राई सरको सम्झनामा
नमस्ते सर ! एकै छिन कुरें, कुनै प्रतिक्रिया छैन। सोचें—सायद मेरो मसिनो स्वरले विस्तारै नमस्ते भनेकाले नसुनिएको पो हो कि ? तर फेरि अर्को मनले सोचें— म उनको निजी सहायकले भित्र जानु भनेकाले पसेको, कसरी हुन सक्छ थाहा नपाएको ?
कोठामा एकजना ठूलो टेबलको बीचमा थुप्रै फाइलले पुरिएर बसेको अवस्था छ। कसरी पत्याऊँ कि म छिरेको थाहा भएन यिनलाई ? जब कि ढोका पनि चुँइइइ गरेर कराएको थियो म पस्दा। यिनै विभिन्न तर्कवितर्कमै मन झण्डै २ मिनेटजति बहलियो अनि सोचें— अब दोहोर्याएर नमस्कार भन्नु पर्ला। र, फेरि पनि भनें— नमस्ते सर।
मेरो दोस्रो नमस्कारले सायद काम गरेछ क्यार ! चिम्सा–चिम्सा आँखाले पावरवाला चस्माको माथिल्लो भागबाट मलाई पुलुक्क चियाए र आवाज आयो— किन आएको ? को ? के भयो ? न त कुनै मुस्कान छ, न त अन्य कुनै भाव नै देखिन्छ अनुहारमा, न त बस नै भनेको छ। बस्, त्यतिसम्म भनेर फेरि मेरो कुनै कुरै नसुनी उही फाइलमै डुबेको देख्छु। छक्क परें, म किन आएको भन्ने कुरा उनैका निजी सहायकले सबै बेलिविस्तार लगाइसकेका छन् मलाई भित्र छिर्ने अनुमति माग्ने क्रममा। ममाथि किन यस्तो प्रतिक्रिया होला भनेर फेरि यो मनमा अनेकौं तर्कवितर्कले ठाउँ पाए मभित्र।
कामको मानिसलाई डिस्टर्ब गर्नु उचित होइन तापनि सोचें— म यिनै फाइलको बोझबाट उनलाई सघाउने एउटा सहयोगकर्ताका रूपमा आएको सन्दर्भमा। अब मैंले ऊभिइरहनुभन्दा केही भन्नैपर्ने हुन्छ भन्ने लागेर आयो। मेरा कुरा एकतर्फी हिसाबले राख्न थालें— सर, म मोरङको स्थानीय विकास अधिकारीबाट मन्त्रालयमा सरुवा भएर आएको। मेरो आन्तरिक पोस्टिङ स्थानीय विकास महाशाखाको उपसचिवमा भएको रहेछ। त्यसैले आफ्नो काम सम्हाल्न आजदेखि आएको। काम सुरु गर्नुअगाडि सरबाट ब्रिफिङ र दिग्दर्शनका लागि यहाँ आएको, एकै सासमा भनें।
मेरो कुरा सकिएको करिब एक मिनेटपछि बल्ल पावरवाला चस्मा खोलेर मतिर हेरेर मुसुक्क मुस्कुराउँदै हेरेर सहसचिव सन्तबहादुर राईले भने, ए, भोजराज भनेको तिमी नै हो ? ल आएको राम्रो भयो। यी कुरा भन्दै आफू बसेको कुर्सीबाट उठेर कोठाको अर्को भागमा रहेको ठूलो मिटिङ गर्ने टेबलको एक साइडमा आफू बसेर मलाई अर्को साइडमा बस्ने आग्रह गरे। चिया ल्याउन ढिला गरेकोमा निजी सहायकले झण्डै गाली खाए। यो घडीसम्म पुग्दा मेरो उनीप्रतिको श्रद्धा घट्न थालिसकेको थियो। कोठामा बस्न असाध्य असहज महसुस भइरहेको थियो। मनमनै सोचें— सायद यो मानिससँग लामो समयसम्म टिकिएला जस्तो छैन। एकदमै घमण्डी छन् क्यारे। अरूलाई मानिस नगन्ने यस्ता अहंकारीसँग कसरी टिकिएला र ? यी र यस्तै दूषित कुराले मेरो मन भरिएर भारी भइरहेको थियो। मनमनै सायद मन्त्रालयमा झगडा गरेर नै सरुवा मागेर आउनु ठूलो गल्ती भएछ आदि–इत्यादि असंख्य कुरा मनमा खेलिरहेका थिए। तर के गर्ने ? उनी परे आफ्ना हाकिम तत्कालै दुत्कार्न सक्ने आँट पनि थिएन। आज्ञाकारी भएर बसें। परम्परागत निजामती कर्मचारीको धर्म निर्वाह गरें।
