डुम्रे प्रकरण : हत्यारा खोज्न कुकुर परिचालन
दमौली : बन्दीपुर ठूल्ढुंगामा मृत भेटिएका डुम्रेका एक व्यापारीको मृत्युको घटनामा अपराधी पत्ता लगाउन प्रहरीले कुकुर परिचालन गरेको छ। आइतबार रातीबाट बेपत्ता बन्दीपुर १ डुम्रे निवासी श्यामबहादुर शाहीको मृत्युभन्दा पनि हत्या हुनसक्ने प्रहरीको अनुमान छ।
जंगलमा मृत भेटिएका उनको घाँटीमा हतियार प्रहार भएको संकेत देखिएकाले हत्यारा पहिचान गर्न विशेष अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। घटना भएको थाहा पाउनासाथ प्रहरीले अनुसन्धान थालेको हो। ‘प्रारम्भिक चरणमा हत्या आशंका गरिएकाले सम्भावित क्षेत्रमा कुकुर परिचालन गरिएको हो’, उनले भने।
‘लुट्ने उद्देश्यले हत्या’
शरीरमा सुनका गहनालगाएका शाहीको धन लुट्ने उद्देश्यले हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। सधैं सुनका सिक्री, ब्रास्लेट तथा औंठी लगाउने शाहीको शव बरामद हुँदा केही पनि थिएन। डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही सुनका गहनाका सौखिन थिए।
शाहीको शवसँग उनले प्रयोग गर्ने गरेको मोबाइल समेत नभेटिएकाले धन लुट्न हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको हो। हालसम्म प्रहरीले १६ जनामाथि सोधपुछ गरेको छ। तीमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ। अन्य व्यक्तिलाई पक्रने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरी उपरीक्षक शिलवालले जानकारी दिए। ‘उनीहरुसँग सम्बन्ध भएका तथा घटनास्थल वरपरका आशंका लागेका व्यक्तिसँग सोधपुछ र अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘हत्यारा चाँडै पत्ता लाग्ने अपेक्षा गरेका छौं।’