पाँच दिनपछि भेटियो बाढीमा बेपत्ता बजगाईको शव, तीन अझै बेपत्ता
सिन्धुली : बाढीमा बेपत्ता सिन्धुलीका खुमराज बजगाईको शव पाँच दिन पछि फेला परेको छ। गत सोमबार गोलन्जोर गाउँपालिका ४ रानीखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका सोही वडाका १७ वर्षका खुमराज बजगाईको शव फेला पारिएको हो।
बजगाईको शव पाँच दिनपछि सोही वडाको बिमिरे खोला किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। ‘स्थानीय, प्रहरी र आफन्तले निरन्तर खोजी गर्ने क्रममा बिमिरे खोला किनारमा उनको शव भेटिएको हो,’ सिंहले भने।
योसँगै सिन्धुलीमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६ जना पुगेको छ। यस अघि नै दुधौली नगरपालिकामा ४ जना र फिक्कल गाउँपालिकामा १ जना गरी पाँच जनाको मृत्यु भएको थियो।
तीन जना बेपत्ताको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी कार्य स्थानीय र प्रहरीले जारी राखेपनि फेला पार्न नसकिएको हो।
गत असार २८ गते शनिबार कमलनदीमा आएको बाढी र पहिरोले बगाउँदा बेपत्ता ३ जनाको शव फेला पार्न नसकिएको प्रहरी प्रमुख सिंहले जनाए। पहिरोले घर सहित बगाउँदा बेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलका छोरा सागर पौडेलको शव भेटिएको छैन।
दुधौलीकै वडा नम्बर ४ डकाहाबाट कमलानदीको बाढीले बगाउँदा बेपत्ता भएका रेणु कापरीको ७ वर्षको छोरा आधिं कापरी र उनकी ६० वर्षकी आमाजु मरणी कापरीको शव फेला परेको छैन।
खोला तथा नदीमा पानीको बहाव कम नभएकाले शव खोज्न थप समस्या भएको पनि छ।