मसँग कुनै कुरा गर्न मुख मात्र के खोल्न थालेका थिएँ उनीनगिचै राखिएको फोनको घण्टी बज्यो। त्यतिखेर घुमाउने सेट हुन्थ्यो, त्यसको एक्सटेन्सन त्यो ठूलो टेबलमा पनि राखिएको थियो उनी बस्ने मूल टेबलको साथसाथै। म जब त्यो संवाद सुन्न थालें, मलाई लाज लागेर आयो। बल्ल अलिअलि कुरा बुझ्न थालें उनी किन त्यसरी घोटिएका रहेछन् भनेर। त्यतिखेरको सर्वशक्तिशाली दरबारले कुनै कुराको विवरण तुरुन्तै पठाउनू भनेर तोकिदिएको समयसीमा सकिन लागेको रहेछ। त्यो कागज लिएर मन्त्री महोदयले दरबारमा जानुपर्ने रहेछ। मन्त्रीजी राईजीले तयार गरेको कागजातको प्रतीक्षामा रहेछन्। पटक–पटक मन्त्रीजीका सचिवले फोन गरेका रहेछन्।
त्यस्तो बितिसक्ने कामबाट एकैछिन भए पनि वि श्राम लिएर मसँग हँसिलो र ठट्यौली पारामा मैले सम्पादन गर्नुपर्ने काम र त्यसको तौरतरिका आदि बताउन थालें। यही बीचमा फेरि उही तागेता दोहोरिएपछि उनले हप्काए– म यहाँ एउटा जरुरी काममा छु, यो सकेपछि मन्त्रीजीलाई भेट्न आउँछु भनी फोन राख्तै मसँग पो उल्टो गुनासो गर्दै भने— हेर न यहाँ म तिमीसँग कामको कुरा गर्दै छु, काम न काज मन्त्री त्यत्तिकै बोलाउँछन्, सायद कुनै नेता आए होलान् योजना माग्न अनि काममा भएको मानिसलाई तुरुन्तै जरुरी छ भनेर बोलाएर अलमल्याउन। दरबारमा जाने कागजातको समयसीमा सायद उनलाई थाहा थियो होला। त्यसैले त्यति धेरै आत्तिएको देखिनँ उनैका अरू समकालीन सहकर्मीको तुलनामा।
राई सरलाई मन पराउनेहरू भन्थे– राई सरले तपाईं भन्यो अनि मीठो सम्बोधन गर्यो भने कुनै गडबड छ भनेर बुझ्नू। आफूले मन पराएको मानिसलाई माया गरेर तँ–तिमी आदि भन्छन्, समीपता देखाउँछन्। राई सर रिसायो भने भाग्य चम्कियो भन्ने ठान्नू र ऊ हाँस्यो भने कुनै गडबड छ भनेर लिनू।
यसैबीचमा फेरि अर्को फोन आयो, मैले सोचें— फेरि तागेता होला मन्त्रीको। उनले पनि सहायकलाई भने– ए मन्त्रीको फोन भए म व्यस्त छु भनेर भन्दिनू र लाइन भित्र नदिनू, म भोजराजसँग एकछिन कुरा गर्छु, डिस्टर्ब नगर्नू। तर यो फोन भने कुनै दुर्गम जिल्लामा कार्यरत योजनासम्बन्धी प्राविधिकको रहेछ र त्यो थाहा पाउनेबित्तिकै ल देऊ उनलाई भनेर उनीसँग कुरा गर्न लागे। यो संवाद सुन्दै जाँदा लाग्यो— यो मानिसलाई दुर्गमको त्यति सानो योजनाको पनि कति विस्तृत रूपमा जानकारी भएको होला। कस्तो माया गरेर परिवारको प्रिय सदस्यको व्यवहार पाए दुर्गममा काम गर्ने ती कर्मचारीले। उतापट्टिका समस्याको एक–एक समाधानको बाटो मात्र बताएनन्, केन्द्रबाट हुने र गर्नुपर्ने काम तुरुन्तै गरेर पठाइदिने विश्वास दिलाउँदै दुर्गममा कठिनाइपूर्वक काम गरेकोमा उनको मुक्तकण्ठले प्रशंसा पनि गरे।
