ओली-प्रचण्ड : संशयपूर्ण सम्बन्ध

ओली-प्रचण्ड : संशयपूर्ण सम्बन्ध

नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू (एमाले-माओवादी) ऐतिहासिक आवश्यकताले पार्टी एकता गरेर एक ठाउँमा आइपुगेका हुन्। एकता गर्दा केन्द्रमा दुइटा अध्यक्ष राख्ने संगठनात्मक संरचनाको मोडालिटीमा सहमति गरेर उनीहरूले पार्टीमा दुई अध्यक्षको व्यवस्था गरेका छन्। त्यस्तो सहमतिले नै तत्कालका लागि काम गरेको थियो। एकतालाई सहज र सजिलो बनाइदिएको पनि थियो।

एकताको १५ महिनापछि अब त्यो दुई अध्यक्षको व्यवस्थालाई वास्तवमै प्रयोगमा ल्याउनुपर्ने अवस्थामा अहिले नेकपा आइपुगेको छ। अधिकार कसमा राख्ने भन्ने रस्साकस्सी नेकपामा देखिँदै छ। एउटा अध्यक्षलाई अधिकार आफैंमा मात्र राखिरहन चाहने प्रवृत्ति देखा पर्दै जान थालेको छ। त्यसैको पीडा अहिले नेकपाभित्र देखा परिरहेको छ।

मैले हेर्दा के देख्छु भने, दुई अध्यक्ष भएपछि एउटा अध्यक्षलाई सरकार सञ्चालनको सम्पूर्ण काम छ। सरकार सञ्चालनमा पूर्ण अवधि काम एउटा अध्यक्षमा भएपछि पार्टीको काममा उनको उपस्थिति सहायक हुनुपर्ने हो। सरकारमा हुनेले पार्टीमा सांकेतिक उपस्थिति मात्र हुनुपर्ने हो।

यो पढ्नोस>> अविश्वासपूर्ण त्रास

तर, फेरि अर्का अध्यक्षसँग त्यस्तो कुनै काम छैन। उनको ध्यानचाहिँ पार्टीमा हुनुपर्ने हो। ट्याक्टिकल्ली त्यस्तो हुनुपर्ने हो। तर, नेकपाभित्र अध्यक्षद्वयबीच त्यसरी कार्यविभाजन हुन सकेको देखिँदैन। तर यहाँ पार्टीको आफ्नो पक्ष, त्योभन्दा पनि पार्टीभित्रको आफ्नो गुटको हित मात्र सोच्ने कारणले नेकपा पार्टी र सरकारको नेतृत्व दुवैतिर लथालिंग अवस्थामा छ। सरकार सञ्चालनमा पनि ध्यान बाँडिएजस्तो देखिन पुगेको छ। एउटै व्यक्तिको ध्यान सरकार र पार्टी सञ्चालन दुवैतिर लाउनुपरेको छ। यसले दुवैतिरको कामलाई असर गरेको छ। पार्टी सत्ता छोडियो वा गयो भने भोलिका दिनमा सरकारको सत्ता पनि आफ्नो हातबाट गुम्छ कि भन्ने मानसिकता हुन सक्छ एउटा अध्यक्षमा। अर्का अध्यक्ष आफ्नो भूमिकाको खोजीमा देखिँदै छन्।

अध्यक्षद्वयका बीचको सम्बन्ध यतिखेर संवेदनशील देखिन्छ। जसले गर्दा एउटा अध्यक्ष प्रचण्डको अवस्था ‘बोल्दाबोल्दै मछडी, मुखभरि पानी !’ भनेजस्तो देखिन्छ। उहाँ (प्रचण्ड) ले अलिकति बोल्यो भने कहाँ के अर्थ लगाउने भन्ने निस्किहाल्छ, नबोलौं भूमिकै नभएको जस्तो अवस्था छ। सांकेतिक रूपमा अध्यक्ष त भनिएको छ, तर भूमिकाको हिसाबले अध्यक्षीय भूमिका निर्वाह गर्न पाएको अवस्था अहिले छैन। देखिँदैन। यो स्थिति भनेको कुनै पनि बेला कुनै पनि मोड लिन सक्ने अवस्थाको हो। यतिखेर पार्टी एकताको सम्पूर्ण प्रक्रिया पूरा नभएकाले मात्र प्रचण्डजी मुखर भएर बाहिर नआएको म देख्छु। प्रचण्ड मात्र होइन, पूर्वमाओवादीका कुनै पनि नेताहरू यी सबै कुरामा त्यति खुलेर बोलेको देखिएको छैन। प्रचण्डजीले नै बोलेपछि स्थिति अर्को बन्न सक्छ। एकता प्रक्रियामै व्यवधान आउन सक्छ।

