के सिकाउने ? कसरी सिकाउने ?
‘राष्ट्रपति, प्रधानमन्त्री कसरी बनेको ?’
‘धेरै भोट पाएर, चुनाव जितेर।’
‘किन धेरै भोट पाए ?’
‘राम्रो भएर।’
‘कसरी राम्रा भए ?’
‘धेरै पढेर, ज्ञानी भएर।’
(मसँग यसको सही जवाफ छैन। सायद मसँग भएकामा सबैभन्दा राम्रो उत्तर यही हो वा मैले जानेको नै यही हो)।
परिवारमा तीनजना छौं। छोरा र उसका आमा–बुवा, हामी। दिउँसो ऊ स्कुल जान्छ, हामी अफिस। साँझ–बिहान सँगै हुन्छौं। हाम्रो कुराकानी ऊ पनि सुनेर बस्छ। उसका कुरा हामी पनि सुन्छौं। रमाइलो नै लाग्छ।
उसले टेलिभिजनमा कार्टुन हेर्दा म पनि हेर्छु। निन्जा हथोडी, डोरेमन, पोकेमन, मोटु–पत्लु आदि हेर्छ। हथोडी, केनेची, युमेको, सिसिमारु, सिजुका, नोविता, घसिटाराम, डा. झट्का, जोन र जोनका चम्चाहरू जस्ता पात्रहरू चिन्छु, रमाइला लाग्छन्। छोरासँगै उसलाई मन पर्ने कार्यक्रम हेरेपछि ऊ पनि खुसी हुन्छ। पछि, म नेपाली समाचार र अन्य केही कार्यक्रम हेर्छु। ऊ पनि प्रधानमन्त्री, राष्ट्रपति र केही राजनीतिक दलका नेताहरूलगायत केही मन्त्रीको पनि नाम र अनुहार दुवै चिन्छ। बिहानपख पत्रिका पढ्दै गर्दा ऊ पनि पत्रिकामा केही न केही हेरिरहेको हुन्छ। केही कुरामा चासो देखाएर सोध्छ। उत्तर दिने गर्छु। यस क्रममा कहिलेकाहीँ भने जटिल अवस्था आउँछ।
प्रधानमन्त्रीले सुनाएको भ्यागुतोको कथा युट्युबमा हेरिरहेका थियौं। छोरो खित्का छाडेर हाँस्यो। किन हाँसेको बाबु ? मैले सोधेँ।
प्रधानमन्त्रीलाई पनि थाहा रहेनछ— ऊ बोल्यो।
के ? — म।
कथा— ऊ।
किन ? — म।
‘भ्यागुती र उसको आमा होइन है ? भ्यागुतो र भ्यागुतोको राजा हो है ?’— छोरो।
हो, मैले उसलाई सुनाएको कथा उही थियो, कुवाको भ्यागुतोको। तर प्रधानमन्त्रीले ‘भ्यागुती र उसकी आमा’ भनेको ठाउँमा मैले ‘भ्यागुतो र भ्यागुताको राजा’ भनेर सुनाएकी थिएँ। छोरोले सम्झेछ। यतिखेर छोराले प्रधानमन्त्रीको कथा सुनाउँदै गर्दाको ‘बडी ल्यांग्वेज’ र इंगित गरेको कथाको भावार्थ भने बुझेन। नबुझेकामा म खुसी भएँ। पूर्वप्रधानमन्त्रीले जवाफमा सुनाएको ‘निदुली’को कथा पनि सुनाएँ। रमाइलो मान्यो। तर यो कथाको पनि अहिलेको समयको राजनीतिक अर्थबारे केही भनिनँ।
कहिलेकाहीँ घरमा समसामयिक राजनीतिक कुराकानी पनि हुन्छ। यस्ता छलफलमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरू आदिका विषय आउँछन्। छोरा सँगै हुन्छ र उसका जिज्ञासाहरू प्रशस्त हुन्छन्।
मामु, राष्ट्रपति, प्रधानमन्त्री भनेको के हो ? — छोरो।
देशको सबैभन्दा ठूला मान्छे— म (कताकता यो उत्तर आफैंलाई बनावटी लाग्छ)।
राष्ट्रपति, प्रधानमन्त्री कसरी बनेको ? — ऊ।
धेरै भोट पाएर, चुनाव जितेर— म।
किन धेरै भोट पाए ? — ऊ।
राम्रो भएर— म।
