्तैन। नेटीय पुस्तक पुस्तककै पुनर्जन्म हो। रोलाँ बार्थले ‘कृतिदेखि टेक्स्टसम्म’ नामक कृतिको, डेरिडाले ‘पुस्तकको अन्त्य र लेखनको प्रारम्भ’ नामक कृतिको रचना गरे। अहिलेलाई टेक्स्टको, लेखनको युग भनियो। के पनि खुलाइयो भने पुस्तक बद्ध हुन्छ; संकुचित हुन्छ; पूर्वनिर्धारित नियमअनुसार चल्दछ जब कि टेक्स्ट वा लेखन खुला हुन्छ; मुक्त हुन्छ; अन्तर्पाठीय हुन्छ। जेजे भने पनि आखिर ती पुस्तककै नयाँ संस्करण हुन्। ती चिन्तकका टेक्स्ट र लेखनसम्बन्धी अवधारणाहरू ज्यादाजसो पुस्तकै पढेर निकालिएका थिए।

मलाई अहिले सबभन्दा ठूलो चिन्ता यही छ कि मेरा पुस्तकको भविष्य के होला ?        मलाई आफ्नोभन्दा पुस्तकको भविष्यको चिन्ता ज्यादा छ; ठूलो दुःख गरेर, अत्यन्त मितव्ययी भएर, ठूलो स्नेहका साथ मैले तिनीहरूको संकलन गरेँ। न मैले आफ्नो प्रबन्ध राम्ररी गर्न सकेँ न पुस्तकहरूलाई प्रबन्ध मिलाएर राख्न सकेँ। केही बोरामा कति वर्षदेखि निसास्सिइरहेछन्, केही भित्ताका दराजमा थुनिएका छन्; केही खुला दराजबाट मलाई निराश आँखाले हेर्छन्; केही भूकम्पले यता र उता फालिँदा थलिएका छन्। म तिनीहरूलाई दुःखी आँखाले हेर्छु किनभने म तिनीहरूको इच्छालाई पूरा गर्न सक्ने अवस्थामा रहिनँ। तिनीहरूले मलाई ज्ञानी बनाउन चाहे तर चलाख बनाउन चाहेनन्। यसैले तिनीहरू पनि दुःखी छन्, म पनि दुःखी छु।


त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त प्राध्यापक गौतमका ‘देवकोटाका प्रबन्धकाव्य’, ‘रचनाको रोमान्स’ ‘पाश्चात्य महाकाव्य’, ‘आधुनिक आलोचना : अनेक रूप अनेक पठन’, ‘उत्तरआधुनिक जिज्ञासा’, ‘उत्तरआधुनिक संवाद’, ‘उत्तरसिद्धान्त’, ‘माक्र्सवाददेखि उत्तरमाक्र्सवाद’ जस्ता पुस्तक प्रकाशित छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.