विद्यालयमा ‘ई–पुस्तक’
इलाम : रोङ गाउँपालिका–५ को उमा महेश्वर माध्यमिक विद्यालयका विद्यार्थी अहिले पाना पल्टाउनुको साटो सुन्ने र हेर्ने पुस्तकबाट ज्ञान लिन थालेका छन्। दुर्गम गाउँहरुमा ६ हजार ५ सय पुस्तक राखेर ई–पुस्तकालय सञ्चालनमा ल्याएपछि त्यहाँ विद्यार्थीले प्रविधिको उपयोग गर्न थालेका हुन्।
इन्टरनेट उपलब्ध नभएको सो विद्यालयका एक सय १० जना विद्यार्थीले सर्वरमार्फत पुस्तक पढ्ने प्रविधिको प्रयोग गरिरहेको शिक्षक कान्तिराम पन्तले जानकारी दिए। पन्तकाअनुसार रोङमा यो पहिलो प्रयोग हो। उनले भने ‘विद्यार्थी र शिक्षकले मुख्य विषयको अध्ययनका लागि सजिलो उपाय प्रयोग गर्न पाएका छौ।’ ७ सय जीबी डाटामा दुई हजार पुस्तकहरु सुन्न पाउँछन् भने एक हजार ५ सय पुस्तक टेलिभिजनको स्कृनमा हेरेर सिक्ने गरेका छन्।
सर्वरमा तीन हजार पुस्तक राखिएको छ। ई–लाइब्रेरी सर्वरमा कक्षा १ देखी कक्षा १२ सम्मका बालबालिकाहरुका लागि पाठ्यक्रम राखिएको छ। कक्षा १ देखी ८ सम्मका लागि नेपाली र अंग्रेजी दुबै माध्यमका पाठ्यपुस्तकहरु अडियो, भिडियो र खेलको रुपमासमेत रहेको पन्तले बताए।
‘विद्यार्थीको कक्षा, रुचिअनुसार अन्य सामग्रीसमेत रहेका छन्,’ उनले भने। सर्वरबाट राउटर जडान गरी एकैसाथ डेक्सटप, ल्यापटप र मोबाइलमासमेत चलाउन सकिन्छ। शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्रले तयार पारेको प्रत्यक्ष शिक्षणमा आधारित श्रव्य–दृश्य सामग्री भएकाले एसईईको तयारीमा रहेका विद्यार्थीका लागि शिक्षकको अनुपस्थितिमासमेत उपयोगी रहेको ई–लाइब्रेरी सर्वरका मेची प्रतिनिधि सरोज लम्सालले बताए। रोङ गाउँपालिकाको सहयोगमा जडान गरिएको यो प्रविधि प्रभावकारी भएमा सबै विद्यालयमा जडान गरिने गाउँपालिका अध्यक्ष सम्शेर राईले बताए।
प्रतिक्रिया दिनुहोस !