सीमामा एसएसबीको अत्याचार

सीमामा एसएसबीको अत्याचार

 इलाम : भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नगरपालिका-२ मानेभञ्ज्याङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो।-

-एसएसबीले सूर्योदय नगरपालिका-२ को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो।

-एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणाधीन भ्युटावर सहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन।

नेपाल-भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटना मात्र हुन्। एसएसबी पछिल्लो समयमा दशगजा आसपास सक्रियता तीव्र पार्दै नेपालीलाई नेपालभित्रै आएर दुःख दिन थालेको छ।

एसएसबीको आदेशमा नेपाल तर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने, ‘एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन।’ आफ्नै जग्गामा घर बनाउन नदिएपछि उनले सीमा प्रशासन कार्यालयमा सीमा कायम गर्न निवेदन दिए। सीमा प्रशासन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधि सोमबार त्यहाँ पुगेर अनुगमन पनि गरे। सीमा प्रशासन प्रमुख दयाकृष्ण ढकालले दशगजा छाडेर घर बनाउनु भनेर फर्केको उनले बताए। उनका अनुसार एसएसबीको स्थानीय प्रतिनिधिले भने ‘माथि सोधेर’ मात्र घर बनाउन अनुमति दिने नदिने बताउन सक्ने जवाफ दिए।

उनी मात्र हैन नेपाल-भारत सिमाना छेउ बस्ने सबै नेपाली यस्तै दबाबमा रहने सन्दकपुर गाउँपालिकाका अगुवा उमेश गुरुङ बताउँछन्। अहिले सिमानामा यस्तै थिचोमिचोका घटना बढ्न थालेका छन्। यसअघि नेपालीले प्रयोग गर्ने वैकल्पिक सडकबाट विषादी मिसिएको तरकारी भारततर्फ गएको भन्दै एसएसबीले सडक अवरुद्ध गरेको थियो। ४ दिनपछि एसएसबी आफैंले खाल्डो पुरेको थियो।

एसएसबीका इन्स्पेक्टर निमेश डिवानीया र नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्टका इन्स्पेक्टर शशांकध्वज कार्की तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओलीबीच छलफलपछि खाल्डो पुरिए पनि खाल्डोभन्दा ठूलो त्रास जन्मिएको बताउँछन् पशुपतिनगरका व्यवसायी मिलन क्षेत्री।

सशस्त्र प्रहरीको पछिल्लो विवरण अनुसार इलामको नेपाल-भारत सीमा क्षेत्रमा ३९ वटा मुख्य र सहायक सीमा स्तम्भ हराएका छन्। वर्षौंअघि हराएका यी सीमास्तम्भ पुनर्निर्माण नगर्दा सिमानामा भारतको चलखेल बढ्दो छ। सशस्त्रको रिपोर्टअनुसार एउटा जंगे पिलर, १३ मध्यम पिलर र २५ साना पिलर हराएका छन्। नेपालतर्फ पशुपनितगरमा सशस्त्रको एउटा मात्र सीमा सुरक्षा पोस्ट छ। भारतले एक÷एक किलोमिटरमा एसएसबी राखेको छ। सशस्त्रको रिपोर्टमा इलामका ९ ठाउँमा अहिले पनि सीमा विवाद छ।

सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईका अनुसार एक महिनायता पशुपतिनगर नाकाबाट तरकारीसमेत छिर्न नदिएपछि स्थानीयले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। इलामको नेपाल-भारत सिमानाको ५२ किलोमिटर क्षेत्रका बासिन्दाले निरन्तर सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ।

सन्दकपुर गाउँपालिकाको गैरीबास-कालपोखरी पर्यटन पथमार्गका अध्यक्ष उमेश गुरुङलाई बाटो निर्माण गर्दा ३ पल्ट एसएसबीले क्याम्पमा लगेर स्पष्टीकरण लियो। गुरुङले पटक पटक अभियुक्त जस्तो बयान दिए। उनले भने, ‘सिमानामा अत्याचारको कुनै सीमा छैन।’ नेपाली प्रशासन कमजोर भएकाले पनि स्थानीयले दुःख पाएको उनले बताए। उनले भने, ‘तिमीहरूका ठूला मान्छे सिमानामा कहिलै आउँदैन भन्दै होच्याउने गर्छन् उनीहरू।’

प्रदेश सरकारको सहयोगमा पर्यटकीय सन्दकपुरमा निर्माण सुरु गरेको भ्युटावर, शिवालय मन्दिर मर्मतसम्भार समेत एसएसबीले गर्न दिएको छैन। गुरुङका अनुसार सो काम गत वष नै सक्नुपर्ने थियो तर एसएसबीले काम गर्नै दिएन।

सन्दकपुरको गैरीबास, जोगमाईको माग्मालगायत क्षेत्रमा नेपालीले आफ्नै जग्गामासमेत घर बनाउन रोक लगाएको स्थानीयको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.