प्रेम र युद्धमा कृष्ण मात्र जायज हुन्छ
प्रेमीमा कृष्णजस्तो प्रेमी कोही छैन। ज्ञानीमा उनीजस्तो परमज्ञानी कोही छैन। योद्धामा उनीजस्तो योद्धा कोही छैन। कृष्ण मात्र छन्, जो अनेक विरोधाभाषहरूमा निर्धक्क खेल्न सक्छन्।
भोलिपल्ट बिहानबाट महाभारत युद्ध सुरु हुँदै हुन्छ। विश्वयुद्ध समान त्यस युद्धमा सहभागी हुन संसारका अनेक कुनाबाट एक से एक महारथी आएका हुन्छन्। युद्धमा के होला कसो होला भन्ने उद्वीग्नताले आक्रान्त भएर आजको रात सबै आआफ्नो ओछ्यानमा छटपटाइरहेका हुन्छन्। कोही निदाउन सकिरहेका हुँदैनन्। द्रौपदीको पनि त्यही हाल हुन्छ। मध्यराततिर एकाएक उनले कसैले बाँसुरी बजाएको आवाज सुन्छिन्। उनलाई झनक्क रिस उठ्छ। यस्तो त्रासदीको बेलामा पनि बाँसुरी बजाएर बस्न सक्ने को बहुलठ्ठी होला भनेर पत्ता लगाउन उनी उठ्छिन् र बाँसुरीको धुन पछ्याउन थाल्छिन्। यस क्रममा उनी एउटा तबेलामा पुग्छिन्। तबेलाभित्रको दृश्य देखेर उनी चकित हुन्छिन्। भित्र कृष्ण आनन्दले विभोर हुँदै आँखा बन्द गरी बाँसुरी बजाउँदै हुन्छन्। यो देखेर द्रौपदी सोच्छिन्, ‘यस्तो समयमा पनि आनन्दले बाँसुरी बजाएर बस्न सक्ने यी मान्छेले के तत्त्व जानेका छन् जो हामीले जानेका छैनौं ? म मेरो चित्त पनि यस्तै होस् भन्ने चाहन्छु। मेरो जीवनमा पनि म यस्तै शान्ति र आनन्द चाहन्छु।’
जिन्दगीले दौडाएको बेला, मनमा तनाव र निराशाको बादल छाएको बेला म यो सानो ‘कथा’ सम्झिन्छु। सोच्छु, के जान्दथे कृष्ण जसकारण उनी जस्तै अवस्थामा पनि हाँस्न, नाच्न, गाउन सक्थे। मलाई पनि मेरो जीवनमा त्यही बोध चाहियो। म धार्मिक मान्छे हैन, तर कृष्णको रहस्यमयी र विराट् व्यक्तित्वको अघि नझुकी सुखै पाउँदिनँ।
प्रेमीमा कृष्णजस्तो प्रेमी कोही छैन। ज्ञानीमा उनीजस्तो परमज्ञानी कोही छैन। योद्धामा उनीजस्तो योद्धा कोही छैन।
जीवनका हरेक आयाममा उनी अब्बल छन्। यी सबैका बीच उनमा रत्ति अहम् छैन। बोक्रे गम्भीरता छैन।
पाण्डव–कौरवबीच सम्झौता गराउने प्रयास गर्ने क्रममा शिशुपालले कृष्णमाथि चक्र प्रहार गर्छ। यो दृश्य देखिरहेका सबैले सोच्छन्, कृष्ण अब सकिए।
तर कृष्ण त्यो प्रहार छल्न सफल हुन्छन्। पछि एकान्तमा गहभरि आँसु पारेर द्रौपदी उनलाई भन्छिन्, ‘कृष्ण, त्यो एउटा क्षणमा मैले सोचेँ तिमी मर्यौ। अनि मैले सोचेँ तिमी नरहे म किन बाँच्नु। तिमीबिनाको जीवनको के अर्थ ? ’
कृष्ण हाँस्दै भन्छन्, ‘बिस्तारै बोल द्रौपदी। यस्तो कुरा मेरा मित्र पाण्डवहरूले सुने भने गलत अर्थ लगाउन सक्छन्।’ द्रौपदी नक्कली रिस देखाउँदै सोध्छिन्, ‘तिमी कहिल्यै गम्भीर हुँदैनौ हो ? ’ उनी उत्तर दिन्छन्, ‘जीवनमा गम्भीर हुन योग्य केही छँदै छैन द्रौपदी। यो त केवल एक खेल हो। लीला हो।’ जहाँ धर्मलाई उदास र गम्भीर अनुहार भएका, हास्यरसबाट कोसौं टाढा रहने रूखा व्यक्तिहरूको पेवा मानिन्छ, त्यहाँ कृष्ण बाँसुरी लिएर आफ्नो मस्तीमा नाच्दै गाउँदै जीवनरसले तरंगित, आलोकित खडा छन्।
कृष्णभन्दा अगाडिका सबैले जीवनविरोधी धर्म सिकाए। दुःख, पीडा र कष्टलाई धार्मिकता भनेर सिकाए। उदास अनुहारलाई धार्मिक अनुहार भनेर सिकाए।
कृष्णमात्र यस्ता एक्ला सन्त हुन्, जसले जीवनलाई त्यसको समग्रतामा जिउन सिकाउँछन्। कृष्ण पूर्ण मानव हुन्। मान्छे आफ्नो सम्पूर्ण सम्भावना र क्षमतामा फक्रने हो भने ऊ कृष्णजस्तो हुन्छ। त्यसैले हिन्दूहरू कृष्णलाई पूर्णावतार भनेर भन्छन्।
धर्मरूपी हिमालयको उच्चतम् शिखरमा पुग्ने एक्ला आरोही हुन्, कृष्ण। कृष्ण अतुलनीय छन्। सबैभन्दा भिन्न छन्। सबै असाधारण व्यक्तिहरू आफ्नो समयभन्दा निकै अगाडि जन्मिएका व्यक्ति हुन्।
कृष्ण इतिहासका निकै पुराना पानामा जन्मिएका भए पनि भविष्यका मानव हुन्। उनको आफ्नो समयमा त उनलाई बुझ्ने निकै कममात्र थिए।
कृष्णको समय र हालको समयबीचको लामो दूरीका बीच चेतना र प्रज्ञामा उनी जहाँ छन्, त्यहाँ पुग्न वर्तमान मानव पनि सकेको छैन। मानव सभ्यता र चेतनाको विकासको कुनै सुदूर भविष्यमा गएरमात्र कृष्णलाई उनको समग्रतामा बुझिनेछ। हाम्रो समयसम्मका लागि त उनी अगम्य नै छन्।
सबैजसो धर्मले जीवनलाई दुई भागमा बाँडेका छन्। एक भागको स्वीकार र अर्को भागको त्याग सिकाएका छन्। कृष्ण यस्ता एक्ला व्यक्ति हुन्, जसले जीवनलाई त्यसको समग्रतामा स्वीकार गरेका छन् र त्यही सिकाएका पनि छन्। तथाकथित धार्मिक व्यक्तिहरूले शरीरको त्याग र आत्माको स्वीकार नै धर्म हो भनेर बुझेका छन्।
शरीर र त्यसका आवश्यकताको दमन गरेर जीवन सुखी र आनन्दित कसरी होओस् ? धर्मले सधैं दमन र कुण्ठाको जालोमा अल्मलिनु परेको छ। निरस र रंगहीन हुनुपरेको छ।
यस्तोमा कृष्णको दर्शन अमूल्य छ। सबै धर्मले दमनलाई ईश्वरसम्म पुग्ने बाटोका रूपमा बताउँदै आएका छन्। कामवासना, रिस, लोभ, मोह यी सबैको त्यागपश्चात् मात्र आत्मज्ञान र ईश्वर दर्शन हुन्छ भनेर भन्दै आएका छन्। यसको प्रभावमा परेर लामो समयसम्म मान्छे आफ्नै स्वभावको विरुद्धमा युद्धरत रह्यो।
हजारौं वर्षको इतिहासमा दमनको यो मार्ग अपनाएका केही नगन्य व्यक्तिहरूले मात्र आत्मसाक्षात्कार प्राप्त गरे। लाखौं, करोडौं व्यक्तिहरूको प्रयास र एक–दुईको मात्र सफलता मार्गको अक्षमताको स्पष्ट लक्षण हो। रोपेका असंख्य बीजमध्ये एक–दुईमात्र अंकुरित हुन्छन् भने निःसन्देह रोपिएको तरिका नै गलत छ। धर्मलाई अंगीकार गरेका हरेक व्यक्ति बुद्धत्व पाउन सफल हुँदैनन् भने नकारको जगमा बनेको धर्मको जग नै कमजोर रहेको हुनुपर्छ।
मनोविज्ञानका पिता मानिने सिग्मन्ड फ्रायडले जीवनलाई हेर्ने एउटा नयाँ दृष्टिकोण दिएर गए। उनले बताए, दमनले क्षोभ र नैराश्य मात्र दिन्छ, मुक्ति होइन। हाम्रा भावना, वासना हाम्रै शक्ति हुन्। तिनीहरूसँग लड्नु आफ्नै दुई हातलाई लडाउनुजस्तै हो। जीत दुवैको हुँदैन। बरु दुवै थाक्छन् मात्र। यही कुरा फ्रायडले भने। फ्रायडपश्चात् मनोविज्ञान निकै अगाडि बढिसकेको छ। धर्मका पुराना मानकहरूलाई मनोविज्ञानका आयामहरूले विस्थापित गर्दै छन्। एक्ला कृष्ण र उनको दर्शन मनोविज्ञानको कसीमा पनि खरो छ।
यस अर्थमा कृष्ण भविष्यका मानव हुन्। दमन र दुःखको पूजा सिकाउने सबै मनिसहरू जब समयको प्रवाहमा लुप्त हुनेछन्, कृष्णको महत्त्व र गरिमा भने अझै अघि बढ्दै जाने निश्चित छ।
कृष्ण प्रमाण हुन्। सम्बन्धहरूको हिले तलाउमा डुबेर पनि कसरी कमलझैं निष्कलंक रहन सकिन्छ भन्ने कुराको। युद्धको मैदानमा पनि प्रेम र करुणाको गीत गाउन सकिन्छ भन्ने कुराको। कृष्णलाई सामान्य मस्तिष्कले ग्रहण गर्न गाह्रो छ। संसारलाई दुःखको कारण मानेर, वासनालाई अशान्तिको कारण मानेर ती सबैबाट भाग्न सिकाउनेहरूलाई बुझ्न बरु सहज छ। संसारबाट भागी हिमालयको गुफाभित्र बसेर प्राप्त गरेको शान्तिभन्दा मोहको केन्द्रमा बसेर पनि आत्माको चैतन्यमा स्थिर भई प्राप्त गरेको शान्ति पो शान्ति ! कृष्णमा मानवताले आफ्नो बुद्धि र विवेक, साहस र हृदय, सबैको र आफ्नो समस्त केन्द्रहरूको अंकुर र प्रस्फुटन पाउँछ। विगतमा कृष्णलाई प्रेम गर्ने, पूजा गर्नेहरूले उनको यही विराट् आयामलाई बुझ्न नसकी उनलाई खण्डखण्डमा विभाजन गरेर पूजा गरे। कृष्णलाई उनको सम्पूर्णतामा स्वीकार गर्ने साहस र प्रतिभा कमैले मात्र देखाएका छन्। कवि सूरदासको कृष्ण कहिल्यै ठूला हुँदैनन्। उनले कृष्णको प्रेम र भक्तिमा डुबेर असंख्य कविता रचेका छन्। तर उनलाई बालकृष्ण मात्र स्वीकार्य छन्।
सूरदास जसले स्त्रैण सुन्दरतालाई रोग मानेर आफ्ना दुवै आँखा फुटाए, कसरी स्वीकार गर्न सकून् कृष्णको रासलीलालाई। त्यसैगरी गीतामार्गीहरू छन्, जो गीताका कृष्णलाई मात्र स्वीकार गर्छन् र भागवतका कृष्णलाई अस्वीकार। युद्ध मैदानको बीचमा उभिएर परमज्ञानका कुरा गर्ने गीताका कृष्ण र भागवतमा गाउँदै, नाच्दै उत्सव मनाइरहेका कृष्ण पनि उही नै हुन् भनेर मान्न उनीहरू तयार छैनन्। महात्मा गान्धीले आफ्नो जीवनमा गीताको स्थान आफ्नी आमाकै स्थान बराबर भनेका छन्। तथापि उनको संकुचित अहिंसावादी सिद्धान्तको रटनमा परेर गीता कुँजिएको छ। गान्धी भन्छन्, ‘महाभारतको युद्ध केवल विम्ब हो। मानिसभित्रकै मन कुरुक्षेत्र हो। असल गुण पाण्डव हुन्। खराब गुण कौरव हुन्। ती दुईबीचको उथलपुथल नै महाभारतको युद्ध हो।’ गान्धीका निम्ति हतियारधारी योद्धा कृष्ण स्वीकार्य छैनन्। गान्धीका लागि बरु अर्जुन आदर्श पात्र छन्, जो युद्धलाई हिंसा मानेर रणभूमि त्याग्ने कुरा गर्छन्।
गान्धीले पनि कृष्णको व्यक्तित्वलाई समग्रतामा ग्रहण गर्न सकेनन्। जसको मस्तिष्क जति धेरै विकसित छ, उसको स्वीकारोक्ति त्यत्ति नै विकसित हुन्छ। विगतमा कसैले पत्याएनन्, एउटा मान्छेमा यति धेरै विरोधाभाषी प्रतिभाहरू हुन सक्छन् भनेर। त्यसैले कृष्णलाई उनको समग्रतामा स्वीकार कहिल्यै गरिएन। कृष्णजस्ता अरू कोही छैनन्, जो अनेक विरोधाभाषहरूमा निर्धक्क खेल्न सक्छन्।
गीतामा कृष्ण अर्जुनलाई अत्यन्त सशक्त रूपमा डरछेरुवापन त्यागेर वीरतापूर्वक युद्धको सामना गर्न प्रोत्साहित गर्छन्। युद्धको पक्षमा कृष्णका तर्क अत्यन्त सुन्दर र दुर्लभ किसिमका छन्।
इतिहासमा योभन्दा अगाडि कहिल्यै युद्धको पक्षमा यति उत्कृष्ट तर्क पाइएको थिएन।
कृष्णका अनुसार अहिंसा र हिंसा एकै सिक्काका दुई पाटा हुन्। पदार्थको तहमा, वस्तुगत तहमा हिंसा र अहिंसा मान्य छन्। तर आत्माको जगत्मा, ऊर्जाको जगत्मा जहाँ केही नश्वर छैन, त्यहाँ द्वैतको अस्तित्व छैन। विज्ञानले पनि यही भन्छ, ‘ऊर्जाको सिर्जना र समाप्ति असम्भव छ।
ऊर्जा त केवल रूपान्तरित हुन्छ।’ यही ऊर्जाको रूपान्तरण नै आध्यात्मिक भाषामा माया हो।
विज्ञानको भाषामा प्रिन्सिपल अफ कन्जरभेसन अफ इनर्जी। हजारौं वर्षअघि घटित गीतामा कृष्ण अर्जुनलाई ‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः’ भन्दै गर्दा त्यही परमसत्य उद्घाटित गर्दै छन् जे भौतिक विज्ञानका गहनतम सूत्रहरूले गर्छन्।
द्वैतको जालमा फँसियो कि मुक्तिबाट वञ्चित भइयो। असल अध्यात्म त्यो हो, जसले हिंसा वा अहिंसाभन्दा परको अवस्था, आत्माको अमरताको बोध गराउँछ। ऊर्जाको शाश्वतताको बोध गराउँछ। जसले त्यसको बोध गरेको छ, उसका निम्ति युद्ध पनि एक लीला हो। खेल हो। हालका दिनहरूमा दर्शन र मनोविज्ञानको क्षेत्रमा भएको प्रगतिका कारण हामीले कृष्णलाई उनको सम्पूर्णतामा बुझ्न सक्ने सम्भावना अझै बढेर गएको छ। केही यस्ता सत्य, जसतर्फ कृष्णले त्यस बेलामै इसारा गरेका थिए, आधुनिक मनोविज्ञान र दर्शनशास्त्रले पनि उजागर गरेका छन्।
मनसविद् कार्ल गुस्ताभ युङ भन्छन्, ‘शरीर र आत्मा दुई भिन्न कुरा नभई एकै प्रक्रियाका दुई रूप हुन्। आत्माको देखिने भाग शरीर हो र शरीरको अदृश्य भाग आत्मा।’ यहाँ एक आधुनिक मनोवैज्ञानिक कृष्णको भाषामा कुरा गरिरहेछन्।
कृष्ण भन्छन्, ‘ईश्वर र संसार विपरीत कुरा होइनन्। ईश्वर प्रकृतिको अदृश्य रूप, प्रकृतिको स्पन्दन हुन् भने प्रकृति ईश्वरको साक्षात् रूप।’ अद्वैतको अर्थ नै यही हो। अद्वैतको सार नै यही हो। कृष्ण अद्वैतका नायक हुन्। पितामह हुन्। मानव मनको गहनतम अनुसन्धानपश्चात् मनोविज्ञान मनका र शरीरका ती ऊर्जा, जसको विरुद्धमा हामी लडिरहेका हुन्छौं, ती हाम्रानिम्ति उपयोगी ऊर्जा हुन् भन्ने निष्कर्षमा पुगेको छ। त्यसैगरी जसका विरुद्धमा हामी लड्छौं, नजानिँदो किसिमले हामी तिनकै बन्दी बनिरहेका पनि हुन्छौं। कामवासना, क्रोध, लोभजस्ता ऊर्जाविरुद्ध लडेर, तिनको दमन गरेर तिनीहरूबाट मुक्ति असम्भव छ।
कामवासनाविरुद्ध लडेर जबर्जस्ती तथाकथित ब्रह्मचर्य साध्न खोज्नेहरू जति कामुक अरू कोही हुँदैनन्।
बाहिर–बाहिर यौन र वासनाविरुद्ध विषवमन गर्नेहरू भित्र–भित्र कुण्ठित यौन आवेगले पाकेका हुन्छन्। यौन ऊर्जाको दमन गरेर होइन, त्यसलाई बुझेर–भोगेर फलिभूत भएको ब्रह्मचर्य मात्र सही अर्थमा रूपान्तरण हो। त्यसैले त ईशावाश्योपनिषद् भन्छ, ‘त्येन त्यक्तेन भुन्झिथ’ अर्थात् जसले प्रज्ञापूर्ण, जागरुक अवस्थामा भोग गर्छन्, ती मुक्त हुन्छन्। कृष्ण हाम्रा समस्त ऊर्जाको सहज स्वीकार सिकाउँछन्। मननयोग्य तथ्य छ यो। जेलाई उचाइ र धरातल भनेर दुई भागमा विभाजन गर्छौं, ती एकै आयामका दुई ध्रुव हुन्। हिमालको टुप्पो र फेद दुई अलग कुरा होइनन्। ती एकै वस्तुका दुई ध्रुव हुन्। फेदबिना टुप्पो असम्भव छ।
नित्सेले यसै सन्दर्भमा भनेका छन्, ‘स्वर्गको उचाइ छुन इच्छुक वृक्षका जरा धर्तीको गहनतम् अन्धकारमा गाडिएको हुनुपर्छ। जुन वृक्षले त्यसो गर्न डराउँछ, उसले उचाइको सपना देख्न हुन्न।’ तल जति गहिरो, माथि त्यति नै अग्लो। प्रकृतिको नियम नै यही हो। मान्छेको मनले भने जहिले स्वर्गको चाह गर्छ र नर्कको बहिष्कार। उचाइको लोभ गर्छ र गहिराइको निन्दा।
मान्छे शान्ति चाहन्छ र तनावको निन्दा गर्छ। उज्यालो चाहन्छ र अँध्यारोबाट बाँच्न खोज्छ।
मान्छेको मन यसरी दुई भागमा विभाजित भएको छ। प्रिय र त्याज्य। यो विभाजनका कारण नै द्वैतको सिर्जना हुन्छ। द्वैत नै दुःख र तनावको कारण हो। कृष्ण ऊर्जाका दुवै धुव्र निःसर्त स्वीकार सिकाउँछन्। सारा विरोधाभाषको संगम नै एक अविभाज्य अस्तित्व हो। ईश्वर हो।
विगतमा कृष्णको स्वछन्दताको निन्दा गर्नेहरूलाई आज उनलाई समग्रतामा आत्मसात् गर्न सहज भएको छ। हामी बिस्तारै सही बुझ्न थालेका छौं। त्यो काम ऊर्जा नै हो, जुन रूपान्तरित भएर ब्रह्मचर्य बन्छ। रिस नै हो, जुन रूपान्तरित भएर करुणा बन्छ। लोभ नै हो, जुन रूपान्तरित भएर दानशीलता बन्छ। मूलाधार नै सहस्रार बन्छ। त्याग होइन रूपान्तरण आवश्यक छ। जीवनलाई पूर्णतामा जसले भोग्यो, जीवनको पूर्णता उसैले अनुभव गर्यो। कृष्ण यही सिकाउँछन्। भविष्यमा जहाँ र जब हास्य, नृत्य र संगीतले ओतप्रोत जीवनका रंगले रंगिएको धर्मको विकास हुन्छ, त्यहाँ कृष्णलाई जगका रूपमा, बीजका रूपमा हामीले पाउनेछौं।
कृष्णले युद्धको समर्थन किन गरे ? महाभारतको युद्ध त्यागेर भाग्न तत्पर अर्जुनलाई युद्धका लागि किन उक्साए ? के कृष्ण जीवन विरोधी थिए ? युद्धलाई विनाशक मात्र ठान्नेहरूको दृष्टि खण्डदृष्टि हो। दूरदर्शी भएर मानव सभ्यताको विकासलाई अध्ययन गर्ने हो भने त्यहाँ हामी युद्धको सकारात्मक भूमिका रहेको पाउँछौं। हाल हामीले बाँचेको युग र परिवेशमा जे जति महत्त्वपूर्ण चिज छन्, ती सबै युद्धकै उपलब्धि हुन्। बाटो–घाटो, राजमार्गहरू बनाउन हामीलाई युद्धले नै सिकाएको हो। आफ्ना सिपाहीहरूलाई टाढाका देशमा युद्ध गर्न पठाउने क्रममा मान्छेले बाटोको विकास गरेको हो, न कि टाढास्थित कोही मित्रलाई भेट्न जाने क्रममा। हाम्रा ठूलाठूला भवन र संरचनाहरू युद्धकालमा बनाइने दुर्ग, किल्ला र गढीका विकसित स्वरूप हुन्। प्रविधिको विकाससँगसँगै युद्धकालमा सिर्जना भएका उपकरणहरूलाई अझै आधुनिक बनाएर हामी तिनको उपभोग गरिरहेका छौं। युद्धकालमै आणविक ऊर्जा बन्यो। रेडियो बन्यो। टीभी, टेलिफोन आदि बने। युद्ध नभएको भए मान्छेको मस्तिष्कमा सुषुप्त रहेको ऊर्जा सायदै ब्यूँतिने थियो।
शान्तिकालमा हामी आलस्यमा बाँचिरहेका सामान्य मानिस हुन्छौं। युद्धको अवस्थामा हाम्रा क्षमताहरू असाधारण रूपमा विकास हुन्छन्।
कृष्णजस्तो क्षमता भएकाहरूको नेतृत्वमा महाभारतजस्ता युद्ध अरू दुईचारवटा भएको भए मानव सभ्यता र विकासले उच्चतम् शिखर छुन्थ्यो।
विश्वका विभिन्न देशहरूको विकासक्रमलाई नियाल्ने हो भने हामी देख्छौं— ती देशहरू आज विकसित र शक्तिशाली राष्ट्र भएका छन्, जसले विगतमा ठूलाठूला युद्धहरूको सामना गरे।
पहिलो विश्वयुद्धको समाप्तिपछि जर्मनीको हारसँगै धेरैले सोचे, अब जर्मनीको पत्तासाफ भयो।
तर लगत्तै जर्मनी त्यस बेलाको सबैभन्दा शक्तिशाली राष्ट्र बनेर उदायो। जर्मनीले यति द्रुत गतिमा विकास गर्ला भनेर त्यस बेला कसैले सोचेका पनि थिएनन्। सबैलाई लागेको थियो, अब केही सय वर्षसम्म जर्मनीले युद्धको बारेमा सोच्नेसम्म छैन। अचम्म, बीस वर्षकै छोटो समयमा जर्मनीले चमत्कार गरेर देखायो। दोस्रो विश्वयुद्धको प्रमुख कारण बनेको जर्मनी त्यहाँका तानाशाह अडोल्फ हिटलरको आत्महत्यासँगै फेरि अस्तायो। दोस्रो विश्वयुद्धमा ध्वस्त भएका दुई राष्ट्र जर्मनी र जापानको उदय हालका विकसित र शक्तिसम्पन्न राष्ट्रका रूपमा भएको छ। हालको जापान देखेको कसले त्यहाँ केही वर्षअघि मात्र आणविक बम खसेको थियो भनेर भन्न सक्छ ?
कृष्णका लागि युद्ध विकासविरोधी तत्त्व होइन। न त उनी युद्धका समर्थक नै हुन्। उनका निम्ति युद्ध पनि त्यत्ति नै लीला हो जति शान्ति। महाभारतको युद्ध हुन नदिन उनले भरमग्दुर प्रयास गरे। युद्ध हुने नै भएपछि भने उनले त्यसलाई पनि त्यत्ति नै खुला हृदयले स्वीकार गरे जति उनी युद्ध टरेको अवस्थालाई गर्ने थिए।
चारित्रिक जीवनको गुरुगम्भीरता अत्यन्त बोझिल हुन्छ। चरित्रवान् व्यक्ति सदैव अस्तित्वको विराट् शक्तिको विपरीत युद्धरत अवस्थामा हुन्छ। यसर्थ शान्ति र आनन्दबाट ऊ सदैव वञ्चित हुन्छ।
महाभारतको युद्धमा अर्जुनको प्रयत्न चरित्रवान् बन्ने प्रयत्न हो। कृष्ण उनलाई चरित्र निर्वाहककर्ता होइन, स्वछन्द अभिनेता बनाउन चाहन्छन्। अर्जुन सही र गलतबीचको फरक जान्न चाहन्छन्। कृष्ण उनलाई द्वैतातीत निसर्ग सिकाइरहेका छन्। अहमको त्याग गरेर निसर्गमा बाँच्न सुरुमा कठिन छ। तर अस्तित्वमा समर्पण नै मुक्ति हो। मुक्ति नै परमानन्द हो। कृष्ण एक यस्तो लोकतर्फ इसारा गर्दैछन् जहाँ जीवन र मृत्यु, युद्ध र शान्ति दुई भिन्न तथ्य नभई एकै समग्रका दुई किनार हुन्। अस्तित्वमा जे जति छन्, सबै दिव्य छन्। यहाँ सबै ईश्वर प्रसाद हो। जसले यो सोचलाई मनन गरेर बाँच्न जान्यो, उसले यहीँ स्वर्गीय आनन्द जान्यो। कृष्णको समग्र देशना यही हो।
कृष्णको जीवन नृत्यसमान छ। उनलाई कुनै एक परिभाषामा बाँध्न असम्भव छ। यसैकारण गीताका पनि हजारौं व्याख्या भएका छन् र हरेक अर्को व्याख्या एकभन्दा बिल्कुलै भिन्न छन्। हरेक व्याख्यामा कृष्ण नभई उनलाई व्याख्या गर्ने व्याख्याकारको अनुहार प्रतिविम्बित भएको हुन्छ। यस अर्थमा कृष्ण ऐना हुन्। उनमा हेर्दा हरेकले उनलाई आफूजस्तो छ, त्यस्तै देख्छ। बुद्धका वचनको यति धेरै प्रकारले व्याख्या भएको छैन। बुद्धले जे जति भनेका छन्, ती निरपेक्ष र वस्तुगत छन्।
कृष्णको एक वचनबाट हजार फरक अर्थ निकाल्न सकिन्छ। शंकराचार्य भन्छन्, ‘गीताको सार संसार माया हो भन्ने हो।’
रामानुज गीतामा भक्ति ईश्वरसम्म पुग्ने मार्ग हो भन्ने तथ्य पाउँछन्।
तिलकका लागि गीता कर्मको अनुशासन सिकाउने शास्त्र हो। महात्मा गान्धी भन्छन्, ‘गीता अहिंसा सिकाउने ग्रन्थ हो।’ अचम्म छ ! कृष्णको सिसमहलमा सबै बराबर स्वागत छन्।
कृष्णको जीवनका अन्य धेरै कुरा विचारणीय छन्। उनको मृत्युलाई नै हेरौं। जिजसको मृत्युको एक विशेष उपयोग छ। इसाई धर्मको जग नै जिजसको क्रुसमाथि उभिएको छ। क्रुसमा मृत्युवरण गर्नु नपरेको भए जिजसको इतिहासका पानामा सायद नामनिशान रहने थिएन।
कृष्णको मृत्यु अचम्मलाग्दो तरिकाले सहज र सामान्य छ। मानौं कि यस्तो लागोस् सुन्नेलाई, ‘यो पनि कुनै तरिका हो मर्ने ? ’ अचानक कहीँबाट आएको वाण झुक्केर लागी उनको मृत्यु हुन्छ। जसरी दिनभर आफ्नो सुवास छर्दै फुलेको कुनै फूल साँझमा सुटुक्क ओइलाई झर्छ।
जसरी कृष्णको सम्पूर्ण जीवन पूर्वानुमान गर्न नसकिने किसिमले रंगीविरंगी थियो, उनको मृत्युको घटना पनि त्यस्तै अचम्मको रह्यो।
कृष्णको जीवनको गणितीय लेखोट राखिएन। उनी हरेक काल र समयमा सान्दर्भिक छन्। उनी आज पनि त्यत्ति नै सान्दर्भिक छन् र हजारौं वर्षपर्यन्त पनि त्यति नै सान्दर्भिक रहिरहने छन्। त्यसैले हामीले उनको जीवनको ऐतिहासिक प्रामाणिकताको वास्ता गरेनौं।
जसलाई हरेक परिस्थिति स्वीकार्य छ, ऊ सार्वकालिक व्यक्ति हो। उसको फूल जुनसुकै मौसम, देश र परिवेशमा उत्तिकै सहजताका साथ फुल्न सक्छ। कृष्ण त्यस्ता व्यक्ति हुन्।
गीतामा जब कृष्ण अर्जुनलाई सबै धर्मको त्याग गरेर आफ्नो शरणमा आउन भन्छन्, धेरैलाई लाग्न सक्छ— यो कस्तो अहंकार, कस्तो किसिमको सन्तत्व, कस्तो मुक्ति जहाँ अझै पनि ‘म’ बाँकी छ। त्यो पनि सामान्य ‘म’ होइन। धर्मभन्दा माथि रहेको ‘म’।
मुक्तिका दुई उपाय छन्। एक, जहाँ व्यक्तिले ‘आफू’लाई नकार्दै जान्छ र अन्त्यमा शून्य प्राप्त गर्छ। जब मनमा ‘म’ र ‘मेरो’ केही बाँकी रहन्न, समाधि तत्क्षण घटित हुन्छ। यसरी प्राप्त गरेको मुक्तिमा एक झिनो खतरा शेष रहन्छ। एक त यसरी प्राप्त गरेको मुक्तिको स्वाद विधायक हुँदैन। अर्काे, कहीँ लुप्त सुषुप्त रहेर बसेको अहम्ले यो मुक्तिको दाबी गर्न सक्छ।
‘म’ कति अहम्शून्य ! म कति मुक्त ! यस प्रकारको दम्भ नकारद्वारा धर्मप्राप्ति गरेका व्यक्तिहरूमा प्रायः देखिन्छ। साधु–सन्तहरू प्रायः क्रोधी र अशान्त, जीवनशून्य देखिनाको कारण यही हो। प्रायःजसो धर्मले यही नकारको मार्गको अवलम्बन गरेका छन्।
अर्को उपाय छ, स्वीकारको। विस्तारको। जहाँ मेरो ‘म’लाई यति विस्तार गराइन्छ कि केही, कोही ‘अर्काे’ लाग्दैन। सारा ब्रह्माण्ड आफ्नै विस्तार लाग्छ। आकाश, ग्रह, नक्षत्र, पशुपक्षी, सारा मानिस अरू कोही नभई मेरै विस्तार हुन् भन्ने लाग्छ। ती सबै ‘म’ नै हुँ। यसरी पनि अन्ततोगत्वा पुगिने शून्यसम्म नै हो। प्राप्त हुने समाधि नै हो। तर यसरी प्राप्त गरेको
समाधिमा विधायक स्वाद हुन्छ। यस मार्गका साधकहरू आनन्दित, मग्न हुन्छन्। जीवनबाट मुक्तिका कुरा गर्दैनन्। उनीहरूका लागि त चराचर जगत् नै परमात्मा हो। यसबाट किन मुक्त हुने ? कृष्णको जीवन, उनको समाधि विधायक किसिमको जीवन र समाधि हो। उनको भाषा सदैव परम स्वीकारको रहेको छ। यहाँसम्म कि उनी अहम्को पनि नकार सिकाउँदैनन्। बरु अहम्लाई रूपान्तरण गरेर परमात्मासम्म पुग्न सकिन्छ भनेर भन्छन्। उनी भन्छन्, ‘आफ्नो अहम्लाई, आफ्नो ‘म र मेरो’को भावलाई यति फैलाऊ कि त्यसको अँगालोमा सम्पूर्ण ब्रह्माण्ड अटाओस्।’ जब जब कृष्ण गीतामा ‘म’ अथवा ‘मेरो’ भनेर भनिरहेका हुन्छन्, स्मरण रहोस्, उनको ‘म र मेरो’ त्यही हो, जे उपनिषद्का ऋषि ‘अहम् ब्रह्मास्मी’ भनेर घोषणा गरिरहेका हुन्छन्। समाधि मस्तिष्कको एक विशेष प्रकारको शून्य अवस्था हो, जहाँ द्वैतका कारण उत्पन्न हुने विचारहरूको ज्वारभाटा किञ्चित रहन्न। ‘म’ अथवा ‘अरू’ यी दुईमध्ये एक समाप्त गर्न सके दुवै समाप्त हुन्छन्। कृष्ण सिकाउँछन्, ‘अरू’लाई समाप्त गर।
यसैकारण उनी भन्न सक्छन्, ‘सर्व धर्मान् परित्यज्य मामेकम् शरणं व्रजः। अहम् त्वाम सर्वपापेभ्यो मोक्ष इस्यामि माँ शुचस्क्ष।’ यसर्थ कृष्णको मार्गमा साधना र अध्यात्मको नाममा कष्टको कुनै स्थान छैन। गौतम बुद्धलाई बुद्धत्व प्राप्तिपश्चात् कसैले सोध्यो, ‘तपाईंले यत्रो अथक साधनापश्चात् के पाउनुभयो ? ’
बुद्धले भने, ‘केही पाइनँ। कहिले केही गुमाइएकै रहेनछ भनेर जानेँ। पहिला थाहा थिएन। अब थाहा भयो। जे म खोज्दै थिएँ, त्यो सदा आफूभित्रै रहेछ। यही सत्यप्रति निदाएको थिएँ। अब ब्यूँझिएँ।’
बुद्ध वषौंको खोज र प्राप्तिपश्चात् जे भन्छन्, कृष्ण त्यही सत्य सुरुआतमै भन्छन्। कृष्ण भन्छन्, ‘खोज र साधना बेकार हो। जे छ अहिले र यहीँ उपलब्ध छ। संसारलाई छाडेर कहाँ भाग्छौ ? जहाँ जहाँ जान्छौ, परमात्मासिवाय केही पाउन्नौ। जहाँ अहिले छौ, त्यहाँ पनि परमात्मासिवाय केही छैन। तिम्रो स्वभाव पनि परमात्मा नै त हो। तिम्रो दैनिक जीवनमै परमात्मा उपलब्ध छन्।’
र अन्त्यमा,
द्रौपदी स्वयम्बरमा सहभागी हुन जान लाग्दै गरेका अर्जुनलाई कृष्ण मत्स्यभेदको प्रक्रिया सम्झाउँदै भन्छन्, ‘अर्जुन ! ध्यान माछाको आँखामा एकाग्र गर, लामो सास तान अनि धनुष प्रहार गर।’ अर्जुन जिस्किएर सोध्छन्, ‘सबै काम म आफैंले गर्ने भए तिमी के गर्छौ ? ’
‘जे तिमी सक्दैनौ त्यो म गर्छु।’
‘के हो त्यो ? ’
‘जुन पानीको छायाँमा हेरेर तिमीले माछाको आँखामा धनुष हान्नुपर्छ, त्यो पानी रत्ति नहल्लाई स्थिर राखिदिने काम म गर्छु।’
हरे कृष्ण !
@swamianoopamaxl अराजकहरू मन पराउँछन्।