कारवाहीले सुध्रिएनन् प्रहरी

कारवाहीले सुध्रिएनन् प्रहरी

काठमाडौं : असार २७ गते सामाखुसीस्थित एक मिठाइपसलमा घुस लिँदै गर्दा प्रहरीका ४ जवान अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा परे। महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले भोलिपल्टै पुलिस क्लबमा ट्राफिक बिटदेखि प्रभागसम्मका इन्चार्ज डाकेर आचरणबारे झन्डै दुई घण्टा ब्रिफिङ गरे। उनले भनेका थिए, ‘घुस लिनुअघि परिवार सम्झनोस्। तपाईँको कुकर्मले तीन पुस्तासम्म हानी पुग्न सक्छ। प्रहरीको जागिर घुस लिनका लागि होइन।’ केही दिन उपत्यकाका प्रहरी हाईअलर्टमै थिए। तर साउन ८ गते फेरि अर्को यस्तै घटना सार्वजनिक भयो।

महानगरीय प्रहरी वृत्त गौशालाका २ जना सइ रमेशबहादुर पाण्डे र राजु स्वर्णकार १८ हजार रकम लिँदालिँदै पक्राउ परे। डीआईजी क्षेत्रीले भोलिपल्टै उपत्यकाका सइसम्मका सबै प्रहरी कर्मचारीमाझ आचरण सुधार्न फेरि झण्डै दुई घण्टा निर्देशन दिए। त्यसपछि उपत्यकाका प्रहरी स्टिङ अपरेसनमा परेका छैनन्।

प्रहरीमा कर्मचारीलाई विभिन्न तालिम दिइन्छ। त्यसमध्ये करेक्सन तालिम महत्वपूर्ण मानिन्छ। उपत्यकामा मात्र गत मंसिरदेखि असारसम्म २ जना सइदेखि जवानसम्म गरी १ सय ३३ जनालाई करेक्सन तालिम दिइएको छ। यस्तो तालिम देशभरीका प्रहरी कार्यालयमा दिइँदै आएको छ। प्रहरी मुख्यालयका अनुसार गत वर्ष मात्र ६ हजारले करेक्सन तालिम लिए। त्यसो त प्रहरीले घुस रकम फिर्ता गरेका पनि छन्। उपत्यकाको मात्र तथ्यांक हेर्दा १ सय ५७ जनाले घुस रकम फिर्ता गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

तालिम र निर्देशनले मात्र प्रहरीको आचरण र व्यवहार नधुध्रिने तथ्य अख्तियारकै कारवाहीले पनि पुष्टी गरेको छ। आयोगले गत वर्ष मात्र डीएसपीदेखि जवानसम्म गरी ३३ जनालाई घुससहित पक्राउ गरी कारवाही गरेको छ। सामान्यतया करेक्सन तालिम अनुगमनमा गएका बेला खटाएको स्थानमा ड्युटीमा नजाने, पोसाकको कदर नगर्ने, हतियार दुरुस्त नराख्ने, सरसफाइमा ध्यान नदिनेलगायत विषयमा दिइन्छ।

सर्वसाधारणबाट पटक पटक गुनासो आएका र आचरणविपरीत काम गरेका प्रहरीमाथि भने छानबिन गरेर विभागीय कारवाही गरिन्छ। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ०७५/७६ मा एसएसपीदेखि कार्यालय सहयोगीसम्म १ हजार ८ सयलाई विभागीय कारवाही गरिएको छ। तीमध्ये २ सय ४९ जनालाई प्रहरी सेवाबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ।

प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले संगठन सुधार भइरहेको भए पनि समय समयमा घुससहित प्रहरी पक्राउ पर्ने गरेको तथ्य नलुकेको बताए। उनले भने, ‘पक्कै पनि विभागीय कारवाही र निर्देशनले मात्र प्रहरी आचरण सुध्रिँदैन। तर सुधारमा एउटा पक्षको मात्र हात रहन्न। नागरिक समाजको दृष्टिकोण पनि सुधारिन आवश्यक छ।’ उनले अमुक व्यक्तिको कुकर्मलाई लिएर समग्र संगठनलाई मुछ्नु उचित नहुने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.