कसरी राम्रा भए ? — ऊ।
‘धेरै पढेर, ज्ञानी भएर।’ (मसँग यसको सही जवाफ छैन। सायद मसँग भएकोमा सबैभन्दा राम्रो उत्तर यही हो वा मैले जानेको नै यही हो)। म फेरि थप्छु— तिमी पनि धेरै पढ, ज्ञानी बन, तिमी पनि त्यस्तै हुन्छौ। सायद मेरो अवचेतन मनमा ठूलो तृष्णा छ, लोभ छ यस्ता पदको र त्यो भारी बोकाइरहेछु छोरालाई। वर्तमान नेपालमा सबैभन्दा लाभको पदमा आकर्षण हुनु स्वाभाविक पनि हो कि !
अर्को कुनै दिन घरमा छलफल हुँदा म तिनै सबैभन्दा ठूला मान्छेका, कहिले उनीहरूको कामको, कहिले बोलीको आलोचना गरिरहेको हुन्छु। केही पहिलेसम्म ठूला र राम्रा भनिएका मान्छेबारे नकारात्मक कुरा सुन्दा छोरा जिल्ल पर्छ। यस्ता विरोधाभासपूर्ण कुराहरू पटकपटक भइरहन्छन् घरमा।
त्यसो त बच्चाहरूले ‘अभिभावकले के भने ?’ भन्दा पनि ‘के गरे ?’ बाट बढी सिक्छन् रे। तर पनि ‘कहिल्यै झुट नबोल है’ भनेर छोरालाई सम्झाइरहेकी हुन्छु। त्यसो त छोराछोरीलाई झुट नबोल्न सिकाउने हामी आफैं पटकपटक झुट बोलिरहेका हुन्छौं। मन नपरेको मान्छेले फोन गर्दा तिनै अबोध बालकहरूलाई ‘घरमा हुनुहुन्न’ भन्न लगाउँछौं र झुट नबोल्न अर्ति दिन्छौं। केही साताअघि मात्र प्रधानमन्त्री आफैंले कर्मचारीले उहाँलाई सही सूचना नदिएको बताउनुभयो। अरू मन्त्रीहरूले पनि सचिवहरूले ढाँटे वा झुक्याए शैलीका अभिव्यक्तिहरू दिएका समाचारहरू बेलामौकामा आएकै छन्।
यसै साता नेपालमा आयात हुने तरकारीमा विषादी परीक्षणको सन्दर्भमा भारतीय पक्षको दबाबबारे प्रधानमन्त्री आफैंले झुट बोलेका समाचारहरू आए। यसमा पनि प्रधानमन्त्रीले आफूलाई झुक्याइएको भनिसकेका छन्। त्यसो त ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भएयता दस हजारभन्दा बढी झुट बोले’ भनी ‘वासिङ्टन पोस्ट्’ले सन्दर्भसहितको समाचार राखेको थियो। प्रधानमन्त्रीको झुटबारे समाचार आएको दिन बिहानै छोराले प्रश्न गरेपछि म निरुत्तर रहेँ। यस्ता कुराको सत्यता परीक्षण गरेर उत्तर दिने अवस्था आफ्नो छैन्। उत्तर दिन नसकेपछि आफ्नो मनोबल पनि कमजोर हुने रहेछ।
हामी बच्चाहरूलाई असल र इमानदार बन्नका लागि भनिरहेका हुन्छौं। तर हरेक दिनजस्तै बेइमानीका समाचारहरू आइरहेका हुन्छन्, त्यो पनि हामीले ठूला मान्छे भनेका व्यक्तिहरूका। राजनीतिक नेताहरू मात्र होइन, कतिपय विश्वविद्यालयका प्राध्यापकहरू, सरकारी कर्मचारीहरू र पत्रकारहरूका पनि बदमासीका समाचारहरू बनिरहेका छन्। कुनै उच्चपदस्थ सरकारी अधिकारीले दोहोरो सेवा लिएको सन्दर्भमा भनेको सम्झन्छु, ‘केही समय दोहोरो सेवा लिएको थिइनँ, राम्रो गरेको जस कसैले दिएन, केही भएन। पछि अरूले जस्तै मैले पनि लिने गरेँ।’ यस्तो वातावरण कसरी बनेको होला है ?