हामीबीचमा कुरा भइरहेको बेला कुनै दुर्गमतिरका जिल्लास्तरका नेताको फोन आयो। कुनै योजनाका बारेमा कुरा भएजस्तो लाग्यो। दुईबीचको कुराको पनि म परें श्रोता। सायद उताबाट कर्णालीको कुनै खोलामा पुलको माग राखेजस्तो लागेको थियो। अब यी महानुभावले ती नेतालाई सोधेका प्रश्न र यिनको त्यो क्षेत्रका बारेमा भएको असीमित बुझाइ सुनेर म तीन छक्क परें। यो मानिसलाई कसरी नेपालको यो सबै भौगोलिक अवस्था कण्ठस्थ हुन सकेको होला भनेर अचम्म पनि लाग्यो।
छोटो समयभित्रका यी संवाद, उनको कामप्रतिको समर्पण, दुर्गममा रहेर काम गरेका साना कर्मचारीप्रतिको माया र यअगाडिको नकारात्मक सोचमा परिवर्तन हुँदै गरेको मैले राम्ररी महसुस गर्न थालें। उनका यी काम–कारबाही र व्यवहारले मेरो पहिलो नकारात्मक सोच जागेकोमा आफैंलाई लाज लागेर आयो। उनीप्रति आस्था र सम्मान जागेर आयो। सानो बसाइमै उनले मलाई स्थानीय विकासका चुनौती, मेरो भूमिका र उनको आकांक्षाबारेमा मलाई स्पष्ट मात्र गरेनन् कि पछिल्ला दिनसम्म ती कुराले मेरो मार्गनिर्देश गरिरहे।
उनै राई सरको सान्निध्यमा रहेर मैले मन्त्रालयको उपसचिवको हैसियतले ग्रामीण खानेपानी, सिँचाइ, स्कुल सुधार कार्यक्रम, विश्व खाद्य कार्यक्रमअन्तर्गतका घोडेटो–गोरेटो कार्यक्रम, न्यूनतम आधारभूत कार्यक्रम, दुर्गम क्षेत्र विकास समितिअन्तर्गतका कार्यक्रम र अन्तर्राष्ट्रिय स्वयंसेवक जस्ता जनताका दिनानुदिनका सरोकार भएका विविध तर महत्त्वपूर्ण कार्यक्रमको संयोजन गर्ने मौका पाएँ, जसले मलाई नेपालको ग्रामीण विकास र तिनका बहुआयामिक पक्षका बारेमा बुझ्न र काम गर्ने महत्त्वपूर्ण अवसर मिल्यो।
राई सरका बारेमा उनका पछाडि धेरै किसिमका टुक्का बनेका थिए र मानिसले कुरा गर्ने र काट्ने गर्थे। मन्त्रालयमा उनका विरोधी र समर्थक दुवैखालेको कमी थिएन। तर विरोध गर्नेले उनको कार्यक्षमता र नैतिकताका विषयमा कहिल्यै पनि कुरा काट्न सकेनन् उनका पछाडि पनि। त्यसैले कुरा काट्नेहरू भन्ने गर्थे– यसले त मानिसलाई अफिसमै मनपरी भन्छ। आफूलाई कति न ठूलो ठानेर सबैलाई हेपेर ‘तँ– तिमी’ भनेर सम्बोधन गर्छ। अरूका कुरा त्यति सुन्न पनि नचाहने र जहिले पनि ठुस्स परेर बस्न कसरी सकेको होला आदि–इत्यादि। हुन त उनलाई मन पराउनेहरू पनि भन्थे– हेर है राई सरले तपाईं भन्यो अनि मीठो सम्बोधन गर्यो भने कुनै गडबड छ भनेर बुझ्नू। उनी आफूले मन पराएको मानिसलाई माया गरेर तँ–तिमी आदि भन्छन्, समीपता देखाउँछन्। राई सर रिसायो भने भाग्य चम्कियो भन्ने ठान्नु र ऊ हाँस्यो भने कुनै गडबड छ भनेर लिनू। यस्तै कुरा हुन्थे उनका बारेमा।
