हट्यो मुग्लिङमा जीर्ण पुलको जोखिम : ‘आर्क ब्रिज’ मा गुड्न थाले गाडी

हट्यो मुग्लिङमा जीर्ण पुलको जोखिम : ‘आर्क ब्रिज’ मा गुड्न थाले गाडी

मुग्लिङ : तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमाथि ‘आर्क ब्रिज’ सञ्चालनमा आएको छ। निर्माण सकिएको लामो समयपछि प्राविधिक परीक्षणका लागि पुल सञ्चालनमा आएको हो।

दुई दिनयता नयाँ पुलबाट आवतजावत सुरु भएको हो। लोहनी एड्भेन्चर जेभीले वैशाख अन्त्यमा पुल तयार पारे पनि पुलसँगको पहुँच मार्ग तयार नभएकाले सञ्चालनमा आउन सकेको थिएन।

असार दोश्रो साता बाटो केही समय अवरुद्ध गरेर बाटो निर्माणको काम थालिएको थियो। बाटो निर्माणलगत्तै पुलमा जोडिएका निर्माण सामग्री हटाएर पुललाई परीक्षणस्वरुप सञ्चालनमा ल्याइएको कम्पनीका मोतिलाल शर्माले जानकारी दिए।

‘पुल उद्घाटन त गरिएको छैन,’ उनले भने,‘तर परीक्षणका रुपमा सञ्चालन थालिएको हो।’ पुल सञ्चालनमा आए पछि यसले पुरानो र जीर्ण पुलमार्फत हुँदै आएको जोखिमपूर्ण यात्रा हट्नेछ।

हाल सञ्चालनमा रहेको पुलले एक पटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ। अब नयाँ पुलको परीक्षण सकिएपश्चात सञ्चालनमा आउनेछ। नयाँ पुलको उद्घाटनपश्चात पुरानो पुललाई विस्थापन गर्ने सडक विभागको योजना छ।

पृथ्वी राजमार्ग बन्दाताका तयार भएको पुलको आयु सकिनै लाग्दा नयाँ पुल तयार भए पछि अब जोखिमपूर्ण यात्रा हट्ने ठानिएको छ। हल्लने पुरानो मुग्लिङ पुलमा विगतमा चिप्लिएर कैयौं मोटरसाइकल दुर्घटना भएका थिए।

नेपाली प्रविधिको ‘नमूना पुल’

हाल अस्तित्वमा रहेको 'सिंगल लेन' को पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्तर्गतको पुल महाशाखाले नयाँ प्रविधिको पुल निर्माण थालेको थियो। झण्डै ११ करोड लागतमा निर्माण थालिएको चिनियाँ प्रविधिको पुलको मुख्य भाग १२० मिटर लामो छ।

पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिएको छ। यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बनेको सडक विभागका योजना प्रमुख रामहरि पोख्रेलले बताए। पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन्।

पुलको जग बलियो भएको र बढी भार थेग्ने खालको ‘ल्यान्डमार्क’ बनेको निर्माण कम्पनीका शर्माले बताए। अब ठूला नदीमा यस्ता बलिया पुल बनाउन नेपाली कम्पनी र प्राविधिक सक्षम बनेको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.