एकतर्फी खुल्यो बुटबल-तानसेन सडकखण्ड : एकको मृत्यु, ६ घाइते
पाल्पा : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। बिहान साढे १० बजे बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक तिलोत्तमा नगरपालिका रुपन्देहीका २६ वर्षीय कमल परियारको मृत्यु भएको हो।
पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियोसमेत पुरिएको छ। स्कारपियो जिप पाल्पाबाट बुटवलतर्फ जाँदै थियो। जिपमा सवार घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको छ। सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो। 
घाइते हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ का ३१ वर्षीया ललित मल्ल, गुल्मी पुर्तीघाट गाउँपालिका ३ का २२ वर्षीय प्रेम सुनार, वुटवल उपमहानगरपालिका नयाँ गाउँका मिलन शाह र सोही ठाउँका २० वर्षीय नरेन्द्र हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
स्कारपियोमा सवार २ जनाको अवस्था समान्य रहेको छ। अस्पतालमा भर्ना घाइते मध्ये ३ जनाको अवस्था सामान्य रहेको भने हमाल गम्भीर छन्।
एक महिनाअघि मात्र पहिरोमा पुरिएकर एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो। रातभरी परेको पानीको कारण सिद्धबाबामा पहिरो झरेको हो। पहिरोको कारण बन्द भएको सडक एकतफी रुपमा खुलेको पाल्पा प्रहरीले जनाएको छ। 
प्रतिक्रिया दिनुहोस !