किशोरीमै आमा

किशोरीमै आमा

 मिना बुढाथोकी

सल्यान : शारदा नगरपालिका–१ कि १५ वर्षीया किशोरी लक्ष्मी थापाले केहि दिनअघि जिल्ला अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिइन्। उनी जस्तै सोही अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिएकी १५ वर्षीया धना कुँवर पनि किशोरीमै आमा बनेकी छन्। स्कुले उमेरमै बिवाह गर्ने र आमा बन्ने किशोरीहरुको संख्या बढ्दो छ।

एक वर्षको अवधिमा मात्रै साढे चारसयभन्दा बढी बालिकाले बच्चा जन्माएको जिल्ला अस्पतालको तथ्यांकमा छ। उमेर नपुगी बिहे गर्ने र आमा बन्नाले उनीहरुको स्वास्थ्यमा मात्रै होइन पढाई पनि रोकिएको छ। जिल्लामा बाल विवाह गर्नेको एकिन तथ्यांक नभए पनि जिल्ला अस्पताल सल्यानमा प्रसूति सेवा लिन आउने किशोरीको संख्या भने बढि छ। अस्पतालको तथ्यांकअनुसार एक वर्षको अवधिमा चार सय ४३ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्।

जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्स कोपिला पुनले सानो उमेरमा आमा बन्दा किशोरी आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिने गरेको बताइन्। ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दिर्घकालमा पाठेघर खस्ने, पिसाव चुहिने समस्या हुन्छ’ उनले भनिन्, ‘उनीहरुबाट जन्मिएका बच्चाको तौल पनि कम हुन्छ। यसले गर्दा बच्चा जन्मजात कुपोषित हुन्छन्।’

अभिभावकले नमाने पनि स्कुले उमेरमै प्रेम सम्बन्धमा बस्ने र आफै भागेर बिवाह गर्ने क्रम बढ्दै गएको छ। जिल्लाका ग्रामिण क्षेत्रमा अझै पनि घरायासी कामका लागि बढि सन्तान जन्माउने चलन कायमै छ। कर्णाली प्रदेशको सबैभन्दा बढी बाल बिवाह सल्यानमै हुने गरेको तथ्यांकले देखाएको छ। शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतले नगरभित्रका प्रत्येक विद्यालयमा बालबिवाह न्यूनिकरणका लागि किशोर–किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताइन्।

स्थानीय सरकारले बालबिवाह न्यूनिकरणका लागि स्पष्ट नीति बनाउनुका साथै बालबिवाह गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले बताए। शारदा नगरपालिका–१० का वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले बालबिवाह रोक्न चुनौती बन्दै गएको बताए।

प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले गाउँमा बालबिवाह व्याप्त भए पनि प्रहरी र अदालतसम्म उजुरी नपर्ने गरेको बताए। ‘हरेक घरमा बालबिवाह भइरहेका छन्। तर अहिलेसम्म प्रहरीकहाँ उजुरी परेका छैनन्। अभिभावक र बालबालिकालाई सँगै राखेर सचेतना फैलाउनसके मात्रै यो समस्या न्यूनिकरण हुनसक्छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.