पार्टी एकताको सम्पूर्ण प्रक्रियाको चक्र पूरा भएपछि अनि थाहा हुन्छ कि यथार्थमा अध्यक्षद्वय हुँदाको अवस्था। त्यसपछि मात्रै पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी हुन्छ कि नयाँ किसिमको समीकरण बन्छ ?       थाहा लाग्छ। किनभने, अध्यक्ष केपी ओलीको कार्यशैलीबाट पूर्वएमालेहरूकै नेता र कार्यकर्ताहरू खुलेर विरोधमा बोलिरहेका छन्। त्यसले गर्दा भोलिको सिनारियो एकीकरणको औपचारिक चक्र जब पूरा हुन्छ, त्यसपछि यथार्थमा दुई अध्यक्ष हुँदादेखि अहिलेसम्मको पीडा बाहिर आउँछ जस्तो मलाई लाग्छ।

अध्यक्षद्वय ओली र प्रचण्डका बीचमा एकअर्कालाई विश्वास नगरी धरै देखिन्न। संशयपूर्ण ढंगले अध्यक्षद्वयले एकअर्कालाई विश्वास गरिरहेको अवस्था देखिएको छ। विश्वास छ भनेर बाहिर देखाउन पनि जरुरी छ। एकअर्काको भूमिकाप्रति एकअर्कामै संशय छ। संशयपूर्ण विश्वासको अवस्थामा ओली र प्रचण्ड सम्बन्ध देखिन्छ।

कोही कसैलाई एउटाले भेट्यो भने अर्को सशंकित हुने, अर्कोले भेट्यो भने अर्को सशंकित हुने अवस्था पनि नेकपाका अध्यक्षद्वयका बीचमा यदाकदा देखिन्छ। पूर्ववत् पार्टीका विगत इतिहासका कारण पनि त्यसको स्वीकारोक्तिमा अझै मन सानो पार्ने संस्कार यथावत् नै छ। यसले भावनात्मक एकतालाई बलियो बनाउन सकेको देखिन्न। हुन त भावनात्मक एकता एकैपटक भइहाल्ने होइन, यसका लागि समय लाग्छ। आजको भोलि नै सबै कुरा जस्ताको तस्तै भइहाल्छ भन्ने होइन। यी सबै कुराका लागि दुइटा फरक स्कुलिङबाट आएकासँग संगत भएका, जो पहिल्यैदेखि नजिक छन्, उनीहरू स्वाभाविक नजिक हुने, जो छैनन् उनीहरू अलिक टाढाजस्तो देखिने कुरा केही समय स्वाभाविक नै हुन्छ। यो ठाउँ, नेताअनुसार पनि फरक परिरहेको हुन्छ।

अबका दिनमा यसमा सबै कुराको निर्धारण हुन्छ। एकीकरण प्रक्रिया औपचारिक रूपमा जब सकिन्छ, त्यसपछि नयाँ शिराबाट नेकपाभित्र नयाँ समीकरणको विकास हुन्छ जस्तो मलाई लाग्छ। पार्टीहरू गुटविहीन संसारमा कही पनि हुँदैन। जहाँ संसदीय व्यवस्था छ, त्यहाँका पार्टीहरूमा गुटबन्दी हुनु स्वाभाविक हो। खालि बहस के हो भने त्यो गुटले ध्वंसात्मक रूप लिन्छ कि लिँदैन भन्ने मात्र हो।

तर एउटा जीवन्त पार्टीमा गुट हुनुलाई स्वाभाविक रूपमा लिनुपर्छ। गुट देखा पर्दैमा पार्टीमा एकदम पहाडै खस्यो भनेर बुझ्नु हँुदैन। नेकपाको एकीकरण प्रक्रिया पूरा भएर महाधिवेशनको चरण आएपछि नयाँ ढंगको पूर्वएमाले, पूर्वमओवादीभन्दा पनि नयाँ ढंगको समीकरण विकास भएर जान्छ जस्तो लाग्छ। यही बीचमा विभाग बनाउने विषयमा, सचिवालयकै बैठकसँग सम्बन्धित कुरामा नयाँ ढंगले कुनै न कुनै बेग्लै ढंगले निकटता र दूरी देखिन्छ। अहिल्यै त्यो देखिन्छ भने पार्टी एकीकरण पूरा भएपछि माथिदेखि तलसम्मै नयाँ ढंगको समीकरण बन्ने देखिन्छ।

(राजनीतिशास्त्री पोखरेलसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.