प्रदेश ३ मा बाढीपहिरोको कहर
प्रदेश ३ ब्युरो : पहिरोको उच्च जोखिममा रहेको मकवानपुरको दुई गाउँ स्थानान्तरण गर्नुपर्ने भएको छ। मकवानपुरको कैलाश गाउँपालिका–५ कालिखोला र भीमफेदी गाउँपालिका–५ दमारका बासिन्दालाई स्थान्तरण गर्नुपर्ने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘बाढीपहिरो कटानले ठूलो पानी पर्दा दुई गाउँ थप जोखिममा पर्ने देखिएको छ’, उनले भने, ‘गाउँलाई अन्यत्र सार्न पहल भइरहेको छ।’
कैलाशको कालिखोलाका एक सय ४० घर मध्य ५० परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताए। ‘बस्तीवरिपरि, तल, माथिबाट पहिरो गएकाले पूरै बस्ती जोखिममा परेको छ’, उनले भने, ‘गाउँपालिकाले मात्र बस्ती स्थानान्तरण गर्न नसक्ने भएकाले अन्यत्र सार्न माथिल्लो निकायमा पहल गरिरहेका छौं।’
भीमफेदीको दमारका १४ परिवार गाउँ छेउमै स्थायी टहरा हालेर बस्न बाध्य छन्। ‘ठूलो पानी पर्नेबित्तिकै कतिखेर बाढीपहिरोले लैजाने हो थाहा छैन’, स्थानीय विमला स्याङ्तानले भनिन्, ‘त्यसैले गाउँभन्दा पल्लो डाँडामा टेन्टमा बस्दै आएका छौं।’
बजगाईंको शव भेटियो, तीन जना बेपत्ता
सिन्धुली : बाढीमा बेपत्ता सिन्धुलीका खुमराज बजगार्इंको शव पाँच दिनपछि फेला परेको छ। गोलन्जोर गाउँपालिका ४ रानीखोलामा सोमबार आएको बाढीले बगाउँदा बेपत्ता भएका सोही वडाका वर्ष १७ का बजगाईको शव बिमिरे खोला किनारमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। यससँगै सिन्धुलीमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुधौली नगरपालिकामा ४ जना र फिक्कल गाउँपालिकामा १ जना गरी पाँच जनाको मृत्यु भइसकेको थियो।
कमलनदीमा असार २८ मा आएको बाढीपहिरोले बगाएका ३ जना फेला पार्न नसकिएको प्रहरी प्रमुख सिंहले जनाए। पहिरोले घरसहित बगाउँदा बेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हीराबहादुर पौडेलका छोरा सागर भेटिएका छैनन्। दुधौलीकै वडा नम्बर ४ डकाहाबाट कमलानदीको बाढीले बगाउँदा बेपत्ता भएका रेणु कापरीको ७ वर्षको छोरा आधीं र उनकी ६० वर्षकी आमाजु मरणी पनि फेला परेका छैनन्।
पहिरोले २६ चौपायासहित २ घर बगायो
दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा शुक्रबार राति आएको पहिरोले २६ चौपायासहित २ घर बगाएको छ।
गौरीशंकर गाउँपालिका–७, मार्बुको सुसिनटारस्थित राजेन्द्र थामीको २६ वटा चौपायासहित २ घर बगाएको दोलखा प्रहरीले जनाएको छ। पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना र नगदसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए। घरअगाडि पार्किङ गरी राखेको थामीको लु.३त २३०४ नम्बरको ट्र्याक्टर र होमबहादुर श्रेष्ठको बा.१७प ६५०२ नम्बरको मोटरसाइकलसमेत बगाएको उनले जानकारी दिए। पहिरोले गोठमा रहेका ३ वटा गाई, २३ बाख्रा र ५ कुखुरासहित बगाएको महतले बताए।
पहिरोले करिब ३५ रोपनी जमिन बगाएको छ। मकै र कोदो गरी करिब ५० पाथी अन्न, खानेपानीको पाइप करिब २० मिटर, २ वटा माछापोखरी बगाउँदा थामीको करिब ७० लाख र श्रेष्ठको २ लाख मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ।
पहिरोले मानवीय क्षति नभए पनि आसपासको करिब २ किलोमिटर क्षेत्रमा अझै जोखिम रहेकाले बसोवासको सम्भावना नभएको सिँगटी इलाका प्रहरी कार्यालयले जनाएको छ। गाउँपालिका–७ मार्बु र वडा नं. ६ चंखु जाने भित्री शाखा कच्ची सडकसमेत पहिरोले बगाएपछि सवारीसाधन चल्न चल्न नसकेको प्रहरीले बताएको छ।