गुठी कर्मचारीमा कारबाहीको त्रास
काठमाडौं : गुठी संस्थानका कर्मचारीले जागिर छाड्न थालेका छन्। बालुवाटारको ललिता निवाससँगै गुठी जग्गा हिनामिनामा मुछिन थालेपछि कर्मचारीमा त्रास बढेको छ। यही महिना ६ कर्मचारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएको संस्थानकी सहायक प्रशासक खिमा वलीले बताएकी छन्।
उनका अनुसार रामकुमार घिमिरे, वासुदेव पौडेल, बद्री सुवेदी, रामेश्वर बिडारी, जगलसिंह ठगुन्ना र राधामैया बाँस्कोटाले जागिर छाडेका हुन्। संस्थानका महोत्तरी प्रमुख तुलदेव चौधरी पनि राजीनामा दिनेको सूचीमा छन्। सेवा अवधि सकिन लागेका कारण राजीनामा दिएको सहायक प्रशासक वलीले बताइन्। उनीहरूले ३० देखि ४० वर्ष सेवा गरेका छन्।
संस्थान स्रोतले भने भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि कर्मचारी त्रसित भएका छन्। ‘कारबाही हुने डरले राजीनामा दिएका हुन्’, एक कर्मचारीले भने, ‘अख्तियारको डरले नै हो उनीहरूले राजीनामा दिएको।’
संस्थानको केन्द्रीय कार्यालयसहित देशभर १० शाखा कार्यालय छन्। धनुषा, महोत्तरी, पर्सा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौंलगायत स्थानमा गुठी कार्यालय छन्। केन्द्रीय लगत तथा अभिलेख शाखा भद्रकालीमा छ।
संस्थानमा दरबन्दीको आधा मात्रै कर्मचारी छन्। १ सय ५५ जनाको दरबन्दी छ। ८२ जना मात्रै कार्यरत छन्। संस्थान रित्तिन लागेको जानकारी प्रवक्ता सरोज थपलियाले दिए। ‘संस्थानमा न्यून मात्रै कर्मचारी छन्’, प्रवक्ता थपलियाले भने, ‘कोही राजीनामा दिएर गए, कोही अवकाश भए।’
बालुवाटार जग्गा प्रकरणमा तीन पूर्वप्रशासकसहित २४ जना मुछिएका छन्। उनीहरूमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। पूर्वप्रशासक बलिरामप्रसाद साह, सेमन्तराज चापागाईं र दिलीप भट्टसहित दुई उपप्रशासक पनि अनुसन्धानको दायरामा छन्।
नेपाल सरकारको २०६९ असोज १८ गतेको निर्णयअनुसार संस्थानाट २०६९ माघ ५ गते भएको निर्णयमा साबिक चार कित्ता जग्गा पशुपति टिकिन्छा गुठीको नाममा कायम भएको पाइएको छ। उक्त निर्णय गुठीका तत्कालीन प्रशासक साहले गरेका थिए। यसको फाइल अगाडि बढाउने काम चापागाईं र भट्टले गरेको पाइएको छ। दुईपटक भएको नापीमा भने कतै पनि टिकिन्छा गुठीको नाम उल्लेख पाइँदैन।
संस्थानले नभएको गुठी कायम गरी व्यक्तिका नाममा गरेको शारदाप्रसाद त्रिताल प्रतिवेदनमा उल्लेख छ। सुवर्णशमशेरको हकदारका नाममा २०२१ असार ३० मा कायम भएको २ सय ९६ रोपनी जग्गामा टिकिन्छा गुठीको नामनिशाना कतै उल्लेख देखिएको छैन। बालुवाटारको राजकुलो र खेतलाई गुठी कायम गरेको अभियोगमा संस्थानका पदाधिकारी र कर्मचारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !