भारतीय तरकारीको खपत घट्यो
इलाम : १९ वर्षदेखि इलाम चोक बजारमा तरकारी पसल सञ्चालन गरिरहेका सन्ध्या फलफूल तथा सब्जी पसलका विजय वरई एक महिनादेखि भारतीय तरकारी बेच्न नपाएर ‘हैरान’ छन्। ‘किसानले जति भन्छन्, त्यतिमा किनेर बेच्नुपरेको छ’, उनले गुनासो पोखे।
यसअघि इलामले टमाटर, काउली, बन्दा, खुर्सानी, भन्टा, प्याजलगायत उत्पादन सिलिगुडी बजारबाट आपूर्ति गर्ने गरेको उनले सुनाए। काँकडभिट्टा नाकामा विषादी परीक्षण नगरेको तरकारी नेपाल प्रवेश गर्न रोक लगाएपछि विजयजस्ता व्यपारीले नेपाली उत्पादन बेच्न थालेका छन्। उनले थपे, ‘प्याज, आलुजस्ता तरकारी चाहिँ झापाबाट आएकै बिक्री गर्दै छौं।’
प्रदेश १ भन्सार कार्यालयले विषादीको अवशेष परीक्षण गरेर मात्रै भारतको तरकारी नेपाल प्रवेश गर्न दिन थालेपछि पोहोरसालजस्तो तरकारी नेपाल प्रवेश नै नगरेको बिर्तामोड कृषि थोक बजारका व्यवस्थापक सीताराम नेपालले बताए। भारतीय तरकारी काँकडभिट्टा र कृषि थोक बजार बिर्तामोडबाट इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेको बिर्तामोडका तरकारी व्यवसायी नवराज उप्रेतीले बताए। उनले भने, ‘तरकारी पहाड जाने क्रम रोकिएको छैन तर पोहोर जति जान सकेको छैन।’
दैनिक २ हजार किलो तरकारी आउने इलाममा अहिले आधामात्रै आएको छ। पोख्रेली होटलका सञ्चालक विजय राई भन्छन्, ‘पहिलेजस्तो भारतको तरकारी बजारमा देखिँदैन।’
इलाम सदरमुकामसहित फिक्कल, पशुपतिनगर, बरबोटेलगायत बजारमा भारतीय तरकारी बिक्री हुने गरेको छ। पछिल्लो समय भारतबाट आउने तरकारीको विषादी परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न अनुमति दिने गरेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्य बताउँछिन्। उनले भनिन्, ‘प्रयोगशालाले खानयोग्य भएको प्रमाणित गरेपछि मात्रै भन्सारले नेपाल प्रवेशमा अनुमति दिन्छ।’
व्यपारीका अनुसार बजार मागअनुसार इलामले अहिले पनि तरकारी उत्पादन गर्न सकेको छैन। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार इलाममा ७६ करोड ३९ लाख १४ हजार बराबरको काउली, बन्दा र रायो उत्पादन हुने गरेको छ। यस वर्ष जिल्लाका किसानले ३९६ हेक्टरमा फूल कोपी लगाएर वार्षिक ६ हजार ५९६ टन बिक्री गरे। कार्यालयका अनुसार फूल कोपीको औसत मूल्य प्रतिकिलो २२ रुपैयाँ रहँदा १४ करोड ५१ लाख १२ हजार किसानको हातमा पर्ने गर्छ।
हिउँदे र बेमौसमी गरेर ७३२ हेक्टरमा खेती गरिने बन्दा वार्षिक रूपमा ११ हजार ९७८ टन उत्पादन हुने गरेको छ। तथ्यांकअनुसार औसत ४९ रुपैयाँमा बिक्री हुने बन्दाबाट किसानले ५८ करोड ६९ लाख २२ हजार हात पारेका छन्।
हिउँदमा मात्र उत्पादन हुने रायो इलाममा ५३३ हेक्टरमा उत्पादन हुन्छ। वार्षिक १ हजार ५९४ टन उत्पादन हुने रायो सागबाट किसानले वार्षिक ३ करोड १८ लाख ८० हजार आर्जन गर्ने गरेका छन्।