हुन पनि राई सरको थोरै र चाहिने कुरा मात्र गर्ने बानी थियो। अरू वरिष्ठ पदाधिकारीको जस्तो आफ्ना प्रशंसकलाई वरिपरि जम्मा गरेर आकाश–पातालका गफ हाँक्ने समय कहिल्यै जुरेको मैले देखिनँ। उनीकहाँ अफिसियल विषयमा कुरा नभएका बखत पनि त्यो कोठामा हुने भनिएका फाल्तु कुरा भनेको पनि नेपालको दुर्गम क्षेत्रका चुनौती, बाटाघाटा, सिँचाइ कुला, गाउँका खानेपानी र चर्पी, सिँचाइका कुला र ट्युबेल, स्कुलका छाना, गुम्बाहरूको संरक्षणका चुनौती, झोलुंगे पुल, विश्व खाद्य कार्यक्रमले दिने खाद्यान्नको प्याकेज चामल, गहुँ, चिनी, तेल आदिको गुणस्तरजस्ता विषयमै केन्द्रित हुने गरेका थिए।
हुन पनि लामो समयसम्म जिल्लाको विकास अधिकारी वा प्रमुख जिल्ला अधिकारी होस् वा स्थानीय विकास विभागको निर्देशक वा मन्त्रालयमा स्थानीय विकासको जिम्मेवारी बोकेको महाशाखाको लामो समयदेखि प्रमुख रहेको नाताले उनको सारा जीवन यी क्षेत्रका विकास, तिनका चुनौती र तिनको विस्तारका वरिपरि नै सीमित थियो भन्दा पनि हुन्छ। मैले वर्षौंसम्म राई सरको सामीप्यमा रहेर काम गर्दा उनले यी विषयबाहेक अरू कुरा खाली समयमा पनि गरेको थाहा छैन। मेरो वर्षौंको संगतमा उनले आफू र आफ्ना परिवारका बारेमा एउटै मात्र शब्द खर्चेको मेरो सम्झनामा छैन। लाग्थ्यो स्थानीय विकाससम्बन्धी कुरा राई सरको जीवन पद्धति जस्तै बनेका छन् सपना, जपना, परिवार, इष्टमित्र सबै यिनै हुन् जस्तो हुने गरी। यस हिसाबले हेर्दा मलाई भन्न हिच्किचावट छैन कि राई सरको सपना, विपना, भक्ति वा समर्पण सबै आम जनताका दैनिकीका यिनै विषयवस्तुमा सीमित भएको थियो।
काम गर्दै जाँदा मैले थाहा पाएँ– उनलाई कुन खोला कहाँबाट कता बग्छ, त्यो खोलामा कहाँ–कहाँ पुलको आवश्यकता छ, कुन गाउँमा खानेपानीको समस्या कस्तो छ र त्यसको मुहान कति टाढा छ, कुन–कुन गाउँलाई जोड्ने घोडेटो बाटोले प्राथमिकता पाउनुपर्छ आदि सबै कुरा कण्ठस्थ छ। यी कार्यक्रमका विषयमा उनलाई प्राविधिक पक्ष पनि त्यत्तिकै थाहा हुने। खानेपानीको पाइप वा जोड्ने वस्तु वा अरू सामान। झोलुंगे पुलको त स्वयं प्राविधिकजस्तै थिए। त्यसैले कसैले दाया–बाया गरेर उनलाई झुक्याउने सम्भावना कमै थिए।
स्थानीय विकासका क्षेत्रमा काम गर्ने दातृ निकायका मानिस पनि धेरै विचार गरेर मात्र आफ्ना कुरा राख्थे राई सरसँग। किनकि, उनको क्षमता र अनुभव तथा जानकारीको कारणबाट सैद्धान्तिक भाषण गर्ने कमै आउँथे र धेरै त हाम्रै लेभलमा काम सकिदिए हुने थियो भनेर आग्रह पनि गरिरहेका हुन्थे। उनीसँग केही वर्ष एकदमै निकट भएर काम गर्ने मौका मिल्यो मलाई स्थानीय विकासका क्षेत्रमा। यस बीचमा उनीबाट मैले धेरै सिक्ने मौका पाएँ र ती भोगाइ र सिकाइले मेरा पछिल्ला दिनका कार्य सम्पादनमा धेरै सहयोगी भूमिका निर्वाह गरे।