यस्तो लाग्छ, हाम्रा केटाकेटीसँग उनीहरूको भविष्यबारे कुरा गर्दा हामीले अनुकरणीय व्यक्तिको रूपमा देखाउनसम्म पनि आदर्श व्यक्तिको देशमा अभाव छ। उच्चपदस्थहरूले सरकारी जग्गा हडपेका, विश्वविद्यालयमा भएका बौद्धिक चोरी तथा शैक्षिक प्रमाणपत्र किनबेचजस्ता समाचारहरू सकेसम्म केटाकेटीले नसुनून् नदेखू्न् जस्तो लाग्छ। यस्तो विकृत परिवेशमा त हामीले केटाकेटीलाई सुनाउने/सिकाउने ज्ञानगुनका कुराहरू पूराका पूरा अमूर्त र कृत्रिम लाग्दा रहेछन् !
अधिक नेपाली अभिभावकझैं म पनि छोराको पढाइप्रति चिन्तित छु। पढ्नका लागि पे्ररित गर्न चाहन्छु। त्यसैले देशभित्रै वा संसारका विभिन्न देशमा पुगेर शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका व्यक्तिहरूका उदाहरणहरू सुनाइरहेको हुन्छु। जानेर नजानेर, छोरा अलिअलि बोल्न जानेदेखि नै ‘खुब राम्रो पढ्नुपर्छ, ज्ञानी हुनुपर्छ है’ भनिरहेकै हुन्छु। ऊ पनि ‘मामुजस्तै पढ्छु, अझ ठूलो पीएचडी गर्छु’ भन्छ। म उसको त्यही कुरा सुनेर खुसी हुन्छु, भविष्यप्रति आश्वस्त हुन्छु। केहीअघि प्रधानमन्त्रीको ‘पीएचडी’बारे टिप्पणीको भिडियो हे¥यौं, छलफल पनि भयो घरमा। यसअघि पनि प्रधानमन्त्रीले गरेका बौद्धिक वर्गप्रतिको नकारात्मक टिप्पणीसहित सरकारले पुस्तकमा लगाएको करबारे पनि कुरा भयो। सम्भव भएसम्म निरन्तर अध्ययनमा लाग्ने सोच भएर पनि होला, यी विषयले नरमाइलो लाग्यो, निराशा बढ्यो।
हाम्रो कुरा सुनिरहेको छोरो जिज्ञासु बन्यो यसमा पनि। प्रधानमन्त्रीले ‘पीएचडी’लाई किन त्यसो भन्नुभएको ? के धेरै पढ्नु नराम्रो हो र ? उसले हाम्रो कुराकानीको भेउ पाइसकेको थियो। म के भनौं ? मैले कुनै उत्तर दिन सकिनँ। एकातर्फ, सरकारले शिक्षामा छुट्याएको उल्लेख्य बजेट, सरकारी ‘थिंक ट्यांक’को गठन र अर्कोतर्फ यस्ता अभिव्यक्तिहरू ! विरोधाभासपूर्ण लाग्दैनन् र ? सानो छोरासँगको कुराकानीमा यस्ता अनगिन्ती अप्ठ्यारा अवस्थाहरू दैनन्दिनजस्तै आउँछन्। तपाईंहरू कसरी समाधान गर्नुहुन्छ हँ ?