पछिल्लो समय भारतबाट आउने तरकारीको विषादी परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न अनुमति दिने गरिएको छ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु किसानलाई थप उत्पादनमा प्रोत्साहन गर्न वास्तविक किसान पहिचान गरेर अनुदान प्रदान गर्नुपर्ने बताउँछन्। इलाममा मात्रै हैन कृषि उपजमा व्यावसायिक पाँचथर र ताप्लेजुङसम्म भारतको तरकारी प्रयोग हुने गरेको उपभोक्ताको भनाइ छ। पाँचथर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भिम कार्कीले भारतबाट आउने तरकारीको फिदिम बजारमा होलसेल र थोक कारोबार हुने गरेको बताए। उनका अनुसार फिदिमबाट पाँचथरका स्थानीय बजारमा समेत भारतीय तरकारी पुग्ने गरेको छ।
राष्ट्रिय किसान महासंघ पाँचथरका कार्यबाहक अध्यक्ष वीरेन्द्र काफ्लेका अनुसार आलु, भिण्डी, प्याजलगायत तरकारी पाँचथरमा प्रशस्तै बिक्री हुन्छ। उनले भने, ‘आउन चाहिँ आउँछ, विषादी छ छैन थाहा भएन।’ पाँचथरले टमाटर, काउली र बन्दामा मात्रै प्रगति गरेको उनले सुनाए। उनका अनुसार अधिकांश तरकारी बाहिरबाट नै आउने गरेको छ।
ताप्लेजुङको सदरमुकाम फुङलिङसहित गाडी पुग्ने स्थानीय बजारमा समेत भारतीय तरकारी पुग्ने गरेको ताप्लेजुङका कृषक सहजकर्ता सन्तोष खिम्दिनले बताए। उनले भने, ‘तराईबाट तरकारी आएन भने यहाँ अप्ठ्यारो पर्छ।’ उनका अनुसार दोभान बजार, पाथीभरा फेदी, सीमा बजारलगायत स्थानमा भारतीय सिमी, बोडी, भान्टा, प्याज, आलु, करेला पुग्छ। प्रत्येक बिहीबार भारतीय तरकारी बोकेका पिकअप भ्यान ताप्लेजुङ पुग्छन्।
ताप्लेजुङमा १० हजार ६ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। यसले ताप्लेजुङको तरकारीको २५ प्रतिशत मात्रै माग पूरा गर्छ। पहाडी जिल्लामा उत्पादन भएको भन्दा भारतबाट आएको तरकारी तुलनात्मक हिसाबले निकै सस्तो भएकाले जिल्लामा स्थानीय तरकारीभन्दा आयातित तरकारी बढी बिक्री हुने गरेको खिम्दिनको भनाइ छ।
भारतको उच्च अदालतले केही समयअघि विषादीको प्रयोगको कारण कैयौं देशमा भारतीय तरकारी रोकिएको भन्दै चिन्ता व्यक्त गरेको थियो। नेपालमा विषादीयुक्त तरकारीको बिक्री अझै नरोकिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चिपालु भन्छन्, ‘परीक्षण नगरी भारतको त के नेपालको तरकारीसमेत बिक्रीमा रोक लगाउनुपर्छ।’
भारतको उपभोक्ता अधिकारवादी एक संगठनले उच्च अदालतमा दायर गरेको मुद्धामा दिल्लीको बजारमा बिक्री भएको तरकारीमा युरोपियन संघद्वारा निर्धारण गरेका मापदण्डभन्दा ७५० गुण बढी विषादी अवसर रहेको तरकारी बिक्री भइरहेको दाबी गरेको छ।
विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यका अनुसार भारतबाट आउने तरकारीमा विषादीको मात्रा भेटिए पनि खानै नहुने अवस्थामा देखिएको छैन। प्रयोगशालाले तरकारीमा ३५ प्रतिशतसम्म ‘रुकावट मात्रा’ भएको तरकारीलाई खानयोग्य भनेर बिक्रीका लागि सिफारिस गर्ने गरेको छ। आचार्यले भनिन्, ‘केराबाहेक अरुमा मापदण्डमाथि विषादीको अवशेष देखिएको छैन।’ केरामा भने ६१ प्रतिशतसम्म विषादीको रुकावट मात्रा फेला परेको छ।
उनका अनुसार दैनिक ६० वटा सम्म तरकारीको नमुना परीक्षण हुने गरेको छ। तरकारीका गाडी आएपछि भन्सारले नमुना पठाउने गरेको छ। उनले भनिन्, ‘परीक्षणपछि भन्सारलाई रिपोर्ट पठाउने गरेको छौं।’
प्रतिक्रिया दिनुहोस !