यहाँ मैले राई सरलाई भगवान्जस्तो रूपमा प्रस्तुत गर्न खोजेको पटक्कै होइन किनकि एउटा मानिसमा हुने गुण र दोष सबै उनमा पनि थिए। उनलाई नबुझ्ने मानिसले मलाई पहिलो दिनमा परे झैं घमण्डी, अरूलाई मानिस नगन्ने, आफू मात्रै जान्ने हुने, आफू मात्रै काम गर्ने अरू बेकार भनेर देखाउने प्रवृत्ति छ भनेर कुरा काट्ने गर्थे। यी कुरामा केही सत्यता होला, तर उनको कार्यशैलीको कारणले धेरै मानिसले तिनैलाई नकारात्मक गुण भनेर कुरा काट्ने गरेको मेरो बुझाइ हो।
सचिवमा बढुवा भई आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्न जाने बखत उनको अनुहार भाव तथा अभिव्यक्तिले स्पष्ट देखाउँथ्यो कि उनको बढुवा भएकोमा खुसीभन्दा जीवनको रक्तसञ्चार जस्तै बनेको स्थानीय विकाससम्बन्धी कामबाट अलग हुनुपरेकोमा बेसी दुःखी छन्। नभन्दै सचिव वा लोकसेवा आयोगको अध्यक्षको जिम्मेवारीमा रहँदा वा सार्वजनिक जिम्मेवारीबाट निवृत्त भइसकेपछिको पूर्ण अवकाशको समयका भेटघाटमा समेत हाम्रा कुराकानी तिनै पुल–पुलेसा, घोडेटो–गोरेटो बाटो, सिँचाइ कुला, ग्रामीण खानेपानी, स्कुल छाना, गुम्बाजस्ता समुदायका सरोकारकै कुराबाटै सुरु र अन्त्य हुन्थे। त्यो क्षेत्रप्रति उनको अपार माया र सरोकार कतिसम्म थियो भन्ने तथ्य यी कुराले उजागर गर्छन्।
उनको जीवनको पछिल्ला घडीमा पनि कहिलेकाहीं उनीसँग मेरो भेट हुन्थ्यो। तर दुर्भाग्य भनौं त्यस्तो जिउँदो बाघको बच्चाजस्तो कडा राई सरलाई केही समययता भेट हुँदाका प्रत्येक भेटमा तिमी को ? नाम के ? कहाँबाट आएको ? भनेर पहिलो दिन भेट भए झैंको अवस्थामा फेरि पाउँदा पीडाको सीमा हुन्नथ्यो। तर, पछिल्ला यी नचिनाइ स्थानीय विकासका फाइलले छोपेर होइन, उनमा देखिएको अल्जाइमरको असर थियो भन्नुपर्दा दुःख लाग्छ। तर, यस्तो अवस्थामा पनि आफूलाई चिनाउन जब हामी स्थानीय विकासको नाता जोड्थ्यौं, अनि उनको अनुहारमा कहिले झलक्क मुस्कान देखिने र कतिपय अवस्थामा आँखाभरि आँसु टिलपिल भएको देख्ता सायद यो अवस्थामा पनि उनको अन्तरात्मामा तिनै सामुदायिक विकासका एजेण्डाले उत्साहित वा पिरोलेको होलान् भन्ने भान हुन्थ्यो।
अल्जाइमरको परिणति थाहा पाउँदापाउँदै पनि सास छउञ्जेल आश भन्ने हाम्रो मान्यतालाई पछ्याउँदै मेरो पनि आशा र प्रार्थना थियो– फेरि पनि उनको चेतना र सम्झना फर्कियोस् र वर्षौं पहिलेको मेरो उनीसँगको पहिलो भेटमा थाहा भएर पनि आफ्नो बानीअनुसार मलाई ‘को, कहाँबाट, किन आएको’ भन्दिऊन्। तर, आज पीडाका साथ उनैको सम्झनामा ‘अल बिदा राई सर’ भन्न बाध्य छु।
मलाई विश्वास छ, भौतिक देह नरहे पनि तपाईंले नेपालको स्थानीय विकासमा लगाएको गुणले तपाईंलाई यो मुलुकले सधैं सम्झनामा राख्ने छ, अमर बनाउने छ।
उनको आत्माको चीर शान्तिको कामनसहित परिवारजनमा हार्दिक समवेदना !
(‘सन्तबहादुर राईको इतिवृत्त’ नामक पुस्तकमा केही वर्षअघि प्रकाशित पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको संस्करणात्मक लेखको सम्पादित अंश। )