किशोरी रिया तामाङको कविता वाचन बेजोड रहेछ। ‘युट्युब’मा उनले वाचन गरेको ‘सिरिया ! तिमीजस्तै म पनि दुख्दै छु’, छोरालाई पनि सुनाएँ, देखाएँ। उसले अमेरिका र सिरियाबारे सोध्यो। बमबारीबारे चासो राख्यो। जानेको केही सुनाएँ। ‘अमेरिका बदमास है मामु !’, छोराले निष्कर्ष निकाल्यो। मैले होइन भन्न सकिनँ। घरमा कहिलेकाहीँ ट्रम्प राजनीतिबारे चर्चा हुन्छ, अमेरिकाको उत्तर कोरिया, भेनेजुएला, क्युबा, इराक, इरान, अफगानिस्तान आदि देशसँगको सम्बन्धबारे कुरा हुन्छ। ऊ सुनिरहेको हुन्छ। उसले यी सब कुरालाई कसरी लिइरहेको हुन्छ, खै कुन्नि ?
परिदृश्य फेरिन्छ, छिनमा नै। केही समयअघि साथीको अमेरिका जाने भिसा लाग्यो। उनीहरू सपरिवार अमेरिका जाने भए। जानुअघि सँगै खाना खाने भनेर घरमा आएका थिए। उनीहरूले हामीलाई पनि ‘अमेरिका ट्राई गर’ भने। छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने कुरा भयो। छोरा जिल्ल परेर सुनिरहेको थियो। ‘तिमी पनि राम्रोसँग पढ, अनि आयुष दाइजस्तै अमेरिका जान पाउँछौ’, मैले भनेँ। छोराले झस्किँदै भन्यो, ‘त्यो बदमास अमेरिका म जान्नँ।’ म के भनौं ? कुनै भेउ पाउँदिनँ। हाम्रै कुराकानी सुनेर ऊ अमेरिकाप्रति नकारात्मक धारणा बनाउँदै छ। यो धारणा कसरी मेट्ने म जान्दिनँ।
यो शैक्षिक सत्र सुरु भएपछि पनि विविध राजनीतिक दबाबका कारण चारपटक विद्यालय बन्द भए। एकपटक स्कुलबाट छोराको कक्षालाई पौडी खेलाउन लैजाने भनेको दिन, विप्लव माओवादीले बन्द आह्वान ग¥यो। पौडी खेल्न जान नपाएर छोराले खुब चित्त दुखायो। ‘बदमासहरू, छोराको पौडी खेल्ने दिन बन्द गर्नपर्छ त’, मैले उसलाई माया देखाउन चाहेँ। विद्यालय बन्द वा शैक्षिक हडताल भनिएको दिन ‘यो विप्लव माओवादीको बन्द हो, स्कुल खुल्दैन।’ हामी यस्तै यस्तै केही भन्छौं।
छोरा विप्लवबारे सोध्छ। बन्दको कारण सोध्छ। उसलाई उत्तर दिँदै गर्दा केही राजनीतिक इतिहास भन्नैपर्ने हुन्छ, भन्छु। यसै सिलसिलामा द्वन्द्वको कुरा आउँछ, हिंसाको कुरो आउँछ। जेलनेलको कुरा आउँछ। र आउँछ, अहिले शीर्ष स्थानमा रहेका केही नेताका कुरा। अनि ‘यिनै संघर्षको उपलब्धि नै अहिलेको गणतन्त्र हो’ भनेर म कुराको बिट मार्छु। यो कुराको अन्त्यसँगै छोरामा झनै जिज्ञासाहरू बढेका हुन्छन्। ऊ झन् जिल्ल परेको हुन्छ। अघिल्लो हप्ता मात्र त हो, मैले उसलाई उसकै पुस्तकमा भएको गौतम बुद्धको जीवनी बुझाउँदै ‘अहिंसा’बारे बताएकी। केही दिनअघि मात्र त हो, ऊ आफैंले भट्याइरहेको लक्ष्मीप्रसाद देवकोटाका कविताका हरफहरू ‘न मार्नु ज्यान है कुनै बसेर काल जाग्दछ’लाई मामुले थप व्याख्या गरेकी। र अहिले उसकी मामु अहिलेका ‘ठूला मान्छे’का अर्कै विगत बताइरहेकी छ। छोरा झन् जिल्ल पर्छ। ऊ जिल्लिएको बुझ्दाबुझ्दै पनि म निरुत्तर टोलाइरहेको हुन्छु। कस्तो कठिन।
साथीकी छोरी छ, नौ वर्षकी। उसको पनि त्यस्तै समस्या। छोरीलाई पनि अलिअलि समसामयिक कुरा सिकाउनु प¥यो, विद्यालय पाठ्यपुस्तक (सामान्य ज्ञान)मा पनि यस्ता विषय रहेछन् भनेर नेपालका प्रधानमन्त्रीबारे सुनाउन थालिछ।
केही वर्षअघि उसले भनिछ, नेपालको प्रधानमन्त्रीको नाम— केपी शर्मा ओली।
केही समयपछि नेपालको प्रधानमन्त्रीको नाम— पुष्पकमल दाहाल ‘प्रचण्ड’।
फेरि केही समयपछि नेपालको प्रधानमन्त्रीको नाम— शेरबहादुर देउवा।
अहिले नेपालका प्रधानमन्त्री— केपी शर्मा ओली।
फेरिइरहेको प्रधानमन्त्रीको नामसँग छोरीले असहमति जनाई रे, मामुको कुरामा विश्वास गरिन रे। संसारको सबैभन्दा अग्लो हिमालचाहिँ सधैं ‘सगरमाथा’ हुन्छ। प्रधानमन्त्रीको नाम भने कहिले के भनेछ, कहिले को भनेछ, यस्तो पनि हुन्छ भनी रे छोरीले। त्यसपछि यस्ता कुरा गर्नै छाडेँ भन्थी साथी। हामीले खासै नसोचेका कुरामा पनि केटाकेटीको आफ्नै तर्क हुन्छन्। यसले असर पारिरहेको हुन्छ उनीहरूलाई। छोराछोरीलाई कसरी सिकाउने, के सिकाउने भन्नेमा म सधैं द्विविधामा हुन्छु।
र अन्त्यमा,
आफ्ना अनुभवका आधारमा समाजप्रतिको दृष्टिकोणबारे लेखेका केही लेख प्रकाशित भएका थिए। कसैले यस्तो मात्र कति लेखेको ? ‘आत्मकथा मात्र कति पढ्नु ?’ भनेर प्रतिक्रिया दिए। केही समय लेख्न मन नै लागेन। फेरि औडाहा भयो। म के लेखौं ? मेरो ज्ञानको सबैभन्दा भरपर्दा स्रोतहरू मेरा आफ्नै अनुभव हुन्। मेरा अनुभवका स्रोतहरू मेरो समाज, घरपरिवार, छोरा, श्रीमान्, अफिस, बाटो, प्रेमी, देशको राजनीति, हाम्रा चाडबाड, चलनहरू आदि त हुन्। आखिर यिनै त हुन् मेरा लेखाइका कच्चा पदार्थहरू। समाजशास्त्री सी. राइट मिल्स भन्छन्, ‘समाजको इतिहास र व्यक्तिको जीवन दुवैको अध्ययनबिना यी दुवैको अध्ययन अपूरो हुन्छ।’ त्यसैले पनि त म आफ्ना व्यक्तिगत कुराहरू लेखिरहन्छु।